१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

पोर्चुगलमा नेपाल चिनाउँदै

समुद्रको संसार हेर्नका लागि पोर्चुगल विश्वभरका पर्यटकको आकर्षणको केन्द्र हो। यहाँ घुम्न मात्रै होइन, रोजगारीका लागि जाने पनि कम छैनन्। रोजगारीका लागि जानेहरूमध्ये कतिपय त्यही उद्यम तथा व्यवसाय गरेर बसेका छन्। यस्तै एक पात्र हुन्, धनराज शेर्पा। 
राजधानी लिस्बनको पर्यटकीय सहर आनजोसमा उनले ‘रेस्टुरेन्ट एभरेस्ट नेपाल’ नामक रेस्टुरेन्ट सञ्चालन गरेका छन्। र, रेस्टुरेन्टमार्फत् विश्वसामु नेपाल चिनाएका छन्। 

कसरी ? 
रेस्टुरेन्टका भित्तामा गौतम बुद्ध र नेपाली हिमालका तस्बिर टाँसेर। यसले नेपाल चिनाउने त छँदैछ, युरोप र अमेरिका जोड्ने एटलाइन्टिक महासागरमा नेपाली हिमाललाई उभ्याएको उनको ठम्याइ छ। 

उनको रेस्टुरेन्टमा नेपाली परिकारको स्वाद चाख्न पाइन्छ। त्यही नेपाली स्वाद लिन आप्रवासी नेपालीसँगै विदेशीको पनि उत्तिकै भीड लाग्ने उनी बताउँछन्। ‘रेस्टुरेन्टमा नेपाली परिकार खान ब्राजिल, चीन, पाकिस्तान, भारत लगायत देशका नागरिक आउने गरेका छन्,’ उनले भने। 

यहाँका अधिकांश नेपाली आफ्नो रेस्टुरेन्टमा आउने गरेको उनी बताउँछन्। ‘नेपालीले आयोजना गर्ने अधिकांश कार्यक्रम पनि यहीँ हुने गरेको छ,’ उनले भने। 

कसरी बने त उनी रेस्टुरेन्ट व्यवसायी ? 

केही साताका लागि नेपाल फर्किएका उनले नागरिककर्मीसँग संघर्षगाथा सुनाए– २०५२ सालमा एसएलसी उत्तीर्ण गरेपछि काठमाडौं छिरेँ। सुरुवातमा कार्पेटसम्बन्धी काम गरेँ। त्यही काम गर्दागर्दै धागो उत्पादन व्यावसायीको अनुभव बटुलेँ। र, डेनमार्क, स्पेन र बेल्जियम घुमेँ। तर, पनि नयाँ आइडिया फुरेन।

त्यसपछि सन् २००९ डिसेम्बरमा पोर्चुगल पुगेँ। पोर्चुगलमा शेर्पाहरूका सामाजिक संस्थासँग समन्वय गरेर केही काम गरेँ। त्यसपछि साथीसँग मिलेर होटल सञ्चालन गरेँ। पोर्चुगलमा व्यवसाय गर्न खासै गाह्रो नभएको उनको ठम्याई छ। ‘यहाँको नियम कानुनमा बाँधिएपछि व्यवसाय गर्न असहज छैन,’ उनी भन्छन्। उनका अनुसार पोर्चुगलमा करिब २५ हजार नेपाली छन्। यसमध्ये अधिकांश रोजगारी गर्ने र ३० प्रतिशतले मात्रै उद्यम÷व्यवसाय गर्ने गरेको उनी बताउँछन्। 

व्यवसायसँगै उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। उनी सन् २०११ देखि २०१३ सम्म एनआरएनको बोर्ड मेम्बरसमेत भएका थिए।

सन् २०२१ मा नेपाल फर्कने उनको योजना छ। उनी नेपाल फर्केर हेल्दी फुडको अवधारणा अघि बढाउन चाहान्छन्। यसका लागि सुन्दरीजलमा होटल तथा रिसोर्ट सञ्चालन गर्ने तयारी गरिरहेको उनी बताउँछन्। 

प्रकाशित: १८ फाल्गुन २०७५ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App