हिउँद याम सुरु भएसँगै वायु प्रदूषण बढिरहेको छ तर त्यसको मापन गर्न देशभर जडित २७ स्टेसनमध्ये २० वटा प्रयोगविहीन बनेका छन्। मर्मतसम्भार र स्पेयर पार्टस् अभावमा ती स्टेसन महिनौंदेखि प्रयोगविहीन भएका हुन्। नेपालमा सन् २००२ देखि वायु प्रदूषण मापनका प्रयासहरू सुरु भए पनि सन् २०१७ देखि उपत्यका र धुलिखेलमा ७ र देशका विभिन्न स्थानमा जडान गरिएका २० समेत गरी कुल २७ मापन स्टेसनले वायुको गुणस्तर मापन गर्दै आएका थिए। सरकारी स्तरमा बाहेक अमेरिकी दूतावासले आफ्नो कार्यालभित्र र फोहोरा दरबारमा दुईवटा वायु प्रदूषण मापन स्टेसन सञ्चालन गरिरहेको छ।
यी स्टेसनहरूले उपलब्ध गराउने वास्तविक समयका तथ्यांक (रियल टाइम डाटा) ले सम्बद्ध स्थानको वायु प्रदूषणको स्तर यकिन गर्न, त्यसलाई रोक्न आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गर्न तथा नियामक निकायलाई आवश्यक पहलकदमी लिन सहयोग गर्छन्।
वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने भएकाले यी स्टेसनले उपलब्ध गराउने वैज्ञानिक तथ्यांकले जनस्वास्थ्यमा पर्न सक्ने प्रभावको आकलन गर्न सहयोग पुर्याउँछ। वायु प्रदूषणको हिसाबले विश्वकै प्रदूषित सहरको अग्रणी सूचीमा राजधानी काठमाडौं पर्छ।
बिहीबार साँझ वातावरण विभागद्वारा सञ्चालिन वायु प्रदूषण निगरानी पोर्टलमा काठमाडौं उपत्यकाभित्र रत्नपार्क, खुमलटार र शंखपार्कमा राखिएका स्टेसनले दिएको तथ्यांक उपलब्ध छ भने उपत्यकाबाहिर धनकुटा, भीमदत्त नगरपालिका, गण्डकी बोर्डिङ स्कुल पोखरा र रारामा राखिएका स्टेसनहरू मात्र सुचारु रहेको देखिएको छ। रत्नपार्क र खुमलटारमा रहेका स्टेसनले बिहीबार साँझ पछिल्लो २४ घन्टाको सरदर वायु गुणस्तर सूचकांक (अक्वा) क्रमशः १२४ र ११३ देखाएका छन्।
अन्तर्राष्ट्रिय रूपमा वायु प्रदूषणको मात्रा नाप्ने इन्डेक्स (अक्वा) अनुसार वायु प्रदूषण १०१ देखि १५० अंकसम्म रहेको अवस्थालाई संवेदनशील समूहका लागि अस्वस्थकर मान्ने गरिएको छ। यसलाई सुन्तला रङ दिइएको छ। जनस्वास्थ्यमा पर्ने खतराका हिसाबले विभाजन गरिएका प्रदूषणका ६ तहमध्ये यो तेस्रो तह हो।
एक्वा मापन गर्दा पिएम २.५, पिएम १०, सतही ओजनको अवस्था, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइडजस्ता प्रदूषणका कारक तत्वहरूको मापन गरिन्छ।
वायु प्रदूषण तथा ऊर्जा क्षेत्रमा अध्ययन गर्दै आएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक अमृतमान नकर्मी महँगो खर्चमा बनाइएको यस्ता महत्वपूर्ण संरचना प्रयोगविहीन हुनुलाई सरकारको चरम लापरबाही भएको बताउँछन्।
वायु प्रदूषणसम्बन्धी अध्ययन गर्दै आएका त्रिवि भौतिक शास्त्रका प्राध्यापक रामप्रसाद रेग्मी नेपालमा वायु प्रदूषण नियन्त्रणका लागि कानुन तथा मापदण्डहरू बग्रेल्ती रहेको तर तिनको कार्यान्वयनको अवस्था अत्यन्त कमजोर रहेको बताउँछन्।
प्रदूषण मापन यन्त्रहरू प्रयोगविहीन हुनु उदेकलाग्दो विषय भएको उनको भनाइ छ। ‘यो त मन्दिर बनाउने, मूर्ति पनि राख्ने तर प्राण प्रतिष्ठा नगर्नेजस्तो भयो,’ रेग्मीले भने।
