‘देश र जनताको लागि मर्छु, र मर्छु नै’,यही विश्वास बोकेर आफ्नो ज्यान देश र जनताको नाममा अर्पण गर्ने मेरा बाबा आज हामीसँग हुनुहुन्न। उहाँ शहीद हुनुभयो। तर वर्षौँ बित्दै जाँदा मेरो मनमा एउटा प्रश्न बारम्बार उठ्छ,शहीद हुनुको मूल्य आखिर कसले बुझ्छ? शहीदको परिवारले कि शहीदको नाममा अवसर पाउनेहरूले?
देशमा विभिन्न समयमा भएका आन्दोलन र संघर्षमा धेरैले आफ्नो जीवन गुमाए। उनीहरूलाई शहीद घोषणा गरियो, शहीदका नाममा कार्यक्रम भए, भाषण भए, राजनीति भयो। तर शहीदको घरभित्र छिरेर हेर्ने हो भने त्यहाँ एउटा परिवारको अधुरो जीवन, एउटा आमाको संघर्ष र बाबाको अभावमा हुर्किएका छोराछोरीको पीडा भेटिन्छ।
मेरा बाबाले पनि देश र जनताको लागि आफ्नो जीवन अर्पण गर्नुभयो। जनयुद्धका क्रममा उहाँ शहीद हुनुभयो। त्यो बेला म जम्मा पाँच वर्षकी थिएँ। मेरा दाइ कक्षा ८ मा पढ्नुहुन्थ्यो, दिदी कक्षा ४ मा। हामी तीन सन्तान थियौँ र हाम्रो अगाडि जीवनको लामो बाटो थियो। तर त्यो बाटोबाट हाम्रो बाबाको साथ अचानक हरायो।
त्यसपछि हाम्रो जीवन कस्तो भयो, त्यो हामी तीन सन्तान र मेरी आमालाई मात्र थाहा छ।
हाम्रो संघर्षको कथा बाहिरबाट हेर्दा सायद सामान्य लाग्न सक्छ, तर ती दिनहरू हामीले बाँचेका छौँ।
त्यतिबेला मेरी आमा करिब ३० वर्षकी हुनुहुन्थ्यो। जवान उमेरमै श्रीमान् गुमाउनुभयो। आफन्त र समाजका आफ्नै कुरा थिए। कसैले आमालाई फेरि विवाह गर्न सुझाव दिए, कसैले आफ्नै किसिमका कुरा गरे। तर मेरी आमाले एउटा निर्णय गर्नुभयो,‘मेरा छोराछोरीलाई बिचल्ली पार्दिनँ।’
त्यसपछि उहाँले आफ्नो जीवन हाम्रो लागि समर्पण गर्नुभयो।
घरमा खानेकुरा नहुँदा चामलसमेत मामाघरबाट ल्याएर हामीलाई हुर्काउनुपर्ने दिन आए। आफ्नै शरीर र मनले धान्न नसक्ने गरी कामको बोझ थियो। घरको जिम्मेवारी, तीन सन्तानको भविष्य र श्रीमान् गुमाएको पीडा,सबै कुरा एउटै काँधमा थियो।
कहिलेकाहीँ हामी बच्चाहरूको दबाब र घरको जिम्मेवारीको बोझले आमा दिनमा एकपटकसम्म बेहोस हुनुभएको सम्झना अझै मनमा ताजा छ। त्यो बेला हामीले आमाको पीडा कति गहिरो थियो भनेर बुझ्न सकेनौँ। हामीलाई त आमा हुनुहुन्छ, हामीलाई हेर्नुहुन्छ भन्ने मात्रै थाहा थियो।
आज ठूलो हुँदै जाँदा बुझ्दैछु, हामीलाई हुर्काउनु आमाका लागि केवल जिम्मेवारी थिएन, त्यो उहाँको जीवनसँगको संघर्ष थियो।
यदि आमाले त्यो बेला अर्को विवाह गर्नुभएको भए हाम्रो जीवन कहाँ पुग्थ्यो होला? सायद कसैको घरमा आश्रित भएर बस्नुपर्थ्यो। सायद अरूको घरमा काम गरेर जीवन बिताउनुपर्थ्यो। सायद हाम्रो पढाइ, हाम्रो सपना र हाम्रो भविष्य यति टाढासम्म आइपुग्दैनथ्यो।
तर आमाले त्यो हुन दिनुभएन।
उहाँले आफ्ना इच्छा, आफ्नो सुख, आफ्नो भविष्यभन्दा माथि हामी तीन सन्तानलाई राख्नुभयो। आफ्ना छोराछोरीको भविष्य बनाउन उहाँले आफ्नो वर्तमान बलिदान गर्नुभयो।
आज देशमा शहीदको नाममा राजनीति हुन्छ। शहीदको योगदान र सम्मानबारे भाषण हुन्छ। विभिन्न दल र नेताहरूले शहीदको नाम सम्झन्छन्। तर मेरो प्रश्न यति मात्र हो,शहीदको परिवारलाई कति सम्झिन्छन्?
