१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

संविधानलाई जनताको खुला पत्र

प्रियसी संविधान,
सुमधुर प्रतीक्षामा
तिमीलाई त्यहाँ कस्तो छ कुन्नि? मलाई थाहा भएन। मेरो त खै के हालखबर सुनाउँ तिमीलाई, बेहाल अवस्थामा छु। तिमीले धेरै सालदेखि आफ्नो अवस्थाबारे मलाई कुनै खबर गरेकी छैनौं। आजको सूचना तथा सञ्चारको जमानामा पनि न कुनै चिठी पठायौ, न त कुनै इमेल नै गर्यौज। तिमी त साँच्चिकै महानिष्ठुरी भएर निक्लियौ। के तिमीलाई मेरो कुनै पर्वाह छैन र? म यहाँ तिमीबिना ‘पानीबिनाको माछा' सरी छटपटाइरहेको छु। तिम्रो यादमा मलाई दिनमा भोक र रातमा निन्द्रा छैन। तिम्रै सम्झनाले म दिन/प्रतिदिन रोगी बन्दै गइरहेको छु।

तिमीलाई के थाहा? तिमीबिनाको मेरो देश, बेथितिको थुप्रो भएको छ। म बिरामीले थलिएको छु। मेरो परिवारका सारा सदस्य रोगी भइरहेका छन्। हाम्रो परिवारको मात्र के कुरा? मेरो देशका सारा गाउँ अनि सहरबासीहरू रोगाइरहेका छन्। हामी अभावरूपी १०४० को विषम ज्वरोले थलिएका छौं। भ्रष्टाचार र घुसखोरीरूपी क्यान्सरले ग्रस्त छौं। हाम्रो मातृभूमि जर्जर मरुभूमिमा परिणत हुन लागेको छ। तिमीले वास्ता नगरेपछि यो देश युद्धपछिको भयानक रणभूमि जस्तै लागिरहेको छ।

हुम्ली र जुम्ली दाजुभाइ तथा दिदीबहिनीहरू वर्षौंदेखि भोकमरीले कुपोषित छन्, तराईमा अन्न कुहिरहेका छन्। हेलम्बूमा स्याउ सडिरहेका छन् तर काठमाडौंमा एक किलो स्याउको मूल्य दुई सय पुग्न लागेको छ। कृषिप्रधान भनेर चिनिएको हाम्रो देशको ऊर्वर भूमिमा घर र हाउजिङ्ग उमि्ररहेका छन्। विदेशी हावापानीमा सुहाउने हाइब्रिड बीउ अनि नक्कली रासायनिक मलले देशको कृषिलाई विकासको नाममा खोक्रो बनाएको छ। देशको फस्टाउँदो पोल्ट्री फार्मिङ्ग बर्डफ्लु र स्वाइनफ्लुले धरासायी बनाइसकेको छ। उद्योगधन्दाको त के कुरा गरुँ? बिजुलीको अभावले सबै धमाधम बन्द हुने अवस्थामा छन्। यहाँ एक वर्षमा ३६५ दिनमा बत्ती ननिभेको कुनै दिनै हुँदैन। बिजुली बत्तीले सबैको हात बाँधिदिएको छ। ट्रेड युनियन अधिकारका नाममा चल्ने गरेका राजनीतिले क्रमशः उद्योगहरूलाई पतनतिर डोर्या्इरहेका छन्। यातायातको त झनै बेहाल अवस्था छ। राजधानीकै सुगम गाउँहरूमा पनि घण्टौं गाडी कुर्नुपर्ने बाध्यता अझ बाँकी नै छ। इन्धनको अभाव उस्तै छ। इन्धनको भाउ महिनामा तीन चोटी बढाउँदा पनि राम्ररी आपूर्ति हुन सकेको छैन।
सञ्चारको अवस्था उस्तै छ। सञ्चारको सुविधा नपुगेका गाउँहरू अझ प्रशस्त बाँकी नै छन्। पुगेकै ठाउँमा पनि चाहिएको बेला फोन लाग्दैन। लागिहाले पनि कुरा बुझिँदैन। एउटा कुरा भन्न तीन कल गर्नुपर्ने अवस्था छ।
शिक्षाको कुरा गर्नुपर्दा जतिसुकै मेहनत गरे पनि गरिबका सन्तानले राम्रो विषय लिएर पढ्ने अवस्था नै रहेन। बिहान खाएपछि बेलुका कसरी हातमुख जोड्ने भनेर चिन्तित बन्नुपर्ने जनताका लागि शिक्षा पहुँचभन्दा बाहिर जान थालिसकेको छ। शिक्षामा बढेको निजी क्षेत्रको होडबाजीले अनेक थरीका लोभलालचमा फसाएर शैक्षिक प्रतिष्ठानहरूले जनतालाई दुहुनो गाईभैंसी जस्तै दुहिरहेका छन्। गरिब जनताले खाइनखाई पसिना बगाएर शिक्षामा लगानी गरे पनि रोजगारीको कुनै टुंगो छैन। यहाँ शिक्षित बेरोजगारी दिनदिनै बढिरहेका छन्। उच्च शिक्षा अध्ययन गरेर पनि जनताका छोराछोरी सरकारको मुख ताकेर बस्न बाध्य छन्। शिक्षा व्यावहारिक कम सैद्धान्तिक बढी भइदिएकाले अधिकांश डिग्री बोकेकाहरू केही गरेर खान असमर्थ भएका छन्।
स्वास्थ्य क्षेत्रमा पनि निजी क्षेत्रकै हालीमुहाली भइसकेको छ। यहाँ नाफामुखी स्वास्थ्य प्रतिष्ठानहरूको कुनै अभाव छैन्। सेवामुखी स्वास्थ्य प्रतिष्ठानहरू त सोमालियाको बाघ डुब्लाएर बिरालो भएको कथा जस्तै भइसकेको छ। मेला गएर जीवन गुजारा चलाउन बाध्य जनता बिरामी पर्दा उपचार नपाएर मर्नुपर्ने बाध्यता छ। हामीसँग पखाला लाग्दा जीवनजलको एक घुट्कोसम्म खान नपाएर जीवन गुमाएकाका परिवारहरूको घाउ अझसम्म पनि आलै छ। देश विकासको सबैभन्दा महत्वपूर्ण पूर्वाधार भनेर चिनिएको सडक विकासको अवस्था पनि नाजुकै छ। जेठको अन्तिम अनि असारतिर बजेट सिध्याउने हिसावले सडक निर्माण गरिन्छन्। लाखौं करोडौं खर्च गरेर बनाइएका सडकहरूको कालोपत्र हप्तादिन वा महिना दिनमै भत्कन थाल्छन्। नभत्किए पनि खानेपानी, ढल निकास अनि दूरसञ्चारहरूले खन्न थाल्छन्। हाम्रो देशका सरकारी अफिस अनि संस्थानहरूमा तिम्रो अभावमा समन्वय हुन सकेका छैनन्।


