१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

युएईमा भिसा सम्बन्धी नयाँ नियम, हजारौं नेपाली प्रभावित हुने

युएई सरकारले आईतबारदेखी लागू गरेको भिसा सम्बन्धी नयाँ नियमका कारण हजारौं नेपाली प्रभावित हुने देखिएको छ।  कोरोनाको संक्रमण शुरु भएपछि युएई सरकारले आफ्नो मुलुक भित्ररहेका विदेशी नागरिकहरुको भिसा ३१ डिसेम्बरसम्म स्वतः नविकरण हुने , जरिवाना तिर्नु नपर्ने र अन्य सबै सरकारी परिचयपत्रहरुको समयावधी सकिएको भएपनी ३१ डिसेम्बरसम्म मान्य हुने घोषणा गरेको थियो। तर उक्त निर्णयलाई उल्टाउँदै युएईले आईतबारदेखी नयाँ नियम लागू गरेको छ।

नयाँ नियमअनुसार भिजिट भिसामा आएकाहरुको  भिसा मार्च १ पछि सकिएको भए अगष्ट १२ भित्र युएई छोडिसक्नुपर्ने छ अथवा निश्चित शुल्क तिरेर नयाँ भिसा थप्नु पर्नेछ।  आवासीय भिसामा रहेकाहरुको भिसा मार्च  र अप्रिल महिनामा सकिएको भए जुलाई १२ देखि १ महिनाभित्र नयाँ भिसा लगाइ सक्नुपर्नेछ। जुन १ देखि जुलाई ११ सम्ममा भिसाको अवधि सकिएकाले सेप्टेम्बर १० देखि एक महिनाभित्र नयाँ भिसा लिनु पर्नेछ। जुलाई ११ भन्दा पछि भिजाको म्याद सकिएकाले भने पहिलेकै नियम अनुसार नयाँ भिसाका लागि प्रक्रिया गर्नुपर्ने छ।

तोकिएको समयसिमा भित्र भिसा नविकरण नगरे वा युएई नछोडे युएईको भिसा सम्बन्धी कानुन अनुसार जरिवानाको भागिदार बन्नुपर्ने बताईएको छ। जसअनुसार  पहिलो दिन ४ हजारदेखि ९ हजार नेपाली रुपैयाँसम्म जरिवाना लाग्नेछ भने त्यसपछि दैनिक ८ सयदेखि ३ हजार नेपाली रुपैयाँसम्म जरिवाना थपिँदै जानेछ।

यो नियम लागू भएसंगै कोरोनाको महामारीका कारण रोजगारी गुमाएका, बेतलबी बनेका, भिसा सकिएर अवैधानिक बनेकाहरु प्रत्यक्षरूपमा प्रभावित हुने भएका छन्। एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पाका अनुसार कोरोनाको महामारी फैलिए यता मात्रै युएईमा झण्डै ५० हजार नेपाली कामदार बेतलबी बनेका छन्। यी मध्ये केहिलाई कम्पनीले खाने र बस्ने व्यवस्था गरेपनी धेरैलाई त्यस्तो सुविधा समेत उपलब्ध नभएको शेर्पाले नागरिकलाई बताए। यस्तै रोजगारी गुमाउनेको संख्या पनि अत्याधिक रहेको उनले बताए।

महिनौंदेखि बेरोजगार भएर बसेका नेपाली कामदारहरुलाई अप्रिल १० देखि एनआरएनएले खाद्यन्न उपलब्ध गराईरहेको छ। खाने बस्ने निश्चित नभएका हजारौं नेपाली अबको एक महिना भित्र युएई नछोडे ठूलो जरिवानाको भागिदार बन्नुपर्ने छ। नेपाल एशोसियसन (एनआरएनए) यूएईले मंगलबार विज्ञप्ति जारी गर्दै यस विषयमा नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ। नेपाली कामदारको उद्धारका उडान थप गर्न तथा केही समयका लागि साधारण उडानको व्यवस्था गर्न एनआरएनएले अपिल समेत गरेको छ। कोरोनाको महामारीका कारण रोजगारी गुमाएका र भिसा सकिएर अवैधानिक बनेकाहरुले यत्रो जरिवाना तिर्नसक्ने स्थिति नरहेकोले यसको समाधानका लागी सरकारले तत्काल उद्दार उडानको संख्या बढाउनुपर्ने एनआरएनएको माग रहेको छ।

यता अबुधाबी स्थित नेपाली दूतावासले भने यसतर्फ खासै ध्यान दिएको पाईएको छैन। स्वदेश फिर्तिका लागि फारम भरेका नेपालीहरुको फोन नउठाएको , समस्या समाधानका लागि पहल नगरेको , दूतावास प्रवेशमा समेत निषेध गरेको भन्दै दूतावासको आलोचना भईरहेको छ।  

 

प्रकाशित: ३१ असार २०७७ ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App