शहीद भएपछि शहीदको नामको मूल्य हुन्छ कि हुँदैन? शहीद परिवारले भोगेको अभाव, पीडा र वर्षौँको संघर्षको मूल्य कसले बुझ्छ?
म कुनै राजनीतिक दल वा व्यक्तिको पक्ष वा विपक्षमा यो प्रश्न गरिरहेकी छैन। म त केवल शहीदकी छोरी भएर आफ्नो जीवनको कथा सुनाइरहेकी छु। मेरो आँखाले देखेको, मेरो आमाले भोगेको र हामी तीन सन्तानले सहेर हुर्किएको जीवनको कथा हो यो।
सानै उमेरदेखि नै जीवनले मलाई संघर्ष गर्न सिकाउँदै आयो। कक्षा ५ देखि आमाको काख छोडेर टाढा पढ्न जानुपर्दाको त्यो बालापन आज पनि सम्झन्छु। अरू बालबालिका आमाको न्यानो काखमा रमाइरहेका बेला म भने पढाइका लागि घरबाट टाढा, आफ्नै खुट्टामा उभिन सिक्दै थिएँ। उमेर सानै थियो, तर जिम्मेवारी र परिस्थितिले समयभन्दा अगाडि नै ठूलो बनाउँदै लग्यो।
त्यसपछि पढाइसँगै जागिरको दबाब थपियो। पढाइलाई निरन्तरता दिँदै कामको जिम्मेवारी सम्हाल्नु, आफ्नो भविष्य बनाउनु र परिवारप्रतिको जिम्मेवारी पूरा गर्नु,यी सबै कुरा एउटै समयमा बोकेर हिँड्नुपर्यो। उमेरभन्दा धेरै जिम्मेवारीले मलाई समयभन्दा अगाडि नै परिपक्व बनायो ।
दिदीको त्यो च्यातिएको कपडादेखिको यात्रा, घाँस–पात र मेलापात गर्दै पढाइलाई निरन्तरता दिएको संघर्ष, आमालाई सम्हाल्दै घरका सबै जिम्मेवारी बोकेको त्यो बाल्यकाल,यी सबै कुरा हाम्रो परिवारको इतिहासका ती पानाहरू हुन्, जुन कहिल्यै बिर्सन सकिँदैनन्।
हामीले बाबाको अभावमा बाल्यकाल बितायौँ। आमाको संघर्षमा हुर्कियौँ। धेरै कुरा पाएनौँ, धेरै कुरा त्याग्यौँ। तर आमाले हामीलाई कहिल्यै आफू कमजोर भएको महसुस हुन दिनुभएन।
बाबाबिनाको जीवनले सिकाएका पाठ
बाबाको साथबिना जीवनमा संघर्ष गर्दै अघि बढ्दा मानिसहरूलाई नजिकबाट चिन्ने मौका पनि पाइँदो रहेछ।
जीवनमा कहिले निस्वार्थ भएर साथ दिने राम्रा र सहयोगी मानिसहरू भेटिन्छन्, त कहिले आफ्नै स्वार्थका लागि नजिक आउने र कठिन समयमा टाढा हुने मानिसहरू पनि भेटिन्छन्।
कसले साँचो मनले साथ दिएको हो र कसले आफ्नो स्वार्थका लागि सम्बन्ध राखेको हो भन्ने कुरा सुखमा होइन, संघर्षको समयमा थाहा हुँदो रहेछ।
बाबा साथमा भएको भए सायद जीवनका केही कठिन बाटाहरू फरक हुन्थे होला। तर बाबाको अभावमा हिँड्दै गर्दा हामीले मानिस चिन्न सिक्यौँ, परिस्थिति बुझ्न सिक्यौँ र आफैंलाई सम्हाल्न सिक्यौँ।
कहिलेकाहीँ मानिसहरूले दिएको चोट पनि सहनुपर्यो, कहिलेकाहीँ अरूको सहयोगले फेरि उठ्न पनि पाइयो। कसैले हात समातेर अघि बढायो, कसैले कमजोर बनाउन खोज्यो।
तर यी सबै अनुभव जीवनका पाठ बने।
संघर्षले हामीलाई केवल दुःख दिएन, मानिस चिन्न र जीवन बुझ्न पनि सिकायो।
त्यसैले आज हामी कसैसँग गुनासो गरेर बस्न चाहँदैनौँ। जीवनमा राम्रा मानिस भेटिए, उनीहरूको माया र सहयोग सम्झन्छौँ। नराम्रा अनुभव आए, त्यसबाट पाठ सिक्छौँ। अन्ततः सबै कुरा आफैंले भोग्दै, सहँदै र सिक्दै अगाडि बढ्नुपर्छ।
