११ आश्विन २०८३ आइतबार
image/svg+xml
ब्लग

राष्ट्रदेवसँग क्षमायाचनाको प्रार्थना

नेपाल केवल एउटा भौगोलिक देशमात्र होइन, यो ऋषिहरूको तपोभूमि हो, देवीदेवताहरूको क्रीडास्थल हो र सनातन सभ्यताको जीवित केन्द्र हो । यही पुण्यभूमिमा विराजमान पशुपतिनाथलाई केवल एक मन्दिरका देवताका रूपमा मात्र नभएर समस्त नेपालीका राष्ट्रदेवका रूपमा सम्मान र प्रतिष्ठा प्रदान गर्दै आइएको छ ।

हजारौँ वर्षदेखि बागमतीको किनारमा अवस्थित भगवान् श्रीपशुपतिनाथ नेपालको केवल धार्मिक पहिचान मात्र दिएको नभएर राष्ट्रिय आत्मा नै बनेको छ । संसारका असंख्य शिवालयमध्ये पशुपति विशेष छ । पुराणहरूले पशुपतिनाथलाई समस्त ज्योतिर्लिङ्गहरूको शिरोभाग भनेका छन् । अर्थात् जहाँ समस्त शिवशक्तिको ऊर्जा एउटै दिव्यकेन्द्रमा अभिव्यक्त भएको छ ।

तर आज प्रश्न उठेको छ, के हामीले आफ्नै राष्ट्रदेवको सम्मान जोगाउन सकेका छौँ ?

आदिमकालदेखि अमृतसरह पवित्र मानिएकी वागमती आज अत्यधिक मानवीय अत्याचारको पराकाष्ठारूप प्रदूषणले गर्दा क्रन्दनपूर्वक चिच्याइरहेकी छिन्, कराइरहेकी छन् । जहाँ ऋषिहरू स्नान र ध्यान गर्थे, त्यहाँ आज फोहोरको डङ्गुर बगिरहेको छ । जहाँ आध्यात्मिक साधना हुन्थ्यो, त्यहाँ राजनीतिक भागबण्डा र स्बार्थको छाया परेको छ । यो केवल नदीको प्रदूषणमात्र होइन, यो हाम्रो चेतनाको प्रदूषण हो । यो केवल धार्मिक संकट होइन, राष्ट्रिय आत्माको सङ्कट हो ।

हामीले विकासका नाममा धेरै कुरा बनायौँ तर आफ्नै सभ्यता बिर्सियौँ । आधुनिकताको दौडमा हामीले आफ्नै जरा काट्न थालेका छौँ र हामी खोक्रिँदै गएका छौँ ।  

यही पीडाले आज एउटा गम्भीर प्रश्न सोधिरहेको छ, यदि राष्ट्रको आत्मा नै घायल भयो भने समृद्धिको अर्थ के रहन्छ ?

यही आत्मबोधको क्षणमा बृहत् पाशुपत पदयात्रा केवल धार्मिक यात्रा बनेर आएको होइन । यो एउटा राष्ट्रिय जागरण हो , एउटा आध्यात्मिक आन्दोलन हो र एउटा सामूहिक क्षमायाचनाको अभियान हो ।

यो पदयात्रा ६४ सिद्धलिङ्गहरूको दर्शन गर्दै हजार किलोमिटरभन्दा लामो यात्रा गरी सम्पन्न भएको छ । सिन्धुलीस्थित आदिलिङ्ग कुशेश्वरदेखि पशुपतिका उपलिङ्ग रहेका सबै सिद्धस्थल (११ जिल्लाका ६४ ज्योतिर्लिङ्ग) मा पुगी पूजाअर्चना तथा रुद्राभिषेक गर्न सफल यो पदयात्रा केवल पैदल हिँडाइमात्र होइन , यो त नेपाली आत्माको पुनर्जागरणयात्रा हो ।

महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलका अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरिको सत्सङ्कल्प तथा नेतृत्वमा नेपाल-भारतका साधक, साधुसन्त, भक्तजनहरूको विशाल सहभागितामा ‘हर हर महादेव’ को उद्घोष गर्दै सिद्धस्थल रहेका गाउँगाउँ पुग्न सफल भए तब त्यो केवल धार्मिक ध्वनिमात्र भएन अपि तु समस्त सनातनी नेपाली समाजलाई आफ्नो मौलिकता सम्झाउने पुकार बन्यो । विद्यालय, चौतारा, मठमन्दिर र जनजनको आँगन हुँदै अघि बढेको यो अभियान एउटा सत्य पुनः स्मरण गराउँन सफल बनेको छ - नेपाल तबसम्म बलियो रहन्छ, जबसम्म आफ्नो धर्म, संस्कृति र सभ्यतासँग गाँसिएर रहन्छ ।

यो पाशुपत पदयात्राको सबैभन्दा सुन्दर पक्ष हो, ‘क्षमायाचना!’  

सन्तानले आफ्ना मातापितासँग गल्ती गर्दा जसरी शिर झुकाएर क्षमा माग्छ, त्यसरी नै समस्त नेपाली जनताका तर्फबाट राष्ट्रदेवसँग क्षमा माग्ने भाव यस अभियानको केन्द्रमा रहेको छ । यो एक किसिमको श्रद्धा, आस्था र विनम्रता हो । यही विनम्रताभित्र नै भगवत्प्रसन्नताको सम्भावना लुकेको हुन्छ ।

आज संसार धार्मिक द्वन्द्व, हिंसा, मानसिक अशान्ति र मूल्यहीनताबाट थाकिरहेको छ । यस्तो समयमा नेपालले फेरि विश्वलाई एउटा नयाँ सन्देश दिन सक्छ- आध्यात्मिक समन्वयको सन्देश । यही भूमि हो जहाँ शिवलाई किरातहरूले पारुहाङ माने, बौद्धहरूले अवलोकितेश्वर देखे, नाथयोगीहरूले गोरखनाथको ऊर्जा अनुभूत गरे । यही विविधताको केन्द्रबाट विश्वलाई सहअस्तित्वको शिक्षा दिन सकिन्छ तर त्यसका लागि पहिला हामी आफैँ जाग्नुपर्छ ।

पशुपतिलाई केवल मन्दिरभित्र सीमित देवता नठानौँ । उहाँ हाम्रो गौरवमय इतिहास हुनुहुन्छ, हाम्रो पहिचान हुनुहुन्छ, हाम्रो आत्मा हुनुहुन्छ । त्यसैगरी रुद्राभिषेकका लागि पशुपतिनाथकै जिह्वाबाट प्रकट भएकी वागमतीलाई केवल नदी नठानौँ; त्यो हाम्रो सभ्यताको उद्गमबिन्न्दु र मूल आधार हो ।

अब समय आएको छ, राजनीतिक विभाजनभन्दा माथि उठेर राष्ट्रिय चेतनामा जोडिने ! आलोचनाभन्दा अघि आत्मपरीक्षण गर्ने ! राष्ट्रदेवसँग क्षमा माग्दै नयाँ सङ्कल्प गर्ने !

यदि हामीले आज पनि आफ्ना मूल्यमान्यता, तीर्थ, नदी र संस्कृतिलाई जोगाउन सकेनौँ भने भोलिको पुस्ताले हामीलाई क्षमा गर्नेछैन ।

त्यसैले आउनुहोस्-

बृहत् पाशुपत पदयात्रालाई केवल एउटा कार्यक्रम नसम्झौँ ।

यसलाई राष्ट्रको आत्मा बचाउने अभियानका रूपमा हेरौँ ।

बागमती फेरि स्वच्छ बगून् ।

पशुपतिक्षेत्र फेरि ध्यान र साधनाको केन्द्र बनोस् ।

नेपाल फेरि विश्वसामु आध्यात्मिक गुरुराष्ट्रका रूपमा उभियोस् । हामी सबैले यही कामना, यही प्रार्थना, यही सङ्कल्प गरौँ- राष्ट्रदेव पशुपतिनाथको आशु प्रसन्नतामा नै राष्ट्रको सर्वाङ्गीण समुन्नति सम्भव छ!

