१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
ब्लग

कमलरीको पीडा कसले बुझ्ने ?

मुक्त कमलरीहरु यति बेला राजधानी केन्द्रीत आन्दोलन गरिरहेका छन्। नलडिकन अधिकार पाइँदैन भन्ने कुरा उनीहरुले राम्रोसँग बुझेका पनि छन्। त्यही भएर उनीहरु मुक्तिको माग गर्दै राजधानीमा धर्ना बसिरहेका छन्। धर्ना विथोल्न प्रहरीलाई झरीले पनि साथ दिएको छ। रत्‍नपार्कमा दुई दिन धर्ना बसेका उनीहरुले तेस्रो दिन सिंहदरवार दक्षिण गेट घेर्ने योजना बनाए। हनुमानथान हुँदै गएका उनीहरुले निषेधित क्षेत्र तोड्न पाएनन्। उनीहरु हनुमानथानमै रोकिए। प्रयास नगरेका हैनन्। तर बाक्लो झरीले उनीहरुलाई निरास बनायो।




उनीहरु हरेस खाएनन्। बाक्लो झरीको प्रवाहै नगरी राज्यविरुद्ध कडा नाराबाजी गरे। हस्तक्षेप गर्न खोजेका प्रहरीलाई चप्पल देखाउँदै उनीहरुले विरोध जारी राखे। त्यतिमात्र हैन प्रहरीविरुद्ध उनीहरुले सिटी फुकेरै विरोध जनाए। दक्षिण गेट पुग्न अझै उनीहरु प्रयासरत देखिन्थे। तर निथ्रुक रुझेका उनीहरुको प्रयास विफल भए।

झरीमा रुझेका पाँच जना कमलरी बिरामी परे पनि उनीहरु निरास भएका छैनन्। चौथो दिन पनि शान्तिवाटिकामा धर्ना जारी राखेका छन्। राज्यको यस्तै ताल रहे भोकहड्ताल गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन्। अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको मन जितेकी बर्दियाकी मुक्त कमलरी सुमा थारु पनि बिरामी परेकी छन्। बुधबारको कुराकानीमा उनले भनेकी थिइन्- विदेश हेर्न त पाइयो सर, तर जीवनमा कुनै परिवर्तन भएन। त्यही कारणले राज्यसँग अधिकारी माग्न अन्य सहपाठीसँगै राजधानी आएकी हुँ।

बिहीबार उनीहरु झरीमा नारा लगाउँदै गर्दा ऐक्यबद्धता जनाउन पुगेका आदिवासी जनजातिका महासंघका नेताहरु भने चिया पसलमा गफिँदै थिए। सत्तामा रहेका थारु नेताहरुले आफ्नो समुदायमा केही नगरेको आरोप लगाउन खप्पिस राजकुमार लेखी पनि आन्दोलनमा भन्दा चियाको चुस्कीमा रमाइरहेका देखिन्थे। सायद् मिडियाको शून्य उपस्थिति देखेर होला उनीहरु झरीमा रुझ्न चाहेनन्। यदि उपस्थिति बाक्लो हुँदो हो त तिनीहरुका लागि झरी के नै थियो र! राजनीतिक भाषण र टिभीमा अनुहार देखाउनलाई भए पनि उनीहरु रुझेर कमलरीसँगै नाराबाजी गर्थे।

त्यतिमात्र हैन। कमलरीको आन्दोलनमा थारु कल्याणकारिणी सभा, आदिवासी जनजाति महासंघ, थारु विद्यार्थी समाज र अन्य ठूला पार्टीमा आबद्ध थारु नेताहरुले ऐक्यबद्धता जनाएका छन्। तर धर्नामा भने कसैको उपस्थिति नदेखिने सहभागीहरुले बताए। आए पनि रजिस्टरमा उपस्थिति जनाउँदै उनीहरु बाटो लाग्ने गरेको सहभागीहरु बताउँछन्। एमाओवादीका पूर्व सभासद् सुकदैया चौधरीले आफ्ना भनाइ मिडियामा नआएकोप्रति आयोजकलाई गुनासो पोख्दै थिइन्। आखिर उनी माननीय न परिन्। निश्चितरुपमा उनले बुझ्नुपर्ने कुरा के हो भने- उनी आफैं पूर्व कमलरी हुन्। मिडियालाई भन्दा कमलरीका मुद्दालाई कसरी अगाडि बढाउने सोच्नुभन्दा ती माननीयलाई टिभीमा अनुहार देखाउन हतरो छ।  

तिनीमात्र हैनन्। थाकस उपत्यका समितिका पदाधिकारी, नामोनिसान नरहेको थारु विद्यार्थी समाज र थरुहट तराई पार्टी नेपालका पदाधिकारीहरु पनि यसप्रति खासै चासो लिएको देखिँदैन। त्यसो त थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुले पनि ऐक्यबद्धतामा हस्ताक्षर गरेका छन्। आजमात्रै पहिलो हस्ताक्षरका रुपमा पार्टीका वरिष्ठ नेता गोपाल दहितले हस्ताक्षर गरे। तर हस्तार गरेर हुनेवाला केही छैन भन्ने कुरा तिनी स्यवंले बुझेका छन्। त्यसैले थारु सम्बद्ध नेता-कार्यकर्ता, विद्यार्थी, बुद्धिजीवीको साथ बिना मुक्त कमलरीका मागलाई सरकारले सम्बोधन गर्नेछैन। मुक्तिको घोषणाका लागि डेढ घन्टा रुझेर नाराबाजी गरेका कमलरीलाई हाम्रो साथले कुनै न कुनै दिन बालुवाटार छिरेका खिलराज रेग्मीको कानमा कसो नपुग्ला र!

प्रकाशित: १७ जेष्ठ २०७० ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App