७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लयमा फर्किएन कफी उत्पादन

नेपालमा कफी खेतीका लागि उपयुक्त वातावरण हुँदा पनि फस्टाउन सकेको छैन। बजारमा माग र निर्यातको सम्भावना उच्च रहे पनि विगतमा जति पनि कफी फलेको छैन। आर्थिक वर्ष २०७१र७२ मा २३ सय ८१  हेक्टर क्षेत्रफलमा कफी खेती हुँदा ४ सय ६३ मेट्रिक टन ग्रीनविन कफी उत्पादन भएको थियो। आव ०७५/७६ मा आइपुग्दा उत्पादन बढेर ५ सय ३० मेट्रिक टन पुग्थ्यो। त्यसपछि खस्किएको उत्पादन अहिलेसम्म पनि लयमा फर्किएको छैन। आव २०७८/७९ मा आइपुग्दा ३ सय ५४ मेट्रिक टन मात्र उत्पादन भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ। कफी रोपणको क्षेत्रफल बढेर ३३ सय ४३ हेक्टरमा पुगे पनि उत्पादन बढ्न सकेको छैन। आव ०७६/७७ मा २ सय ९६ मेट्रिक टन र आव ०७७/७८ मा ३१४ मेट्रिक टन कफी उत्पादन भएको थियो। सरकारी निकायको उपेक्षाले कफी खेती विस्तार हुन नसकेको किसानको गुनासो छ।

‘स्थानीय तहले कफी किसानलाई प्रोत्साहन गर्ने कुनै कार्यक्रम राखेका छैनन्,’ कफी किसान भवानीप्रसाद शर्माले भने, ‘कफी उत्पादन बढाउने ठोस कार्यक्रम नहुँदा उत्पादन घट्यो।’ विगतका वर्षमा कफीमा रोग फैलिएकाले पनि उत्पादन घटेको चिया तथा कफी विकास बोर्डले जनाएको छ।

कफीको उत्पादन र उत्पादकत्व बढाउन प्रयास भइरहेको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले बताए। ‘अहिले उत्पादन बढाउन क्षेत्रफल पनि विस्तार गर्दै आएका छौं,’ भट्टराईले भने, ‘क्रमशः उत्पादन बढ्दै जाने अपेक्षा गरेका छौं।’

प्रदेश र स्थानीय तहसँग समन्वय गरेर कफी रोप्न प्रोत्साहन गरिरहेको उनले बताए। ‘आगामी वर्ष उत्पादन बढ्ने अपेक्षा छ,’ उनले भने। अन्तर्राष्ट्रिय बजारमा पनि उत्पादन घटिरहेको भट्टराईले बताए। ‘नेपालमा मात्र होइन धेरै कफी उत्पादन गर्ने मुलुकमा पनि उत्पादन घटेको छ,’ उनले भने, ‘उत्पादन घटे पनि माग भने बढिरहेको छ।’ नेपालमा भने पछिल्ला वर्ष उत्पादनमा सुधार आएको भट्टराईको दाबी छ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको उच्च माग भए पनि धेरै निर्यात हुन सकेको छैन। आर्थिक वर्ष ०७८/७९ मा ११ करोड ७० लाखको कफी निर्यात भएको थियो भने १२ करोड ७५ लाख रूपैयाँको कफी आयात भएको थियो। अघिल्ला वर्षको तुलनामा आयात र निर्यात दुवैमा सुधार भएको छ। आव ०७७/७८मा ९ करोड ६० लाख रूपैयाँको कफी निर्यात भएको थियो भने १० करोड ६७ लाखको कफी आयात भएको थियो।

स्वाद र गुणस्तरका हिसाबले नेपालको कफी उत्कृष्ट रहेको छ। नेपाली कफी स्पेसियालिटी कफीको रूपमा परिचित छ। नेपाली कफी निर्यात हुँदा सरदर प्रति किलो १६ अमेरिकी डलर रहेको छ। कफी किसानलाई संरक्षण र प्रोत्साहन गर्दै कफी क्षेत्रमा युवा पुस्तालाई आकर्षण गर्ने सरकारी योजना छ। सीमित क्षेत्रमा गरिँदै आएको कफी खेतीलाई ‘कफी स्टेट’मा रूपान्तरण गर्न प्रयास भैरहेको बोर्डले जनाएको छ।

कफी क्षेत्रमा व्यापक रूपान्तरणका लागि संरक्षण र प्रवद्र्धनका कार्यक्रम मार्फत ठूला व्यावसायिक फार्महरू स्थापना गर्न लगानीकर्ता भित्र्याउन प्रयास भइरहेको कार्यकारी निर्देशक भट्टराईले बताए। ठूला प्रसोधन उद्योग स्थापना, गुणस्तर व्यवस्थापन, बजारीकरण तथा नीतिगत कार्यहरूमा बोर्डले सघाइरहेको छ। ‘कफी उत्पादनलाई बजारसँग जोड्न कफी व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउन लागिरहेका छौं,’ उनले भने, ‘नीतिगत सुधार, क्षमता अभिवृद्धि लगायतका कार्यक्रम पनि सञ्चालन गरिएको छ।’

मुलुकमा कफी खेतीको प्रचुर सम्भावना भएर पनि उत्पादन वृद्धि हुन सकेको छैन। स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा यहाँ उत्पादन भएको कफीको उच्च माग छ। नेपालको कफी युरोप, कोरिया, जापान, अमेरिका लगायत मुलुकमा निर्यात हुन्छ। बजारको माग अनुसार कफीको उत्पादन वृद्धि हुन सकेको छैन। उत्पादन वृद्धि नहुँदा आन्तरिक बजारमा विदेशबाट पनि कफी आयात भइरहेको छ।

छहारी मुनि कफी रोपण गरेर उत्पादन लिने भएकाले पाखो क्षेत्रमा पनि यसको खेती गर्न सकिन्छ। कम मेहनतमा राम्रो आम्दानी र सजिलै बेच्न सकिने भए पनि अपेक्षित रूपमा कफी खेती विस्तार हुन सकेको छैन। मध्य पहाडका जिल्लामा व्यावसायिक बनाउँदै पूर्वी पहाडका जिल्लामा पनि खेती विस्तार गरिरहेको चिया तथा कफी विकास बोर्डले जनाएको छ। मुलुकको गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङ लगायत करिब ३२ जिल्लामा व्यावसायिक खेती हुँदै आएको छ। आठ सयदेखि १६ सय मिटर उचाइमा कफी फल्छ। वि.सं. १९९५ मा पश्चिम गुल्मीको आँपचौरबाट नेपालमा कफी खेती सुरु भएको थियो।

किसानले कफीको उचित मूल्य पाउन भनेर राष्ट्रिय चिया तथा कफी विकास बोर्डले फ्रेस र तयारी कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ। यो वर्षका लागि फ्रेस चेरी (ताजा फल) तर्फ ए ग्रेडलाई प्रतिकिलो ९५ र बी ग्रेडलाई ८५ रूपैयाँ तोकेको बोर्डले जनाएको छ। त्यसैगरी, पार्चमेन्ट प्रशोधित कफीतर्फ ’ए ग्रेड’ लाई प्रतिकिलो ४ सय ७५ र बी ग्रेडलाई ४ सय २० रूपैयाँ , प्रशोधन गर्न नसकिएको ‘ए ग्रेड’को कफीलाई प्रतिकिलो १ सय ७० र ‘बी ग्रेड’ को कफीको मूल्य एक सय १५ रूपैयाँ निर्धारण गरिएको बोर्डले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०७९ ०१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App