२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

लेखनाथ महोत्सवमा बेगनास ताल र वरपरका कोटको प्रतिविम्व रहने

महोत्सवको अन्तिम तयारीबारे जानकारी गराउँदै आयोजक लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी। तस्बिरः सन्देश/नागरिक

पोखराको लेखनाथमा बिहीबार देखी लेखनाथ महोत्सव हुने भएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा यही पुस ७ गतेदेखि १८ गतेसम्म लेखनाथको तालचोक डाँडाकोनाकमा लेखनाथ महोत्सवको अठारौँ संस्करण हुने भएको हो।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल उद्घोषका साथ हुने महोत्सव औद्योगिक उत्पादन तथा हस्तकलाका वस्तुहरूको बजार प्रवर्द्धन, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको संघले जनाएको छ।

त्यस्तै आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित औद्योगिक एवम् दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको प्रवर्द्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजहरुको जगेर्ना गर्दै आन्तरिक एवम् बाह्य पर्यटन प्रवर्द्धन गर्ने महोत्सवको प्रमुख उद्देश्य रहेको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक छत्रधर आत्रेयले बताए।

साथै महोत्सवले कोभिड १९, रुस–युक्रेन युद्धलगायतका कारणले वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव, चर्को व्याज वृद्धिले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने उनको भनाई छ। त्यस्तै महोत्सवले समग्र गण्डकी प्रदेशकै आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा सहयोग पुग्ने उनले बताए। महोत्सवमा अटो, शैक्षिक प्रदर्शनी, कृषि, किचन, मेसिनरी, ह्याण्डिक्राफ्ट, गार्मेन्ट, जनरल, फुड एण्ड वेभराज, डेरी, सूचना तथा प्रविधि, रेस्टुरेन्ट, बैङ्क तथा वित्तीय संस्थाका स्टलहरू रहने जनाइएको छ।

महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकलाका सामानहरूको प्रदर्शनी तथा बिक्री, दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको प्रदर्शनी तथा बिक्री, विद्युतीय उपकरणहरूको प्रदर्शनी तथा बिक्री हुने जनाइएको छ। त्यस्तै फर्निचरका सामानहरू, भान्छामा प्रयोग हुने मालसामानहरू, शिक्षा, स्वास्थ्य, खेलकुदका सामग्रीहरुपनि महोत्सवमा राखिने महोत्सव प्रचारप्रसार उपसमिति संयोजक राजेन्द्र ओझाले जानकारी दिए।

महोत्सवमा सूचना प्रविधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधिहरू पनि प्रदर्शनी गरिनेछ। त्यस्तै फुड फेष्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक सङ्घसंस्थाको सेवा तथा जानकारीपनि राखिने ओझाले बताए।

महोत्सवको आकर्षणको रुपमा यसपटक बेगनास ताल तथा त्यस वरपरका कोट, मठ मन्दिर तथा हरियाली जङ्गलहरूलाई साङ्केतिक रुपमा प्रतिविम्बत हुने गरी प्रदर्शन गरिने भएको छ। त्यसका अलावामा यसअघिका महोत्सवमा झैँ यस पटक पनि स्थानीय माछा, मह र कफी आकर्षणका रुपमा रहनेछन्। लेखनाथ क्षेत्रका ताल तथा पोखरीमा उत्पादन भएका माछाहरु बिक्रीका लागि राखिने जनाइएको छ।

बेगनासताल, रुपातालसहित त्यस आसपासका पोखरीमा उत्पादित माछा बेच्नका लागि राखिने प्रचार संयोजक ओझाले जानकारी दिए। त्यस्तै लेखनाथ तथा आसपासका क्षेत्रमा उत्पादन भएका कफीका साथै महसमेत बिक्रीका लागि राखिने उनले बताए। महोत्सवमा बाल उद्यानसमेत आकर्षणका रुपमा रहने आयोजकको दाबी छ। साना साना बालबालिकादेखि युवायुवती र वृद्ध वृद्धासम्म भुल्ने र झुल्ने गरी बाल उद्यान तयार गरिएको ओझाले बताए।

महोत्सवको अवसरमा दिउँसो लोकदोहोरी कार्यक्रम र साँझमा पप कन्सर्ट हुने भएको छ । दिउँसो लोक दोहोरी कार्यक्रम हुनेछन् भने साँझमा चर्चित ब्यान्डहरूले स्टेज तताउने आयोजकले जनाएको छ। महोत्सवको अवसरमा रत्यौली प्रतियोगिता विशेष आकर्षणका रुपमा रहने जनाइएको छ।

महोत्सवमा प्रवेशका लागि दिउँसो ८० रुपैयाँ टिकट दर कायम गरिएको आयोजकले जनाएको छ । विद्यार्थीलाई भने छुटमा ५० रुपैयाँ निर्धारण गरिएको अध्यक्ष आत्रेयले बताए। त्यस्तै साँझको कन्सर्टका लागि १५० रुपैयाँ निर्धारण गरिएको उनले जानकारी दिए। बृद्धबृद्धा, अपाङ्गता भएका र एकल महिलालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले बताए।

महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ। महोत्सवमा करिब १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष ओझाले बताए । महोत्सवबाट ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भई १० लाख बचत हुने अनुमान गरिएको उनले बताए। बचत रकम प्रदर्शनी स्थलको स्तरोन्नति, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा खर्च गरिने उनले जानकारी दिए।

प्रकाशित: ५ पुस २०७९ ०९:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App