१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः व्यवसायिक योजना बनाउँदै हवाई कम्पनी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विहीबार दिउँसो अवतरण गरेका बुद्ध र यति एयरका जहाज। फाइल तस्बिरः उमेश पुन/नागरिक

अंग्रेजी नयाँवर्ष २०२३ को पहिलो दिन जनवरी १ पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा संचालनमा आउँदैछ । त्यसैको तयारी स्वरुप निजी क्षेत्रका वायुसेवा कम्पनि बुद्ध र यती एयरलाइन्सले विहीबार एटिआर–७२ जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक हवाईजहाज अवतरण गराए । त्यत्ति मात्र नभई विमानस्थलबाटै उडान पनि भरे ।  

डेमो फ्लाइटको क्रममा यती र बुद्धका जहाज उडान र अवतरण र उडान गरेका थिए । यसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण र डाउने झन्डै चारदशक लामो सपना पुरा भएको भन्दै पोखरेलीले खुसी व्यक्त गरेका छन् । डेमो फ्लाइट पछि व्यवसायीक उडानको तयारी थाल्ने हवाई कम्पनिले बताएका छन् ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रम गौतमले पोखराले देखेको अन्तर्राष्ट्रिय विमानस्थलको सपना पुरा भएको बताए । पोखराको लागि गतिलो पूर्वाधार तयार भएको उनले बताए । उडान र अवतरण सफल हुनु पोखरेलीका लागि खुसीको कुरा भएको उनको भनाई छ । डेमो उडान सफल भएको र अब व्यवसायिक उडानको तयारीमा लागेको गौतमले जानकारी दिए । त्यसका लागि विभिन्न अन्तर्राष्ट्रिय हवाई कम्पनिले पोखरामा उडान भर्नका लागि चाँसो दिएको गौतमको भनाई छ । अन्तर्राष्ट्रिय हवाई कम्पनिले पोखरामा उडान भर्नका लागि चाँसो दिएपनि ती हवाई कम्पनिले कहिलेदेखि पोखरामा उडान भर्छन भन्ने चाँहि अहिलेसम्म यकिन भएको छैन ।  

गौतमले जनवरी १ देखि नियमित रुपमा अन्तर्राष्ट्रिय विमानस्थलबाटै सहरी क्षेत्रका विमानस्थलसम्म उडान हुने जानकारी दिए । त्यसबाहेक पोखरालाई भारतको वनारससम्म जोड्नेगरि अन्तर्राष्ट्रिय उडानको तयारी भएको पनि जानकारि दिए । ‘आवश्यक प्रक्रिया सबै पुरा भईसकेको छ । जनवरी १ देखि नियमित सेवा दिने छौं,’ उनले भने, ‘साना जहाजको बाहेक ठुला आकारका जहाजको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान हुनेछ ।’ गौतमले जनवरी १ मा एयरबस ३२० जहाज पनि पोखरा आउने जानकारी दिए ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले आगामी मार्च १ देखि भारतको वनारससम्म पोखरादेखि व्यवसायिक उडानका लागि प्रयास भईरहेको जानकारी दिए । त्यसअघि नै नयाँवर्षको पहिलो दिन जनवरी १ मा पोखरा–वनारस डेमो उडान गर्ने तयारी भएको जोशीले बताए । ‘हामीले जनवरी १ मै भारतको वनारससम्म पोखरालाई जोड्ने गरि डेमो फ्लाइट गर्ने लक्ष्य राखेका छौ । तर, व्यवसायिक उडानका लागि भने मार्च १ कुरेका छौ । किनकी बजारीकरण पनि गर्नुपर्छ,’ उनले भने, ‘वनारससम्मको डेमो उडानका लागि प्रक्रिया अघि बढाएका छौ । स्वीकृतिको पर्खाइमा छौ ।’ त्यसबाहेक पोखराको यो विमानस्थलबाट बिहान ७ देखि राती ९ बजेसम्म उडान गरिरहने उनले बताए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पाँचवटा जहाजको रात्रीबिसान हुने बुद्धका निर्देशक जोशीले बताए । रात्रीबिसान गरेका जहाज हरेक दिन बिहान विभिन्न गन्तव्यसम्म पहिलो उडान भर्ने उनले बताए । बुद्धले हाल पोखराबाट विभिन्न रुटमा १५ वटा उडान दिनहुँ गरेकोमा अब त्यो संख्या बढ्ने जानकारी उनले दिए । 

अहिले बुद्धले सबैभन्दा बढी दिनमा १२ वटा उडान पोखरा–काठमाडौं रुटमा गर्दै आएको छ । त्यसबाहेक बुद्धले पोखराबाट भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढीसम्म नियमित उडान भरिरहेको छ । ‘नयाँ विमानस्थलबाट उडान भर्दा अहिलेभन्दा अझ सहज हुनेछ । यात्रु संख्या पनि अवश्यक बढ्नेछन,’ जोशीले भने, ‘पोखरामा रात्री बिसान गरेका जहाजलाई पोखराबाटै विभिन्न रुटमा पहिलो उडान गराउने लक्ष्य पनि छ ।’

अर्को वायुसेवा कम्पनि यती एअरलायन्सले पनि विहीबारै प्रदर्शन उडान ग¥यो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती एअरलायन्सले व्यवसायिक उडानको तयारी गरेको प्रवक्ता सुदर्शन बर्ताैलाले बताए । त्यसका लागि एअरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयारी गर्ने देखि तालिम दिने, आवश्यक साधनको जोहो समेत गरिसकेको उनले बताए ।  

यतीले अहिले पोखरा–काठमाडौं रुटमा दिनमा ७ वटा उडान गरिरहेको र अगामि दिनमा उडानलाई अन्य सहरसम्म पनि बिस्तार गर्ने योजना बनाएको बताए। ‘हामीले पनि पोखरालाई विभिन्न सहरसम्म हवाई रुट बिस्तारको योजना बनाएका छौ । अबको केही समयमा नयाँ गन्तव्यसम्म उडान सुरु गर्ने छौ,’ बर्ताैलाले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भएलगत्तै नयाँ योजनामा प्रवेश हुनेछ ।’  

पर्यटन व्यवसायी यो उडानले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने बताउँछन् । पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरेलीको अन्तर्राष्ट्रिय विमानस्थलको सपना पुरा भएको बताए । उनले पोखराको यो विमानस्थलले पोखरालाई पर्यटन क्षेत्रमा ठुलो सहजता थप्ने बताए । ‘अहिलेको अवस्थामा चाहेर पनि पाहुना आउन पाएका छैनन । अब विमानस्थलका कारण पोखराले पर्यटन क्षेत्रमा ठुलो फड्को मार्नेछ,’ उनले भने ।  

प्रकाशित: ८ पुस २०७९ ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App