१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

हल्लेरै बितेको एक वर्ष

प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद!
मुखबाट टुक्का, चुट्किला, कटाक्ष, उपहास र दम्भमात्र निकाल्ने उनले त्यो दिन एउटा सत्य पनि निकालिदिए। त्यो दुर्लभ घटना थियो, नगरा बजाएर उत्सव मनाउन लायक! 

ओलीले अन्तस्करणको इमानदार ध्वनिलाई छेकथुन नगरी, नखजमजाई भने, 'यस्तै ताल हो भने भूकम्पपीडितलाई एक दशकमा पनि घरभित्र बसाउन सकिँदैन।' शब्दहरू अक्षरशः यिनै नभए पनि मजबुन यही थियो।

यत्तिकै हल्लेर एक वर्ष बिताएपछि उनलाई लागेछ, यस्तो तालले, यस्तो चालले लामो समयसम्म दुःखी नेपालीलाई टहरोबाट घरमा सार्न सकिन्न।

हल्लेरै बित्यो एक वर्ष।

यो एक वर्ष हामी कसरी हल्लियौँ? कस–कसले, के–केले हामीलाई हल्लाए? अभिलेख गर्ने जाँगर हुँदो हो त हाम्रा हल्लाइहरूको मोटो ढड्डा बन्थ्यो, जसलाई पढेर संसार 'सारा नागरिक दुःख, वेदनाले हल्लिँदा पनि कसरी राज्यको अन्तरआत्मा हल्लिएन?' भन्ने विषयमा दीक्षित हुन सक्थ्यो।

सबैभन्दा बढी हामीलाई भुइँचालोले हल्लायो। चिनियाँ माटोका कप खसेर चकनाचुर भएजसरी जिन्दगीको लय चकनाचुर भयो। यो सिलसिलामा राज्य र सरकारप्रतिको बाँकी बचेका भरोसा र विश्वास पनि चकनाचुर भए।

उता धर्तीमुनिका प्लेटहरू हल्लिए, यता हाम्रा थालहरू हल्लिए। गाँसहरू हल्लिए। आशा, भरोसाहरू हल्लिए। सम्बन्धहरू हल्लिए।

त्यसपछि हामीलाई संविधानले हल्लायो। यसको रकमी भाषाले हल्लायो। धर्मनिरपेक्षताको बद्नियतपूर्ण 'फुटनोट'ले हल्लायो। हामी मधेशीलाई झन् हल्लायो। राज्यलाई फिटिक्कै मन नपर्ने रङ हो कालो। कालो वर्णको हुनुको मूल्य चुकाइरहेछौँ हामी। यो मूल्य यो वर्ष सिंहदरबारका भित्ता–भित्ता, कुना–कुना रंगाउन पुग्ने गरी रगत बगाएर चुकाइयो।

त्यसपछि भारतीय नाकाबन्दीले हल्लायो हामीलाई।

अनि कालोबजारीले हल्लायो। हामी सिलिन्डर हल्लाउँदै डिपो–डिपोमा हल्लियौँ। कहिले रित्तै हल्लियौँ, कहिले सात प्वाइन्ट एक केजी राष्ट्रिय अभिमान बोकेर हल्लियौँ।

हामीलाई राष्ट्रियताको बहसले पनि हल्लायो। लेखक युग पाठकले भनेझैँे चरा, पहरा, छहरा, लहरा, ढुंगा, माटोलाई ध्यान दिने तर मान्छेलाई ध्यान नदिने राष्ट्रियताको बहसमा हामी हल्लियौँ। महेन्द्र सरकारको प्रेतपूजक कमल थापाहरूले गणतन्त्रमा देखाएको 'हिरोइजम'ले पनि हामीलाई हल्लायो। पश्चगमनको जयजयकारबीच गौमाता संरक्षणका चर्का नाराहरूले पनि हामीलाई हल्लाए।

हल्लेरै बित्यो एक वर्ष।

भुइँचालोले हल्लाउनु शाश्वत हो। धर्तीसँग कुनै गुनासो छैन। गुनासो त हामी बाँचेको धर्तीको हिस्सालाई जसले आफ्नो ठेक्का सम्झेका छन्, उनीहरूसँग छ। गुनासो पनि के भन्नु र खै? पत्थरसँग बिलौना गरेजस्तो।

