१० मंसिर २०८१ सोमबार
image/svg+xml
प्रवास

दुई सय ६ नेपाली मलेसियाली जेलमा

मलेसियाको राजधानी क्वालालम्पुर सहर। तस्बिर : रमेश/नागरिक

क्वालालम्पुर (मलेसिया) - रोजगारीका लागि मलेसिया आएका केही नेपाली अवैध बसाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेको पाइएको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा दुई सय ६ नेपाली छन्। तीमध्ये धेरैजसो अवैध रूपमा बसेका र व्यवहारजन्य समस्याका कारण जेल पुगेका हुन्।

दूतावासका प्रथम सचिव प्रेमराज गौतमका अनुसार मलेसिया आएपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन्। कतिपयचाहिँ चोरी, लागुऔषध कारोबार, अपहरण, जुवातासजस्ता गम्भीर मुद्दामा जेल पुगेका छन्। ‘जुन कम्पनीमा काम गर्न आएको हो त्यसमा चित्त नबुझेपछि गैरकानुनी रूपले अर्को कम्पनीमा काम गरेर बस्ने नेपालीको संख्या धेरै छ’, गौतमले भने, ‘बाहिर आउजाउ गर्दा बेलाबेलामा यहाँको अध्यागमन प्रहरीको छड्के जाँचमा परेपछि त्यसरी अवैध रूपले काम गर्ने र बस्ने समातिन्छन्।’ उनका अनुसार अवैध रूपले बसेकालाई प्रहरीले क्वालालम्पुरको पुत्राजयस्थित अध्यागमन विभाग हुँदै अदालतमा पेस गर्छ। यस्तै प्रहरी र रोजगारदाता कम्पनी सञ्चालकसँगको दुव्र्यवहारका कारण समेत कतिपय नेपाली जेल परेका छन्। कम्पनी सञ्चालकसँग झगडा गरेर, भाषा नबुझ्दा स्थानीयसँग झगडा गर्ने र प्रहरीलाई पनि नराम्रो व्यवहार गरेका कारण केही नेपालीले मुद्दा खेपिरहेका छन्।

दूतावासका अनुसार जेलमा रहेकामध्ये ९८ नेपाली भिसाबिनै यहाँ बसेका हुन्। दूतावासका प्रथम सचिव गौतमका अनुसार जेल परेकामध्ये ८२ जनामाथि मदिरा सेवन गरी होहल्ला गरेको, जुवा खेलेको, चोरी गरेको र गाँजा सेवन गरेको अभियोग छ। यस्तै १९ नेपालीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण अभियोगमा जेल सजाय भोगिरहेका छन्। भ्रष्टाचारजन्य मुद्दामा २, सवारी मुद्दामा १, अपहरण मुद्दामा २, बालबालिकासम्बन्धी कानुनअन्तर्गत २ जना र ३ जना अन्य मुद्दामा जेलमा छन्। ‘यहाँको कानुन असाध्यै कडा छ’, गौतम भन्छन्, ‘सडक, पार्क वा सार्वजनिक स्थानमा कसैको बच्चालाई कति राम्रो भनेर आँखा लगाउने, खेलाउन खोज्ने, प्रशंसा गरेका कारण पनि केही जेल पुगेका हुन्।’ मलेसियामा बालबालिकालाई अपरिचितले यस्तो व्यवहार गर्नुलाई अशोभनीय मानिन्छ।
गौतमका अनुसार जेल परेकामध्ये १६ नेपालीलाई मृत्युदण्डको माग गर्दै मुद्दा चलाइएको छ। जसमध्ये १७ वर्षदेखि मलेसियाको जेलमा रहेका हरिबहादुर घलेसहित केहीलाई अदालतले मृत्युदण्डको फैसला सुनाइसकेको छ भने केहीको हकमा फैसला हुन बाँकी छ। जेलमा परेकामध्ये १ सय ५२ जना पुर्पक्ष थुनामा छन् भने ५४ जना अदालतबाट दोषी ठहर भई सजाय भोगिरहेका छन्। नेपालीलाई लगाइएका मुद्दामा बहस पैरवी गर्न र सघाउन दूतावासले आफ्नै कानुनी परामर्शदाता खटाउने गरेको गौतमले बताए।

घर फिर्ती पनि सँगै
अदालतले तोकेको जेल सजाय भुक्तान गरिसकेकालाई स्वदेश फर्काउन मलेसियाली सरकारले ‘घर फिर्ती केन्द्र’ मा राख्छ। दूतावासका अनुसार घर फिर्ती केन्द्रमा १ सय ७० नेपाली छन्। उनीहरूलाई घर फर्कन दूतावासले सहयोग गर्छ। ‘३ फेब्रुअरीमा ५ जनालाई स्वदेश फर्कायौं’, गौतमले भने। माघमा मात्र दूतावासले मलेसियाका ४ वटा घर फिर्ती केन्द्र र एउटा जेल पुगेर त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएको थियो। ‘कतिपय अवस्थामा यहाँ अलपत्र परेका नेपालीलाई नेपाली आबद्ध विभिन्न संघसंस्था र समाजसेवीले पनि टिकट किनेर घर फर्काउन सहयोग गरेको अवस्था छ’, दूतावासका द्वितीय सचिव विनोद मुखियाले भने।

फेसबुक लाइभमार्फत सचेतना
दूतावासले प्रत्येक शुक्रबार यहाँ रहेका नेपालीका लागि फेसबुक पेजमार्फत सचेतना कार्यक्रम चलाउने गरेको छ। ‘मलेसियामा रहेका नेपालीको समस्या बुझ्न र उनीहरू अप्ठेरोमा नपरून् भनेर यहाँको नियम र कानुनका विषयमा जानकारी दिन सचेतना कार्यक्रम चलाउने गरेका छौं’, मखियाले भने।
एक लाख नेपाली अवैध
मलेसियामा एक लाख नेपाली अवैध रूपमा बसिरहेको दूतावासको अनुमान छ। ‘अवैध रूपमा यहाँ बसेका नेपाली यति नै छन् भनेर आँकडा त निकाल्न सकिँदैन’, द्वितीय सचिव मुखियाले भने, ‘तर हाम्रो अनुमान एक लाख नेपाली अवैध रूपमा बसेका छन भन्ने हो।’ मलेसिया सरकारको आँकडामा तीन लाख ७५ हजार नेपाली वैध रूपले यहाँ बसेको देखिन्छ।

प्रकाशित: ११ फाल्गुन २०७५ ००:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App