२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

स्याङजाको मनस्याङकोटबाट प्याराग्लाइडिङको व्यवसायिक उडान

स्याङजाको वालिङ नगरपालिका–१ मनस्याङकोटबाट प्याराग्लाइडिङ उडान गर्दै। तस्बिरः नागरिक

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने तयारी भएसँगै यहाँको आकाशमा उडान भईरहेको प्याराग्लाइडिङको भविश्य के हुने भन्नेबारे अझै अन्योल छ। व्यवसायीले सकेसम्म प्याराग्लाइडिङलाई पोखराकै आकाशमा उडाईरहन चाहेका छन्।

हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि प्याराग्लाइडिङ उडानलाई सकेसम्म पोखरामै जोगाउने उद्देश्य सहित वैकल्पिक उपाय खोजिरहेको छ। तर, कतिपय व्यवसायीले भने पोखराबाट बिस्थापित भईहाल्नु परेको खण्डमा पनि व्यवसायिक रुपमा आफुलाई तयार पार्न थालेका छन्। केही गरि पोखराको आकाशबाट बाहिरिनुपरेको खण्डमा कहाँ जाने भनेर केही कम्पनिले विकल्पमा नयाँ गन्तव्य पहिचान गर्न थालेका छन्।  

व्यवसायीका अनुसार करिब आधा दर्जन कम्पनिले पोखराबाट बिस्थापित भईहाल्नुपरेको खण्डमा नयाँ ठाउँमा जानका लागि विकल्प खोजिरहेका छन्। त्यसैमध्येको एउटा बाबु एडभान्चर प्याराग्लाइडिङ कम्पनिले स्याङजाको वालिङ नगरपालिका–१ मनस्याङकोटबाट प्याराग्लाइडिङको व्यवसायिक उडान अनुमति लिएको छ।  

बाबु एडभेन्चरका संचालक सानोबाबु सुनुवारका अनुसार पर्यटन मन्त्रालयले व्यवसायिक उडानका लागि बाबु एडभान्चरलाई प्याराग्लाइडिङको व्यवसायिक उडान संचालनको लाइसेन्स दिएको छ। हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मनोरन्जनात्मक हवाई गतिविधि गर्नका लागि अनुमति दिएको सुनुवारले बताए। ‘अब फेबु्अरीदेखि पर्यटनमा नयाँ सिजन सुरु हुन्छ। त्यसपछि हामीले मनस्याङकोटबाट व्यवसायिक उडान सुरु गर्ने हो’ उनले भने। यो कम्पनिले पोखराबाट पनि प्याराग्लाइडिङको व्यवासयिक उडान गरिरहेको छ।

सुनुवारका अनुसार मनस्याङकोटबाट अन्नपूर्ण हिमश्रृंखला, र धवलागिरी हिमाल सहित आँधीखोलाको नागबेली स्वरुप र आसपासको फाँट तथा वालिङ बजार अवलोकन गर्न सकिन्छ। प्राधिकरणले मनस्याङकोटमा समुन्द्री सतहदेखि २ हजार मिटर माथि सम्म जान सकिने गरि प्याराग्लाइडिङ उडानका लागि क्षेत्र तोकिदिएको छ। मनस्याङकोट डाँडाको टेकअफ प्वाइन्ट आफैमा १४ सय मिटर उचाईको छ। उडेपछि ६ सय मिटर माथिसम्म पुग्न मिल्नेगरि अनुमति पाएको उनले बता ।  

बाबु एडभान्चरले नै स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानम प्याराग्ग्लाइडिङ स्कुल चलाइरहेको छ। द बाबु एडभान्चर इन्टरनेशनल स्कुल उनै सानोबाबुले चलाएका हुन। स्कुल आठवर्षदेखि चलिरहेको छ। ‘स्कुलमा अभ्यास हुने हो, स्कुल क्षेत्रमा व्यवसायिक उडान गर्न पाइँदैन,’ उनले भने, ‘व्यवसायिक र सिकाईका उडान एकैठाउँ गर्न नमिल्ने भएपछि नजिकैको वालिङको मनस्याङकोटबाट व्यवसायिक उडानका लागि अनुमति लिएको हुँ।’ स्वरेकको स्कुलमा भने प्याराग्लाइडिङ उडान सिक्नका लागि विदेशी समेत आउँछन्। त्यसबाहेक स्वदेशी युवाले पनि सिकिरहेका छन्।

सिद्धार्थ राजमार्गबाट नजिकको मनस्याङकोट वालिङदेखि पाँचकिलोमिटर माथि पर्छ। ‘पोखरा भन्दा फरक ठाउँको अनुुभव दिलाउनका लागि पनि यहाँ आएका हौ,’ उनले भने, ‘यसले ग्रामिण पर्यटन प्रवद्र्धन पनि हुन्छ। विमानस्थलका कारण पोखराबाट बिस्थापित हुनुपरेको खण्डमा पनि व्यवस्थापन हुन्छ । सबै तयार भएको छ। अब व्यवसायिक उडान थाल्ने हो।’

सुनुवारले उडानका गएका पाहुनालाई स्वरेकमा लगेर बास बसाउने र होमस्टेको अनुुभव गराउँदै मनस्याङकोटबाट प्याराग्लाइडिङ उडाउने योजना बनाएको बताए। मनस्याङकोटबाट उडेको प्याराग्लाइडिङ आँधीखोलाको किनारमा अवतरण गराइने उनले बताए। उनका अनुसार मौसम अनुकुल भएमा बिहान १० देखि दिउँसो ४ बजेसम्म उडान गर्न सकिन्छ ।  

स्याङजामा प्याराग्लाइडिङको व्यवसायिक उडानको अनुमति पाउने यो दोश्रो हो। यसअसि फ्लाइङ हिमालयन प्याराग्लाइडिङ कम्पनिले स्वरेकमै व्यवसायिक उडानको अनुमति पाएको छ। तर, अहिले फ्लाईङ हिमालय बन्द छ। फ्लाइङ हिमालयन पनि सानोबाबुको आफ्नै कम्पनि हो।  

सुनुवारका अनुसार पोखराको आकाशमा उडानको भविश्यबारे अन्योल भएपनि अरु केही कम्पनिले पनि नयाँ ठाउँमा जानका लागि तयारी थालेका छन्। त्यसका लागि पर्यटन मन्त्रालयमा आवेदन दिएका छन। ‘पोखराको भविश्य यकिन भएन। विमानस्थलका कारण केही गरि अन्यत्र सर्नुपरेको खण्डमा कहाँ जाने भनेर बेलैमा सोच्नुप¥यो,’ उनले भने, ‘त्यही भएर मैले स्याङजामा व्यवसायिक अनुमति लिएको हुँ। व्यवसायिक उडानका लागि सबै तयारी पुरा भएको छ।’

नेपाल ह्याङग्लाइडिङ एण्ड प्याराग्लाइडिङ एशोसिएसनका महासचिव शैलेन्द्र रावतले पनि व्यवसायिले पोखराबाट बिस्थापित भईहालेको खण्डमा कहाँ जाने भनेर विकल्प खोजेको बताउँछन। ‘सबै कम्पनि पोखरामा अट्न सक्दैनन। त्यसैले व्यवसायिकले व्यक्तिगत रुपमा तयारी गर्न सक्छन। केहीले आन्तरिक तयारी थालेको जानकारी पाएका छौ,’ उनले भने । पोखरामा अहिले प्याराग्लाइडिङका ६० वटा कम्पनि रहेका छन्।  

प्रकाशित: २० मंसिर २०७९ १०:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App