एक हप्तालाई लामो समय ठान्न बानी परेका राजनीतिबाजहरूका लागि एक वर्ष धेरै लामो समय हो। लामो समय भएपछि पर्याप्त निष्पि्कक्री हल्लिन सकिन्छ। र, उनीहरू हल्लिए। प्रकृतिको मनोरम दृश्य हेर्न आएको विदेशी पर्यटक हल्लिएझैँ। प्रेमिकाको गल्लीतिर कुनै प्रेमी यसै हल्लिएझैँ।

यत्तिकै हल्लिन अभिशप्त विवश बेरोजगारहरूको कुरा होइन यो। कोही आफैँले रोजेको अकर्मण्यतामा हल्लिन्छन्। कसैलाई हल्लेरै खानी बानी लागेको हुन्छ। जस्तो किः शक्तिशाली कुर्सीमा विराजमान कोही। अरूका दुःख, अरूका पीडा, अरूका आँशु देखेर जसको अन्तरआत्मा कहिल्यै हल्लिँदैन। कि कुर्सीले मान्छेको अन्तरआत्मा नै खाइदिन्छ? अन्यथा पुसको ठण्डीमा कठांग्रिएर मरेको नवजात शिशुको नीलो शव देख्दा कुर्सीमा विराजमान मान्छेको संवेदना किन हल्लिँदैन? बरु, उसका खुट्टाचाहिँ हल्लिन्छन्, यसै बेपर्वाह।

हल्लेरै बित्यो भूकम्पपीडित नेपालीको एक वर्ष।

हल्लेरै बिताए यो देशका ठूला मान्छेहरूले एक वर्ष। हल्लेरै खाने बानीको बन्दी भयो पुनर्निर्माण प्राधिकरण। काम, काम र कामबाहेक अरू केही सोच्नै नहुने यस्तो बखतमा पनि हल्लने फुर्माइस गर्न सक्नेहरूले मन–मस्तिष्कदेखि हल्लिरहेकाहरूको नाममा केही गर्लान् भन्ने सोच्नु पनि हास्यास्पद छ। जनता जीवन–मरणको दोसाँधमा हल्लिरहेको छ, उनीहरू वनभोजमा हल्लिरहेका छन्। वेदनाले हल्लिरहेका असंख्य मान्छेका चित्कार सत्ताको कानसम्म पुग्दैन। सत्ता बिहानको ताजा हावा खान मर्निङवाकमा निक्लेको मान्छेझैँ कानमा इयरफोन कोचेर कुनै गीतको तालमा हल्लिरहेको छ।

हामीले दुःख, दुविधामा हल्लेरै बितायौँ एक वर्ष। उनीहरूले सुविस्तापूर्वक हल्लेरै बिताए एक वर्ष। हाम्रो कष्टकर हल्लाइ। उनीहरूको मग्नमस्त हल्लाइ।

सायद हाम्रो दुःखको अन्तिम संस्करण छैन। न छ अन्तिम किस्ता। बाँचुञ्जेल हामी दुःखमा हल्लिन्छौँ। मरेपछि पनि हल्लिन्छौँ हामी। हाम्रो लाशलाई काँध दिनेका असन्तुलनले हल्लिन्छौँ।

हामीलाई यसरी हल्लिन बाध्य पार्ने सिस्टम छ एउटा। जसलाई यत्तिकै हल्लेर चलाइदिन्छन् उनीहरू।

हल्लेरै बित्यो यो वर्ष। अर्को वर्ष पनि बित्नेछ। प्रधानमन्त्रीले अनिष्टको संकेत गरिसकेका छन्। अरू–अरू वर्ष पनि अवसादमा हल्लेरै बित्नेछन्।

तय छ– उनीहरूलाई हामी जति मनमौजी हल्लेरै सिस्टम चलाउन दिन्छौँ, हामी उति नै वेदनामा हल्लिनेछौँ।

प्रकाशित: ११ वैशाख २०७३ ००:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App