'सबैले बसको सिटमुनि टाउको लुकाउनुस्,' कन्डक्टर कराए 'जंगलबाट कसैले ढुंगा हान्दैछन्, सबै लुक्नुस्।' केही यात्रु सिटमुनि लुके। केही बसको गल्लीमा ओर्ले। बस ढलपलाउँदै नरोकिइ हुँइकियो। तीनसय मिटर पर बासाबसही (नवलपरासी) प्रहरी बिट अगाडि पुगेर बस रोकियो।
बुटवलबाट राजधानी हिँडेको रात्रिबसमा मंगलबार राति नवलपरासीको बासाबसही नजिकै ढुंगामुढा भयो। सडक किनाराको जंगलबाट लु१ख ८६७७ नम्बरको बसमा अज्ञात समूहले ढुंगामुढा प्रहार गरेका थिए। सोही बसको एउटा यात्रु म पनि थिएँ। गुडिरहेको बसमा एकाएक बर्सिएका ढुंगाले बसको जिउमा, मेरो मनमा घाउ पार्यो।
ढुंगा हान्ने ती आतंकी को हुन्? पीडितमध्येको एक मलाई अहिलेसम्म थाह छैन। राजनीतिक चरित्र हुन्थ्यो भने ती अज्ञात आतंकीले घटनाको नैतिक जिम्मा लिन्थे होला। सरकारलाई ढुंगा हान्ने को हुन्? जवाफ देउ? भनेर सोधुँ भने भद्दा मजाकजस्तै होला। यस्ता अज्ञात आतंक तराई-मधेसमा दिनदिनै चलिरहेछ। सरकार उपत्यका खाल्डोभित्र सत्ताको खालमा दत्तचित्त छ। खाल्डोको खाल छाडेर देश पुग्नु उसको प्राथमिकता हैन।
...
साँझ करिब साढे सात बजे यात्रु बोकेर राजधानी हिँडेको बसमा ढुंगा प्रहार भएपछि यात्रा अवधिभर तनाव भयो। ढुंगाले बसका सिसा फुटेपनि यात्रुलाई केही भएन। प्रहरी र यात्रु सबैले लखकाटे पक्कै आन्दोलनकारीले ढुंगा हानेका हुन्। केहीदिन पहिले नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरि मैनालीसँग कुरा गर्दा उनले मलाई सुनाएका थिए- सुनवलदेखि बासाबसही चोकसम्मको राजमार्गलाई निषेधित क्षेत्र तोकिएको छ। त्यही निषेधित क्षेत्रमा पर्ने सडकमा गुडेको यात्रुबसमा अन्धाधुन्धा ढुंगा हानिएको हो।
मैले मनमनमा सोँचे आन्दोलनकारीले के हासिल गर्न यात्रु बसमा रातिमा अन्धाधुन्द ढुंगा हाने होलान्? के त्यो बसमा उनीहरुको अधिकार खोस्ने शासकहरु सवार थिए? पक्कै थिएनन्। शासकहरु सार्वजनिक रात्रिबस चढ्दै चढ्दैनन्। उसोभए कसलाई बर्साएको ढुंगा? आन्दोलनकारीले जवाफ खोजून्।
बसमा अलग्गै प्रदेशका यात्रु थिए? वा सीमाङ्कनमा भाँजो हाल्नेहरु त्यो बसमा चढेका थिए? पक्कै थिएनन्। बसमा गुल्मी, पाल्पा, रुपन्देहीदेखि धनगढी र वीरगञ्जसम्मका यात्रु थिए। पहाडदेखि तराईसम्मका यात्रु थिए। ढुंगाले झ्याल फुटाउँदा सबैभन्दा चोट पाए रुपन्देहीका भीम यादवले। तराई-मधेसवादी आन्दोलनकारीले हानेको ढुंगा थियो भने त्यो ढुंगा यादवलाई किन लाग्यो? पहाडेको घुसपैठमा ढुंगा हानिएको थियो भने झ्यालको सिसा फुटेर गुल्मीका सुधिर पौडेललाई किन दाग्यो? कोही छ उत्तर दिने? जिज्ञासाले मेरो मनभारि भएको छ।
हिंसा हिंसा नै हो, त्यसको कुनै जात, धर्म, लिंग, वर्ग, वर्ण हुँदैन। भडि्कएर हिंसाको बाटो रोज्ने जो कोहीले बुझून् हिंसाले साधारण जनता, आफन्त र आफैँलाई पिर्छ। बाटो ढुकेर बसमा ढुंगा हानेर शासकलाई लाग्दैन। ढुंगाले पहाडे, थारु वा मधेसी चिन्दैन।
....
बासाबसही प्रहरी बिटमा केही प्रहरी थिए। चालक र कन्डक्टरले हतासिदै प्रहरीलाई घटना सुनाए। दुईवटा बाइकमा चारजना प्रहरी घटना भएतिर हुँइकिए। बिटमा रहेका बाँकी प्रहरीहरु भर्खर बाइकमा गएका साथीको चिन्ता गर्दै बारम्बार फोन गर्थे। अन्तिममा कोही भेटिएनन्। प्रहरी फर्किए। ढुंगा हान्नेहरु नभेटिए पनि गएका प्रहरी सकुशल फर्केकोमा मलाई सन्तोष लाग्यो।
बस अघि बढ्यो। कन्डक्टर फेरि चिच्याए, 'सबैले टाउको लुकाउनु है, यहाँपनि ढुंगा हान्छन्' यात्रु पहिलेजस्तै केही बसको गल्लीमा झरे। केही सिटमुनी छिरे। झोलाले झ्याल छेकेर केही सिटमै बसे।
चितवनसम्म आइपुग्दा यात्रुको मानसिकता यति त्रसित भइसकेको थियो कि बस रोक्न कन्डक्टरले ढोका पिट्दा पनि यात्रु झस्कन थाले। यो नियति केवल लु१ख ८६७७ नम्बरका बसका यात्रुको मात्र होइन। दुईहप्ता भन्दा बढी भयो अशान्त तराईका सडकबाट गुज्रने प्रत्येक यात्रुले यात्रामा तनाव भोग्दैछन्। अज्ञात समुहले बस जलाउँछन्, यात्रु लुट्छन्। अज्ञात आतंकको शिकार बनेको छ तराई–मधेश। तर तराई–मधेशको हरेक दिन, हरेक क्षणको कष्ट न आन्दोलनकारीले बुझे, न सरकारले नै। आफ्नै मुलुकमा टाउको लुकाएर कतिदिन हिड्नुपर्ने हो? नेपाली जनता सिर झुकाएर, सिर लुकाएर हिड्दैछन्। मलाई थाहछैन जनताको सिर झुकाएर कस्ले सिर उठाएको छ?
ढुंगा प्रहारबाट फुटेको बसको सिसा।
ढुंगा प्रहारबाट बच्न झोलाले झ्याल छेक्दै र सुरक्षाका लागि बसको गल्लीमा बसेका यात्रु।
प्रकाशित: १६ भाद्र २०७२ २३:३३ बुधबार