२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

डाक्टरी पढ्न छाडेर बाख्रापालनमा

पाल्पा- रसियामा एमबिबिएस पाँचौं वर्षको अन्तिम सेमेस्टरमा अध्ययन गरिरहेका मदनपोखरा–९ का हरिबहादुर थापाले कृषिमा क्रान्ति आवश्यक रहेको भन्दै स्वदेश फर्केर बाख्रापालन सुरु गरेका छन्। 'एग्रो टुरिजममा नेपालमा प्रशस्त सम्भावना रहेको थाहा पाएँ,' थापा भन्छन्, 'रसियामा अध्ययन गर्ने क्रममा कृषिमा गरेको मेहनत देखेर प्रभावित भएको हुँ।' एक दिन सफल नेपाल भएको देख्न चाहेको बताउँदै उनले भने, 'अब जे गर्नु छ व्यावसायिक भएर मात्र सम्भव छ। हरेक काम गर्न गाह्रो र चुनौतीपूर्ण भए पनि निरन्तरको परिश्रमले सफलता पाइनेमा उनी ढुक्क छन्। उनी भन्छन्, 'म अहिले लाइभस्टक व्यवसायमा लागेको छु, चुनौती छन् तर म निरन्तर रुपमा गर्दै गएर एक दिन सफल नेपाल देख्न चाहन्छु।'

थापासँग अहिले सय हाराहारी स्थानीय जातका बाख्रा र ४ सय स्थानीय कुखुरा छन्। भर्खरै माछापालन समेत सुरु गरेका थापा अर्गानिक रुपमा उत्पादित कृषिजन्य वस्तुका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने बताउँछन्। अहिले स्थानीय जातका कुखुरा र बाख्रा खोज्न आउनेको संख्या उल्लेख्य रहेको उनको भनाइ छ।

करिब ८ वर्ष पहिले घरबाट डाक्टर बन्न निस्केका हरिबहादुर अहिले पशुपक्षीको डाक्टर जस्तै भएका छन्। पढाइका क्रममा सिकेको ज्ञान पशुमा प्रयोगसमेत गरेका थापा भन्छन्, 'मान्छेलाई जस्तै उपचार यिनलाई पनि गर्नुपर्छ। डाक्टर पढ्दा निकालेको ज्ञान पशुमा प्रयोग गरेको छु।'

आफूसँगै पढेका साथीहरु डाक्टर बनेर काठमाडौंमा जागिर खाइरहेको उनले सम्भि्कए। 'मेरा साथीहरु धेरै डाक्टर भइसके। केहीले काठमाडौंमा जागिर गरिरहेका छन्,' उनले भने, 'धेरै साथी मेरो फार्ममा आए पनि। तर, मलाई कुनै साथीकोमा पुग्ने फुर्सद छैन।' बाख्रा र कुखुरासँग यताउता गर्दैमा समय बितेको थाहा नहुने उनले बताए। मदनपोखरालाई बाख्राको पकेट क्षेत्र बनाउने उद्देश्यले २०७० सालबाट बाख्रापालन सुरु गरेका थापाले साथीसँग मिलेर अहिले ७५ रोपनी जग्गा एग्रोटुरिजमका लागि भनेर २० वर्षका लागि भाडामा लिएको बताउँछन्। उनी भन्छन्, 'परिवारको साथमा कृषिमा गरेको ५ लाख रुपैयाँ लगानीबाट अहिले धेरै प्रतिफल हासिल भएको छ,' उनी भन्छन्, 'निर्वाहमुखी हुनुभन्दा व्यावसायिक बनेर देखाउन लागिपरेको छु।'

कुकुर अघिअघि आफू पछिपछि

हरिबहादुरसँग बाख्रा चराउने अनौठो उपाय छ। सय हाराहारी बाख्रा उनी एकसाथ फुकाउँछन्। तर बाख्रा हेर्ने काम भने कुकुरले गर्छ। बाख्रा फुकाएपछि कुकुर अघिअघि लाग्छ जसले बाख्रा धेरै भाग्न पाउँदैनन्। बाख्राको पछाडि हरिबहादुर आफू लाग्छन्। नजिकैको जंगलमा लगेर बाख्रा चराउँदा सबैलाई एकैपटक रेखदेख गर्न गाह्रो पर्छ। अधिकांश बाख्रालाई निश्चित क्षेत्रभन्दा बाहिर जान नदिन र बाख्रा चरिरहेको स्थानमा बाघ, स्याल आएमा खबरसमेत कुकुरले गर्छ।

प्रकाशित: ९ असार २०७३ ०५:५३ बिहीबार

डाक्टरी पढ्न छाडेर बाख्रापालनमा