coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नारेश्वर-ताकुकोट सडक कालोपत्रे भएन

नारेश्वर-ताकुकोट सडक खण्ड। तस्वीर: नागरिक

गोरखाको नारेश्वरदेखि ताकुकोटसम्मको १० किलोमिटर सडक निर्माण व्यवसायीले काम नगर्दा कालोपत्रे हुन सकेको छैन। काम सकिन ६ महिना बाँकी रहँदा उक्त सडकको भौतिक प्रगति अहिले १२ प्रतिशत मात्रै रहेको पूर्वाधार विकास कार्यालयका सडक इन्जिनियर दिपक बस्न्यातले बताए।

२३ करोड ७५ लाखमा २०७८ असार २९ गते पूर्वाधार कार्यालयसँग ठेक्का सम्झौता गरेको अमर/ज्ञानेश जेभिले कालोपत्रेको काम सुरु नै गरेको छैन। अबको छ महिनामा अर्थात् २०८० असार २५ गते निर्माण गर्ने जिम्मा लिएको कम्पनीले काम सम्पन्न गर्ने सम्झौता गरेको इन्जिनियर बस्न्यातले बताए। यो अवधिमा काम सम्पन्न हुने छनक देखिँदैन। अहिलेकै गतिमा काम हुने हो भने अबको छ महिनामा चार प्रतिशत मात्रै काम हुन्छ।

‘निर्माण व्यवसायीलाई काम छिटो गर्न ताकेता गरिरहेका छौं’ पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुङ्गानाले भने ‘न्यून कार्य प्रगतिको बारेमा हामीले तीन पटक पत्राचार गरिसक्यौं तर व्यवसायीले काम गरेनन्।’ कार्यालयले २०७९ जेठ २३, असोज ३० र गत पुस १२ गते निर्माण कम्पनीलाई काम छिटो गर्न भन्दै पत्राचार गरेको छ। व्यवसायीले भने उक्त पत्रलाई बेवास्ता गरेर काम गरिरहेका छैनन्।

उक्त खण्डमा सात महिनादेखि राम्रोसँग काम हुन नसकेको, जनशक्ति र उपकरण नदेखिएको हुँदा काम समयमै सकिने आशंका गर्दै तत्कालअघि बढाउन कार्यालयले भनेको छ। ‘लामो समयसम्म निर्माण कार्य बन्द हुनु नै कार्य सञ्चालनका लागि प्रदान गरिएको अग्रिम भुक्तानीको दुरूपयोग हुनु हो’ कार्यालयले पत्रमा भनेको छ। साथै कार्यालयले उपलब्ध गराएको अग्रीम भुक्तानी रकम फिर्ता गर्न बैंकलाई पत्राचार गर्ने व्यहोरा पनि निर्माण व्यवशायीलाई जानकारी गराइएको कार्यालय प्रमुख ढुङ्गानाले बताए। नारेश्वर-पणिनी चौतारा-निबेल-ताकुकोट खण्डमा काम रोकिएको हो।

उक्त खण्डको चार सय मिटर सडक भने मध्यपहाडी राजमार्गमा पर्ने भएकाले त्यस क्षेत्रमा यी व्यवसायीले काम नगर्ने कार्यालयले जनाएको छ। सडक समयमै कालोपत्रे नहुँदा स्थानीयले आउजामा सास्ती खेप्न बाध्य छन्।

समयमै सडक कालोपत्रे नभएको चौतर्फी गुनासो आएपछि निर्माण व्यवसायी, बारपाक सुलिकोट गाउँपालिका र पूर्वाधार कार्यालय बीच त्रिपक्षीय बैठक भएको थियो। २०७९ मंसिर १६ गते गाउँपालिका कार्यालयमा भएको बैठकमा ५५ जना जनशक्तिबाट काम गराउने, उपकरण थप्ने, पुस महिना भित्र ४ किलोमिटर काम सक्ने, माघ महिनासम्म थप चार किलोमिटर सक्ने सहमति भएको थियो।

गाउँपालिका अध्यक्ष बिष्णु भट्टसहितको उपस्थितिमा भएको बैठकमा निर्माण व्यवसायीले निर्माणका क्रममा सडक अवरुद्ध हुने, आउजाउमा असहज हुने समस्या समाधान गर्ने निर्णय भएको छ। ‘निर्णय भए पनि त्यसअनुसार व्यवसायीले काम गरेनन्’ पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले भने।

निर्माण कम्पनीका इन्जिनियर सुशील आचार्यले सम्झौता अवधिभित्र काम पूरा नहुने बताए। ‘यसअघि काम हुन सकेन, अहिले काम भइरहेको छ हामीले गति बढाएर काम गर्दैछौं’ उनले भने। गत वर्ष निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र लामो समयसम्म वर्षा भएकाले काम गर्न समस्या भएको उनले बताए। ‘अब निर्माण सामग्री ल्याउन थालिसकिएकाले कामले पनि गति लिन्छ’ इन्जिनियर आचार्यले भने। उक्त खण्डमा प्रिमिक्स कार्पेट कालोपत्रे हुनेछ।

निर्माण कम्पनीले समयमै काम नगर्दा सडक नबनेको र निर्माण व्यवसायीलाई दबाव दिन नसकेको भन्दै स्थानीयले जनप्रतिनिधिसामु गुनासो गरेका छन्।  

प्रकाशित: २२ पुस २०७९ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App