श्री रवि लामिछानेज्यू
सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी
सर्वप्रथम राष्ट्रिय स्वतन्त्र पार्टी छोटो अवधिमै नेपाली राजनीतिको महत्वपूर्ण शक्तिका रूपमा स्थापित हुन सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । परम्परागत राजनीतिक अभ्यासप्रति असन्तुष्ट नागरिकको भावना, नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहनालाई प्रतिनिधित्व गर्दै तपाईंको नेतृत्वमा पार्टीले जुन स्थान बनाएको छ, त्यो नेपाली राजनीतिमा एउटा महत्वपूर्ण घटना र उपलब्धिको रुपमा हेरिएको छ ।
तर, ठूलो राजनीतिक शक्तिसँगै जिम्मेवारी पनि थपिदैजान्छ । जनताले नयाँ विकल्पसँगै नयाँ संस्कार, पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरेका छन् । छोटो समयमा नै पाएको जनसमर्थन आँधी, हुरी र वेगमा परिणत भयो भने तपाईहरु पनि उत्तरदायित्ववाट विमुख हुन सक्नुहुन्छ । नेपथ्यमा देखिएका काला वादलका धव्वाहरुको पूर्व संकेत वेलैमा वुझ्न सक्नु भएन भने सफेद वनाइएका तपाईका अनुहारहरु पुनः कालोले पोतिन सक्छ र नेपाली राजनीतिको प्रयोगशालामा अर्को प्रयोगको खतरा बढ्ने छ ।
राजनीतिक दल केवल चुनावी सफलताले मात्र बलियो हुँदैन । यसको स्पष्ट वैचारिक आधार,विधि विधान, लोकतान्त्रिक अभ्यास, पारदर्शी सदस्यता प्रणाली र व्यवस्थित संगठनले नै पुष्टि गरेको हुन्छ । पार्टीका सदस्यहरूको भूमिका, अधिकार र जिम्मेवारी स्पष्ट गर्दै संस्थागत संरचना बलियो बनाउन सकियो भने मात्र संगठन संस्थागत हुनजान्छ । त्यसका लागि आवधिक महाधिवेशन पार्टीको जीवन्तता र लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण आधार हुन्छ । चितवनको भरतपुरमा चलिरहेको प्रथम महाधिवेशन संस्थागत विकासको प्रारम्भ मात्र हो । महाधिवेशन प्रक्रियामा देखिने कुनै पनि प्रकारका अन्योल, असन्तुष्टि वा विधिसम्बन्धी प्रश्नलाई समयमै सम्बोधन गर्दै वैचारिक स्पष्टता सहित निष्पक्ष, पारदर्शी र सहभागितामूलक अभ्यास स्थापित गर्न सकियो भने मात्रै पार्टीले जीवन ग्रहण गर्न सक्दछ ।
राष्ट्रीय स्वतन्त्र पार्टीको कमजोर वैचारिक धरातलका कारण केही संवैधानिक प्रश्नहरु उठ्ने गरेका छन । नेपालको संविधानले निर्दिष्ट गरेका वहुलवादमा आधारित लोकतान्त्रिक मूल्य, समावेशिता, विधिको शासन र संस्थागत मर्यादालाई मुलधारका राजनीतिक दलहरुले त आत्मसात गरेकै छन । तर जेनजी युवा पुस्ताहरुको विद्रोहको जगमा उभिएको नयाँ राजनीतिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले यी मान्यतामा अझ उदाहरणीय भूमिका निर्वाह गर्न रणनीतिक भूमिका र सोही अनुरूपको कार्यक्रम जरुरी छ । युवा पुस्ताले केवल आलोचना होइन, समाधान खोजिरहेका छन । सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, कृषि,पर्यटन,उद्योग र सेवा प्रवाहमा ठोस नीति र कार्यान्वयनको विश्वासिलो आधार खोजेका छन ।