तिम्रो अभावले जन्माएका समस्याहरूको कति वर्णन गरूँ। मलाई यहाँको विसंगति अनि विडम्बना, सम्झेर ल्याउँदा पनि कहाली लागेर आउँछ। यति धेरै समस्यामा देश जेलिँदा पनि हाम्रा नेता महोदयहरूका आँखा भने खुलेका छैनन्। यस प्रकार देशको हरेक क्षेत्रमा तिम्रो अभाव महसुस भइरहेको छ। तर अहिलेसम्म तिमी आउने कुनै छनक देखिएको छैन। वास्तवमा सबै राजनीतिक दलको उद्देश्य र सिद्धान्त जनताको कल्याण गर्ने नै हुन्छन्। तिनीहरूको आदर्शले जनताको सुनौलो अनि सुखद् भविष्यको परिकल्पना गरेको हुन्छ। ती दललाई नेतृत्व दिने व्यक्तिहरू र तिनका कार्यकर्ताको मानसिकताले व्यवहारमा फरक पर्न जान्छ। हाम्रो देश सानो र सुन्दर स्वर्ग जस्तै छ। यहाँका दलको नीति, सिद्धान्त र उद्देश्य पनि पवित्र छन्। तर अफशोच, एउटा सबल, ओजस्वी, आदरणीय, सर्वमान्य, सर्वप्रिय, सर्वपूजनीय नेतृत्वको कमी छ। त्यस्तो नेतृत्व तिमीले जन्माउनेछ्यौ भन्ने आशामा छु। तिम्रो न्यानो आलिङ्गनको कल्पनामा म रमाइरहेको छु। तिमीले नै मलाई एउटा स्पष्ट मार्गदर्शन अनि उत्प्रेरणा दिन सक्छ्यौ। त्यसैले अब मलाई धेरै तड्पाएर दुःख नदेऊ। तिमी त्यहाँ खाना खाएर यहाँ चुठ्न आऊ।
उही तिमीलाई अति माया गर्ने
नेपाली जनता।

प्रकाशित: ८ वैशाख २०७२ २३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App