यतिबेला शहरजस्तै दुर्गमका गाउँहरू पनि कोरोना करहरले आक्रान्त बनेका छन्। स्थानीय तहका शासकहरू मुर्झाउनुपर्ने बेला सुस्ताएका छन् भने केन्द्र र प्रदेशका शासकहरू लाज र शरम पचाएर राजनीतिको काँचो खिचडी पकाउन व्यस्त छन्। आफूले भोट दिएर राज्य संचालनका लागि पठाएकाहरू विपदका बेला पनि सत्ताका पछाडि भागदौड र नौटङ्की गर्न थालेपछि जनस्वास्थ्य झन् बढी अस्तव्यस्त बनेको हो।
जिल्ला जिल्लामा यतिबेला न अक्सिजन छ न त पिसिआर परीक्षण छ। दुर्गमका अस्पतालमा आइसियु र भेिन्टलेटर त छैन नै सामान्य शय्याको समेत संकट छ । त्रिपाल टागेर बिरामी सुताइएको दृश्य संचार माध्यम र सामाजिक संजालमा देखेका राज्य संचालकहरू फगत सत्ताकै खेलमा अनवरत दौडिरहेका छन्। त्यसो त अलि कम खर्चिलो मानिएको एन्टिजेन परीक्षण गर्न समेत राज्य चुकिरहेको छ। पहाडी जिल्लामा पिसिआर परीक्षणको नतिजा आउँदासम्म बिरामीको मृत्यु भइसकेको हुन्छ या त उसले धेरैलाई रोग सारिसकेको हुन्छ भने कोही त्यतिन्जेल निको समेत हुने गरेका छन्।
थोरै संख्यामा रहेका हाम्रा अस्पतालहरूमा जनशक्ति अभावसँगै आवश्यक भाैितक सुविधा र उपकरणहरूको अभाव खड्किन थालेपछि तिनै शासकले खाने सेवा सुविधाका लागि कर तिर्ने स्थानीयहरू आफैं र्जुमुराउन थालेका छन् । सहज राज्य संचालनका लागि गाँस काटेर कर तिरेकाहरू आफ्ना छिमेकी बचाउन फेरि आर्थिक लगानी गर्दैछन्। जिल्लाको एक मात्र अस्पताल रोल्पा अस्पतालमा भर्ना भएका बिरामीले अक्सिजन समेत नपाउने भएपछि जिल्ला जिल्लामा स्थानीय युवाहरूले आफ्नै पहल र लगानीमा अक्सिजन भित्र्याइरहेका छन्।
महामारीसँग जुझ्नका लागि सरकारी संयन्त्र निकम्मा भएपछि रोल्पामा मात्र नभएर छिमेकी जिल्ला दाङमा आइसोलेसन संचालनका लागि व्यक्तिगत घर दिनुका साथै मनकारीहरूले ‘कोरोना बिरामीका लागि पौष्टिक आहार’ अभियान नै थालेका छन्। रोल्पा र दाङमा जस्तै देशैभरि धेरै युवाहरू स्वयम्सेवामा निरन्तर खटिरहेका छन्। तर राजनीति गर्नेहरूले उनीहरूको गतिविधिलाई ‘खोक्रो प्रचारबाजी र नामका लागि गरेको देख्ने गर्दछन् ।
‘आफ्नै घर गाउँका दाजुभाइ, दिदीबहिनी अक्सिजनको अभावमा अस्पतालमा मृत्यु कुर्ने अवस्थाको अन्त्य गर्न हामी आफैंले पहल गरेका हौ ।’ अक्सिजन आपूर्तिका लागि पहल र लगानी गरिरहेका ‘परिवर्तनका लागि प्रयास समूह’ रोल्पाका बालकृष्ण सुवेदी भन्छन् ‘राज्य संचालकलाई राजनीतिको खेलमा पुर्सद छैन । समग्र स्थनीय तहलाई जनस्वास्थ्यमा त्यति धेरै चासो छैन। सास नै फेर्न नपाएर कोही मर्न नपरोस् भन्ने हामीलाई लागेको हो ।’ उनीहरूले अहिले अस्पतालका लागि आफ्नै खर्चमा अक्सिजन रिफिल गरिरहेका छन्।
उता छिमेकी जिल्ला दाङमा एक थरीले बिरामीका लागि अक्सिजन, पौष्टिक खाना जोहो गरिरहेका छन् भने जिल्लामा दैनिक मृत्यु बढिरहेको अवस्थामा घाटमा मलामी र दाउरा नभएपछि केही युवा काठको व्यवस्थापनमा लागिरहेका छन् । दाउरा संकट देखेपछि बबई किनारमा व्यवसाय गर्दै आएका स्थानीय देवीराम कुसारीले घाट तथा दाउरा व्यवस्थापन समिति बनाएर दाउरा जुटाउने अभियानमा लागिरहेका छन्। अहिले त्यहाँ घाटमा दाउरा अभाव छैन।
संरचना हाँक्ने जिम्मा पाएका आधिकारिक प्रतिनिधिहरूको दैनिक देखिने र सुनिने गतिविधिले देशैभरका सर्वसाधारणहरूलाई आफ्नै नेतृत्व निल्नु न ओकल्नु भएको हो। पटकपटक लाशमाथि राजनीति गर्न भ्याउने उनीहरूका भाषण सुन्न निःशुल्क सयौं गाडीको लस्कर लगाउने उनै नेतृत्वले बिरामी बोक्ने एम्बुलेन्सको जोहो गर्न नसक्दाको पीडाले जनताको मन कुँडिएको छ । आगामी चुनावमा भोट माग्नका लागि बाटो बुझेको उनीहरू लाज पचाएर फेरि पनि दैलोसम्म आउने निश्चित भने छ ।
आफन्तीको शव सेनाको जिम्मा लगाएर अन्त्येष्टि गरिएको दृश्य हेर्न बाध्य नेपालीलाई अब महामारीका कारण मर्न नपरोस् भन्ने वातावरण सिर्जना गर्नुको साटो समवेदना समेत दिन कन्जुस्याइँ गर्ने नेतृत्वले अब जनताको वितृष्णा हैन माया र सम्मान पाउने गरी काम गर्नुपर्छ ।
प्रकाशित: ९ जेष्ठ २०७८ ११:३५ आइतबार