१५ मंसिर २०८१ शनिबार
image/svg+xml
प्रवास

अब स्मार्ट फोनमै नेपाली चलचित्र र टेलिभिजनहरु

लण्डन- नेपालमा कला तथा संस्कृतिको प्रबर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कंपनी म्युजिक नेपाल प्रालिले संसारभरिका प्रवासी नेपालीहरुलाई लक्षित गरी नेपालकै पहिलो भिडिओ स्ट्रिमिङ सेवा शुरु गरेको छ।

‘नेपाल अन डिमान्ड’ नामक मोबाइल एप मार्फत प्राप्त गर्नसकिने सो सेवामा प्रत्यक्ष टेलिभिजन च्यानलहरु, दर्शकहरुले रुचाएका नेपाली चलचित्र, स्रोताहरुको रुचीलाई ध्यानमा राखेर तयार गरिएका गीत, संगीतहरुको संग्रह लगायतका सामग्री एचडी फर्म्याटमा उपलब्ध हुनेछन् भने हरेक हप्ता नयाँ चलचित्र तथा गीतसंगीतहरु उपलब्ध हुनेछन्।

आइतबार फार्नबरोमा आयोजित एक समारोहमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सो एप सार्वजनिक गरे। सभालाई संबोधन गर्दै राजदूत सुवेदीले नेपालको कला तथा संगीत क्षेत्रकोविकासमा निजी क्षेत्रबाट म्युजिक नेपालले उल्लेखनीय योगदान पुराएको भन्दै त्यसको प्रशंसा गरे। उनले नयाँ एप र नयाँ प्रविधिमार्फत नेपालको सूचना र मनोरन्जन बेलायतवासी नेपालीले आफ्नै घरमा बसीबसी प्राप्त गर्नसक्ने भन्दै खुसी पनि व्यक्त गरे। 

यी सेवाहरु प्राप्त गर्न ग्राहकहरुले स्मापर्ट फोनमा गएर निशुल्क परीक्षणकोलागि दर्ता गरी आफ्नो एन्ड्रोइड वा आइओएस उपकरणमा एपहरु डाउनलोड गर्नुपर्नेछ। त्यसप‌छि आफ्नो युजरनेम र पासवर्ड राखेर लग इन गरेपछि उच्च गुणस्तरको नेपाली टिभी तथा मनोरन्जन कार्यक्रमहरु हेर्न सकिनेछ।

प्रत्यक्ष भिडिओ स्ट्रिमिङ गरिने टेलिभिजन च्यानलहरुमा कान्तिपुर टिभी, हिमालय टिभी, एपिवान टिभी, न्युज २४ र बिटिभी बिजनेस छन्। कान्तिपुर र एपिवान एचडी फर्म्याटमा हेर्न सकिनेछ। त्यसैगरी कम्तीमा १०० वटा नेपाली चलचित्रहरु कुनै पनि बेला हेर्नसकिने गरी उपलब्ध हुनेछन् भने हरेक साता एउटा चलचित्र थप गर्दै लगिने म्युजिक नेपाल प्रालिका प्रमुख कार्यकारी सन्तोष शर्माले बताए।

“विश्वभरि नेपाली समुदायसम्म पुग्ने गरी नेपालको पहिलो टिभी तथा भिडिओ स्ट्रीमिङ सेवा शुरु गर्न पाउँदा हामीलाई निकै खुसी लागेको छ। “संसारभरि बसोबास गर्नुहुने नेपाली समुदायलाई मातृभूमिसंग जोडन यो सेवा सफल हुनेमा हामी विश्वस्त छौं,” उनले भने।

यसबाहेक सबै च्यानलहरुमा छुटेका कार्यक्रम १२ घन्टासम्म हेर्न मिल्ने सुविधा, भिडिओ कन्ट्रोल, पहिले छाडेकै ठाउँबाट चलचित्र हेर्न मिल्ने त्यसैगरी क्रोमकास्ट र एपल एअरप्ले प्रयोग गरी आफ्नो टेलिभिजन सेटमा सबै च्यानल तथा अन्य सामग्रीहरु हेर्नसकिनेछ। त्यस्तै क्याचअप टिभी प्रयोगगरी ग्राहकहरुले गएको १२ घन्टामा छुटेको कुनैपनि कार्यक्रम हेर्न सक्नेछन्।

समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने आफ्नो मान्यता अनुरुप म्युजिक नेपालले नेपाल अन डिमान्डका प्रत्येक ग्राहकबाट प्रति महिना प्राप्त हुने शुल्कको ७।५ प्रतिशत नेपालीहरुले नै शुरु गरेको कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कलाई प्रदान गर्ने घोषणा गरेको छ। हालै काठमाडौंमा आयोजित एक समारोहमा यस संबन्धी एक समझदारीपत्रमा म्युजिक नेपाल प्रालिका अध्यक्ष सन्तोष शर्मा तथा हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिं बस्नेतले हस्ताक्षर गरेका थिए।

“प्रवासमा बसोबास गरिरहेका नेपालीहरुले नेपाली टेलिभिजन, संगीत तथा फिल्महरुबाट मनोरन्जन लिइरहँदा तपाईंहरुले तिरेको शुल्कबाट नेपालमा स्वास्थ्य, शिक्षा तथा मानवीय सहायताको काममा सघाउन हामी प्रतिबद्ध छौं,”  हेल्पनेपाल नेटवर्क युकेका कोषाध्यक्ष सचिन श्रेष्ठले भने। उनले सहकार्यकालागि आफ्नो संस्थालाई छनोट गरेकोमा म्युजिक नेपाललाई धन्यवाद पनि दिए।

कार्यक्रममा वरिष्ठ गायिका मीरा राणा, भूतपूर्व गोर्खा सैनिकहरुले सुरु गरेको कंपनी जीनर्जीका प्रमुख कार्यकारी सेवानिवृत्त मेजरटिकेन्द्र दल देवान लगायतका वक्ताहरुले नयाँ एपको सफलताको कामना गरेका थिए।

बेलायतबाट सार्वजनिक गरिएको नेपाल अन डिमान्ड एप पछि संसारभरिबाट मासिक शुल्क तिरेर डाउनलोड गर्न सकिने छ।

यो सेवा प्रदान गर्न अत्याधुनिक स्ट्रीमिङ प्रविधि प्रयोग गर्नुकासाथै अनुमति लिइसकेपछि मात्र नेपाली चलचित्र तथा सांगीतिक सामग्रीहरु प्रयोग गरिनेभएकाले यसले नेपाली चलचित्र जगत तथा सांगीतिक उद्योगलाई मदत पुग्ने म्युजिक नेपालले जनाएको छ। नेपाल अन डिमान्ड एप एन्ड्रोइड र आइओएस फोनहरु, एन्ड्रोइड र आइओएस ट्याब्लेट, एप्पल एअरप्ले सपोर्ट, क्रोमकास्ट सपोर्ट, एमेजन फायरस्टिक एप र एन्ड्रोइडमा आधारित धेरैजसो सेटटप बक्सहरुमा पनि उपलब्ध हुनेछ।

प्रकाशित: २९ आश्विन २०७५ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App