बाबा हामीबाट टाढा भएपछि मेरो दाइको बाल्यकाल पनि अरू बालबालिकाको जस्तो रहेन। कक्षा ८ मा पढ्दै गर्दा नै बाबाको अभाव महसुस गर्नुपर्यो। कक्षा १० पछि आफ्ना सपना र पढाइलाई अगाडि बढाउने उमेरमा उहाँमाथि परिवारको जिम्मेवारी थपिँदै गयो। पढ्ने इच्छा र आफ्नै भविष्य बनाउने सपना हुँदाहुँदै पनि परिस्थितिले उहाँलाई आफ्नो चाहनाभन्दा परिवारको आवश्यकता रोज्न बाध्य बनायो।
त्यसपछि सुरु भयो मेरो दाइको संघर्ष। परिवारका लागि केही गर्नुपर्छ भन्ने जिम्मेवारी बोकेर उहाँले जीवनका अनेक कठिन बाटाहरू पार गर्नुभयो। खाडी मुलुकदेखि युरोपसम्मको उहाँको यात्रा केवल एउटा ठाउँबाट अर्को ठाउँसम्म पुग्ने यात्रा थिएन; त्यो परिवारका लागि गरेको त्याग, दुःख, मेहनत, संघर्ष र आफ्नो सपनासमेत पछाडि राखेर हिँडेको लामो यात्रा थियो।
किनकि जीवन अरूले हाम्रो लागि जिउँदैनन्।
हामीले नै आफ्नो बाटो हिँड्नुपर्छ।
आज पनि हामी सबै आफ्नो–आफ्नो संघर्षमा छौँ। जीवन सजिलो छैन। तर एउटा आशा छ,एक दिन हामी सफल हुनेछौँ।
त्यो सफलता केवल हाम्रो व्यक्तिगत सफलता हुनेछैन। त्यो मेरी आमाको प्रत्येक आँसुको जवाफ हुनेछ। चामल खोज्दै मामाघर धाउनुपरेका दिनहरूको जवाफ हुनेछ। कामको बोझले थाकेर पनि छोराछोरीका लागि उठिरहेकी आमाको संघर्षको जवाफ हुनेछ।
र त्यो मेरा बाबाको बलिदानलाई हामीले दिएको सानो सम्मान पनि हुनेछ।
बाबा, तपाईं देश र जनताको लागि शहीद हुनुभयो। तपाईंको अभाव हामीले बाल्यकालदेखि आजसम्म बोकेर हिँडेका छौँ। तपाईंले हामीलाई हुर्काउन सक्नुभएन, तर तपाईंले छोडेर जानुभएको परिवारलाई आमाले आफ्नो सम्पूर्ण जीवन दिएर सम्हाल्नुभयो।
तपाईंको बलिदानको मूल्य राजनीति गर्नेहरूले कति बुझे, त्यो मलाई थाहा छैन। तर तपाईंको मृत्युको मूल्य मेरी आमाले आफ्नो सम्पूर्ण जीवन दिएर चुकाउनुभयो।
आज हामी जहाँ छौँ, त्यो आमाको संघर्षले हो।
र हामी जहाँ पुग्नेछौँ, त्यसमा बाबाको बलिदान र आमाको त्याग दुवैको हिस्सा हुनेछ।
शहीदको नाम केवल इतिहासका पानामा होइन, शहीद परिवारको जीवनमा पनि बाँच्नुपर्छ।
बाबा देश र जनताको नाममा शहीद हुनुभयो। उहाँको बलिदानको मूल्य राजनीति गर्नेहरूले कति बुझे, त्यो इतिहासले मूल्याङ्कन गर्ला। तर उहाँको मृत्युको मूल्य मेरी आमाले आफ्नो जीवन दिएर चुकाउनुभयो।
बाबाले देशका लागि जीवन दिनुभयो।
आमाले हामी तीन सन्तानका लागि आफ्नो जीवन दिनुभयो।
आज हामी जहाँ छौँ, त्यो बाबाको बलिदान र आमाको संघर्ष दुवैको परिणाम हो।
हामी अझै संघर्षमै छौँ। तर हार मानेका छैनौँ।
एक दिन सफल हुने विश्वास छ।
त्यो दिन हामी आमालाई हेरेर भन्न चाहन्छौँ
‘आमा, तपाईंले हामीलाई बिचल्ली हुन दिनुभएन। अब तपाईंका अधुरा सपना हामी एक–एक गरेर पूरा गर्नेछौँ।’
किनकि शहीदको सम्मान केवल मूर्ति बनाउनु, भाषण गर्नु वा श्रद्धाञ्जली दिनु मात्र होइन।
शहीद परिवारले वर्षौँदेखि बोकेको संघर्षलाई बुझ्नु र सम्मान गर्नु पनि शहीदप्रतिको सच्चा सम्मान हो।
उही एक सच्चा, निडर शहीदकी छोरी; सन्ध्या पाण्डे।
प्रकाशित: ७ आश्विन २०८३ १६:१४ बुधबार





-600x400.jpg)