देशलाई अब केवल राजनीतिक नाराले होइन, दीर्घकालीन सोच र कार्ययोजनाले अघि बढाउनुपर्छ । सुशासन,उत्पादन वृद्धि, आत्मनिर्भर अर्थतन्त्र, युवा पलायन रोक्ने नीति, प्रविधिको प्रयोग र संस्थागत सुधारका विषयमा स्पष्ट राष्ट्रिय दृष्टिकोण आवश्यक छ । राष्ट्रिय दृष्टीकोण निर्माणका लागि दलहरू वीच सहकार्य, संवाद र सहअस्तित्व अनिवार्य हुन्छ । फरक विचार राख्ने दल वा व्यक्तिप्रति सम्मान गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्छ । पार्टी निर्माणको सुरुवाति दिनमा कार्यकर्तामा देखिने असहिष्णुता, सामाजिक सञ्जालको आक्रामकता र उद्दण्ड व्यवहार रोक्नै पर्दछ । यस्ता गतिविधिले सहकार्यको संस्कृतिमा अवरोध सिर्जना गर्ने मात्र होइन पार्टीको छविमा समेत नकारात्मक असर पार्न सक्छ । समयमा नै यसतर्फ नेतृत्वले सचेत भूमिका निर्वाह गर्न आवश्यक छ । नयाँ शक्तिका रूपमा तपाईंहरूमाथि पुराना कमजोरी दोहोर्याउने होइन, नयाँ राजनीतिक संस्कार निर्माण गर्ने जिम्मेवारी छ । जनताको विश्वास जित्न जति सजिलो त्यसलाई कायम राख्न अझ बढी इमानदार प्रयास आवश्यक हुन्छ ।
लोकतान्त्रिक व्यवस्थाको मूल आधार कानुनी राज्य (Rule of Law) हो । राजनीतिक शक्ति, पद वा लोकप्रियता जुनसुकै स्तरको भए पनि सबै संविधान तथा प्रचलित कानुनको अधीनमा रहनुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई नयाँ राजनीतिक संस्कारको वाहकका रूपमा प्रस्तुत गर्दै आएको सन्दर्भमा कानुनको समान प्रयोग, न्यायिक प्रक्रियाको सम्मान, राज्यका संस्थाहरूको स्वायत्तता र जवाफदेहिताको पक्षमा अझ दृढ भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । जनतामा राज्यप्रतिको विश्वास बलियो बनाउन कानुन सबैका लागि समान हुन्छ भन्ने अनुभूति व्यवहारबाट स्थापित गर्न आवश्यक छ । राजनीतिक स्वार्थभन्दा माथि उठेर विधिको शासन कायम गर्ने अभियानमा नेतृत्वदायी भूमिका खेल्न सकियो भने त्यसले पार्टीको मात्र होइन, समग्र लोकतान्त्रिक संस्कारको विकासमा योगदान पुर्याउनेछ ।
अन्त्यमा, राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली लोकतन्त्रको एक महत्वपूर्ण अध्याय बन्न सक्ने सम्भावना बोकेको शक्ति हो। त्यसका लागि व्यक्तिगत लोकप्रियताभन्दा माथि उठेर संस्थागत विकास, लोकतान्त्रिक अभ्यास र राष्ट्र निर्माणको स्पष्ट मार्गचित्रमा अघि वढ्न अपरिहार्य ठानेको छु । तपाई स्वयम् चितवनबाट निर्वाचित जनप्रतिनिधिका रूपमा तपाईसंग स्थानीय नागरिकका अपेक्षा र भरोसा पनि जोडिएको छ । राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाहसँगै पार्टीको उद्गम स्थलको रुपमा चित्रण गरिएको चितवनको समग्र विकासप्रति विशेष दायित्व वहन गर्नुपर्ने हुन्छ । स्मरणीय छ, चितवन कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र उद्यमशीलताको दृष्टिले ठूलो सम्भावना बोकेको जिल्ला हो । यहाँको कृषि आधुनिकीकरण, किसानको समस्या समाधान, युवा रोजगारी, व्यवस्थित शहरीकरण, वातावरण संरक्षण, यातायात व्यवस्थापन तथा दीर्घकालीन विकास योजनामा प्रभावकारी पहल आवश्यक छ । समृद्ध चितवन केवल भौतिक पूर्वाधारको विस्तार मात्र होइन,अवसर, सुशासन, स्वच्छ प्रशासन र नागरिकको जीवनस्तर सुधारसँग जोडिएको विषय हो । चितवनलाई नमुना विकासको क्षेत्र बनाउने स्पष्ट दृष्टिकोण र निरन्तर पहल तपाईंको प्रतिनिधित्वको महत्वपूर्ण मापन बन्नेछ । आम नागरिक त्यो दिनको पर्खाईमा व्यग्र छन ।
जय नेपाल !
ध्रुवराज पोख्रेल
सचिव
नेपाली कांग्रेस चितवन
प्रकाशित: ९ असार २०८३ १७:३० मंगलबार