यी स्टेसन बनाएपछि तीन वर्षसम्म जडान गर्ने निकायले मर्मतसम्भार गरेकोमा सो अवधि सकिएपछि स्पेयर पार्टसको अभाव रहेको र सेवा प्रदायक निकायसँग वार्षिक मर्मत सम्झौता हुन नसकेकाले काम हुन नसकेको वातावरण विभागले बताएको छ। वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले छिट्टै नै स्टेसनहरू सुचारु हुने दाबी गरे। ‘यो आर्थिक वर्षको अन्त्यसम्ममा यी सबै स्टेसनलाई सुचारु गरिनेछ,’ उनले भने। यसैगरी मुस्ताङ र अछाममा समेत थप स्टेसन जडान गर्ने तयारी रहेको उनको भनाइ थियो। हाल सीमित संख्यामा रहेका वातावरण निरीक्षकहरूको संख्या बढाउनेतर्फ गृहकार्य भइरहेको उनले जानकारी दिए। प्रदूषक सवारीसाधनलाई १ लाखसम्म जरिवाना गर्ने सरकारी चेतावनी
राजधानीको वायु प्रदूषणका लागि एक तिहाइभन्दा बढी हिस्सा सवारीसाधनले गर्ने उत्सर्जनको रहेको छ। सवारीसाधनले उत्सर्जनका मापदण्ड पालना गरेनगरेको भनेर गरिने अनुगमन अत्यन्त फितलो रहँदै आएको छ। वन तथा वातावरणअन्तर्गतको वातावरण विभागले पछिल्लो समयमा गरिएका छड्के जाँचमा उपत्यकामा सञ्चालन भइरहेका सवारीसाधनहरूको धुवाँ निष्कासनका अवस्था अत्यन्त दयनीय रहेको स्वीकार गरेको छ।
यही सन्दर्भमा विभागले सवारीसाधनको जाँच तथा अनुगमनलाई सघनताका साथ प्रभावकारी रूपमा अगाडि बढाइने तयारी गरेको छ। विभागले बिहीबार एक सार्वजनिक सूचना प्रकाशन गर्दैे पुस १ पछि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारीसाधनलाई वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रूपैयाँसम्म जरिवाना हुने चेतावनी दिएको छ। ‘विगतमा प्रदूषण जाँच नगर्ने सवारीसाधनलाई १ हजार जरिवाना लिएर छाडिने गरेको थियो। अबदेखि प्रदूषण जाँचपास नगरुन्जेल सवारीसाधनलाई चल्न दिइनेछैन,’ विभागका महानिर्देशक नवराज घिमिरेले भने। उनले अवज्ञा गरेर सवारीसाधन चलाएको पाइए ५ हजार देखि १ लाख रूपैयाँसम्म जरिवाना गरिने बताए। ‘विभागले यातायात विभाग र ट्राफिक कार्यालयसँग मिलेर यो कारबाहीले अगाडि बढाउनेछ। यो अभियान विगतको भन्दा कडा हुनेछ,’ महानिर्देशक घिमिरेले भने।
विभागले यातायात व्यवसायी र सर्वसाधारणलाई आफ्ना सवारीसाधन मर्मत गरी दुरुस्त राख्न पनि अनुरोध गरेको छ। ‘जुनसुकै बेला सवारीसाधनमा छड्के जाँच हुन सक्ने र प्रदूषण जाँचपासका रूपमा यसअघि जारी भएको हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा प्रदूषण जाँचपास अनुत्तीर्ण हुने सवारीलाई समेत कारबाही हुनेछ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ। राजधानीमा दुईपांग्रेसहित १५ लाख सवारीसाधन सञ्चालनमा छन्।
राजधानी काठमाडौंको वायु प्रदूषणका लागि सवारीसाधनले गर्ने उत्सर्जनबाहेक सडकबाट निस्कने धुलो, इँटा उद्योगले गर्ने उत्सर्जन, खुला रूपमा फोहोर जलाउने कार्य, जंगली आगो प्रमुख कारण छन्। पछिल्लो समयमा काठमाडौं उपत्यकामा वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोग, फोक्सोको क्यान्सरका साथै मुटुरोग, हाइपर टेन्सन, मस्तिष्कघातका बिरामीको संख्या बढेको पाइएको छ।
प्रकाशित: २३ मंसिर २०७९ ०१:४३ शुक्रबार