१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
प्रवास

नेपाली वायुसेवामाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले ईयूसँग पहल गरिरहेको छ : मन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज (गणेश) पौडेलले युरोपेली संघ (ईयू) ले नेपाली वायुसेवामाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्न सरकारले कूटनीतिक पहल जारी राखेको बताएका छन्।

ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सद्वारा मङ्गलबार लन्डनमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले यसै महिना ब्रसेल्समा हुने बैठकमा नेपालले उक्त प्रतिबन्ध हटाउन जोडदार रूपमा माग गर्ने जानकारी दिए। प्रतिबन्ध हटेपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको बेलायतलगायत अन्य युरोपेली मुलुकमा उडान सञ्चालन गर्न सहज हुने उनको भनाइ थियो।

नेपाली उड्डयन क्षेत्र सन् २०१३ देखि ईयूको कालोसूचीमा रहेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले सन् २०१८ मा नेपाललाई ‘गम्भीर सुरक्षा चासो’को सूचीबाट हटाए पनि ईयूको प्रतिबन्ध भने अझै कायम छ।

मन्त्री पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाल आफ्नो क्षमताभन्दा बढी अर्थात् १२० प्रतिशत क्षमतामा सञ्चालन भइरहेकाले भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण उपयोग गर्ने सरकारको योजना रहेको स्पष्ट पारे। लुम्बिनीमा बौद्ध धर्मावलम्बी पर्यटक भित्र्याउन श्रीलङ्का, भियतनाम, थाइल्यान्ड र जापानजस्ता बौद्ध बाहुल्य मुलुकसँग समन्वय भइरहेको उनले बताए।

नेपाललाई अन्तर्राष्ट्रिय ट्रान्जिट हबका रूपमा विकास गर्न निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको धारणा पनि उनले राखे।

मन्त्री पौडेलले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि भारतीय आकाश प्रयोग गर्न नेपाल सरकारले भारत सरकारसँग पहल गरिरहेको जानकारी दिए। प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणका क्रममा उक्त विषय उच्चस्तरमा उठाइने पनि उनले बताए।

भारतले बिहारको मोतीहारीमा क्षेत्रीय विमानस्थल निर्माण गरिरहेको र त्यसका लागि नेपाली आकाश प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गर्दै उनले भने, “हामीले पनि हाम्रा अन्तर्राष्ट्रिय उडानका लागि भारतीय आकाश प्रयोगको अनुमति मागिरहेका छौँ। यस विषयमा भइरहेका वार्ताहरू सकारात्मक दिशामा अघि बढिरहेका छन्।”

विश्व ट्राभल मार्केट (डब्लुटीएम) मा सहभागी हुन बेलायत आएका मन्त्री पौडेलले विभिन्न देशका समकक्षीसँग भेटवार्ता भएको जानकारी दिँदै नेपाललाई योग, ध्यान र ‘वेलनेस टुरिजम’को केन्द्रका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा प्रवास समिति प्रमुख मनिष झाले रास्वपाले गैरआवासीय नेपालीलाई दाताका रूपमा नभई ‘थिङ्क ट्याङ्क’का रूपमा हेरेको बताए। आगामी तीन महिनाभित्र गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनसम्बन्धी कानुन निर्माण गरी उनीहरूका चासो सम्बोधन गरिने प्रतिबद्धता जनाउँदै उनले गैरआवासीय नेपालीको सीप, सञ्जाल र स्रोत नेपालको समृद्धिमा उपयोग गर्न आग्रह गरे।

ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष बिराज भट्टले संस्थाले स्थापनाकालदेखि नै नेपाल र बेलायतबीच व्यापार तथा लगानी अभिवृद्धिका लागि काम गर्दै आएको बताए। उनले गैरआवासीय नेपालीको लगानी सहज बनाउन तथा प्रशासनिक झन्झट हटाउन सरकारसँग माग गरे।

कार्यक्रमको सुरुवातमा ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष इन्द्र गिरीले सहभागीलाई स्वागत गर्दै वक्ताहरूको परिचय गराएका थिए। संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टिभ बकलीले संस्थाका गतिविधिबारे जानकारी दिएका थिए।

अन्तरक्रियामा मन्त्री पौडेल र सांसद झाले सहभागीहरूले उठाएका जिज्ञासाको जवाफ दिएका थिए।

प्रकाशित: १८ कार्तिक २०८३ २०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App