अन्तमा पुराणोक्त द्वादश ज्योतिर्लिङ्गमा गणना नभए पनि समस्त ज्योतिर्लिङ्गहरूको शिरोभागका रूपमा 'शिरोभागस्वरूपेण शिवलिङ्गं तदस्ति हि' भन्दै शिवपुराणादि शास्त्रद्बारा समादर गरिएको श्रीपशुपतिनाथ नेपालमा रहनु र उनै राष्ट्रदेवद्बारा परिपालित र संरक्षित राष्ट्रको नागरिक हुन पाउनु हामी समस्त नेपालीका लागि अहोभाग्य एवम्  गौरवको विषय हो । प्रस्तुत पौराणिक साक्ष्य-उद्धरणले पशुपतिनाथको महिमा, गरिमा, सर्वोच्चता, सर्वश्रेष्ठता तथा सर्वमान्यतालाई प्रमाणीकरण गरेको छ ।

चौसट्ठी कला, चौसठ्ठी योगिनी, चौसठ्ठी तन्त्र र चौसठ्ठी संस्कृत व्याकरणका वर्णहरूसँग अन्तर्सम्बन्धित रहस्यमूलक चतु:षष्टी ज्योतिर्लिङ्गहरूद्बारा परिवेष्टित महाज्योतिर्लिङ्ग श्रीपशुपतिनाथ समस्त ऊर्जाको केन्द्र हो भन्ने तथ्य विभिन्न वैदिक, तान्त्रिक, पौराणिक ग्रन्थहरूका सन्दर्भहरूले तथा आध्यात्मिक साधकको साधनाजन्य सिद्धि वा अपरोक्ष अनुभवले परिपुष्ट गर्दै आएको छ । राष्ट्रकल्याणको सामूहिक उद्देश्य बोकेर राष्ट्रवासी समस्त नेपालीको प्रतिनिधि बनेर सन्तको अन्तश्चेतनामा उद्बुद्ध क्षमायाचनाको शुभसङ्कल्पले आज पूर्णता प्राप्त गरेको छ ।

२०८२ चैत्र १५ गते बाबा पशुपतिनाथ र वाग्ववती गङ्गामाताको विशेष पूजा-अर्चना तथा महाआरतीसहित शुभारम्भ सभा-आयोजना गरिएको अनि १६ र १७ गते आदिलिङ्ग कुशेश्वरको क्षमापनपूजा सम्पन्न गरी यात्रारम्भ गरिएको बृहत्-पाशुपत परिक्रमा आज ०८३-वैशाख २७ गते बैयालिसौँ दिनमा आएर ६४ सिद्धलिङ्गको दर्शन तथा रूद्राभिषेक गर्न सफल भएको छ र वैशाख-२८ गते पशुपतिको प्रियबार सोमबारका दिन प्रात:कालदेखि नै चतुष्षष्टी ज्योतिर्लिङ्गका नाममा रुद्री, चण्डी , हवन आदि धार्मिक अनुष्ठानका साथै पशुपतिनाथको विशेष पूजाहित गङ्गामहाआरती पूर्वक पाशुपत परिक्रमाका पूर्ण पदयात्रीको दर्शन  सन्त-महात्माका करकमलबाटबाट प्राप्त हुने आशीर्वाद तथा महाप्रसाद-ग्रहणका लागि पशुपति, शंकराचार्य मठमा समुपस्थित हुन समस्त महानुभावलाई बृहत् पाशुपत पदयात्रा मूल आयोजक समितिका तर्फबाट सादर प्रार्थना छ! ॐ नम: शिवाय !

हर हर महादेव ! जय श्रीपशुपतिनाथ !

प्रकाशित: २७ वैशाख २०८३ १९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App