८ वैशाख २०८१ शनिबार
ब्लग

भूकम्पपछि पुनर्निर्माणको क्षेत्रमा सरकारी भवन र स्वास्थ्य चौकीको अवस्था

विनाशकारी भूकम्पले काभ्रेपलाञ्चोक जिल्लामा झण्डै ५ दर्जन सरकारी कार्यालयमध्ये ११ वटा कार्यालयका भवनमा क्षति पुगेको सम्बन्धित विभागीय इन्जिनियर प्रदीप बस्नेतले बताएका छन्। जिल्ला आयोजना कार्यान्वयन इकाईका इन्जिनियर बस्नेतका अनुसार क्षतिग्रस्त भवनहरुमध्ये रेशम खेती र मसला बालीको भवन पुनर्निर्माणभित्र परेका छन्। अन्य भवनहरु भूकम्प आउनु अगावै सरकारी निर्णय अनुसार पुननिर्माणका लागि छनौट भइसकेका र कतिपय भवनको टेण्डर प्रक्रिया समेत अगाडि बढिसकेको अवस्थामा ति भवनहरुमा भूकम्पले क्षति पु-याएको हो। त्यसका कारण काभ्रेका क्षतिग्रस्त भवनहरु प्रायः पुननिर्माणमा नपरेको इन्जिनियर बस्नेतले बताएका छन्।

यसरी विनाशकारी भूकम्पमा परेता पनि पुननिर्माणभित्र नपरेका तर नयाँ निर्माण भएका भवनहरुमा जिल्ला प्रशासन कार्यालय कृषि तथा पशु कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजश्व कार्यालय र स्वास्थ्य कार्यालय छन् भने रेक्ट्रोफिटिङ्गमा परेका कार्यालयहरुमा वन कार्यालय परेता पनि उक्त भवन द्वन्द्वकालदेखि नै नेपाली सेनाले उपयोग गर्दै आएकोले नेपाली सेना आफैंले रेक्ट्रोफिटिङ गरी प्रयोग गरिरहेको छ। हाल वन कार्यालयको सेवा, भू–संरक्षण तथा जलाधार कार्यालयको भवनबाटै सेवा प्रदान गरिरहेको हँुदा त्यसको कुनै क्षतिको सम्बोधन हुन नपरेको इ. बस्नेतले बताउनुभएको छ। त्यस्तै रेक्ट्रोफिटिङ्ग गर्नै पर्नेमा शैक्षिक तालिम केन्द्र र मसला बालीका भवनहरु छन् भने रेशम खेतीको कार्यालय सञ्चालनमै अन्यौलता भएकोले उक्त भवन पुननिर्माण हुने नहुने सुनिश्चितता नभएको बताइएको छ।  

यस जिल्लामा एउटा १५ शैयाको अस्पताल (मेथिनकोट अस्पताल) जसलाई प्रदेश स्तरीय बनाउने योजना हालै प्रदेश सरकारले घोषणा गरेको छ। ४ प्राथमिक स्वास्थ्य केन्द्र, २५ स्वास्थ्य चौकी र ६४ वटा उप स्वास्थ्य चौकी गरी ९४ स्वास्थ्य संस्थाबाट प्रतिकारात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक सेवा प्रदान गरिदै आएको छ। जिल्ला स्वास्थ्य कार्यालयबाट खोप कार्यक्रम, पोषण कार्यक्रम, एकिकृत बालरोग व्यवस्थापन कार्यक्रम, नवजात शिशु स्याहार कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, परिवार नियोजन कार्यक्रम, महिला स्वास्थ्य स्वयं सेवक कार्यक्रम, गाउँघर क्लिनिक कार्यक्रम, औलो रोग नियन्त्रण कार्यक्रम, क्षयरोग नियन्त्रण कार्यक्रम, कुष्ठरोग निवारण कार्यक्रम, हात्तिपाईले रोग निवारण कार्यक्रम, एच.आई.भि.एड्स तथा यौन जन्य रोग नियन्त्रण कार्यक्रम, दैनिक विरामी जाँच तथा निशुल्क स्वास्थसेवा, शहरी स्वास्थ्य सेवा, आपर्ति व्यवस्थापन कार्यक्रम आदि प्रकारका सेवा संचालन हुँदै आईरहेको छ। यो सेवा संचालनका लागि यस जिल्लामा ३ सय ६ गाउँघर क्लिनिक, ३ सय ३२ खोप क्लिनिक तथा ९ सय ८० महिला स्वास्थ्य स्वयं सेविकाहरु रहेको उल्लेख छ।

यस जिल्लामा निजी क्षेत्रवाट सञ्चालित दुई ठुला अस्पताल धुलिखेल सामुदायिक अस्पताल तथा शिर मेमोरियल अस्पतालबाट पनि उपचारात्मक साथै जनस्वास्थ्यका कार्यक्रम खोप, सुरक्षित मातृत्व, परिवार नियोजन लगायतका सेवा प्रदान गर्दै आएका छन्। परिवार नियोजन संघ बनेपा, परिवार कल्याण केन्द्र पाँचखाल, मेरी स्टोप्स सेन्टर बनेपा, मेरी स्टोप्स सेन्टर पाँचखाल, आई.सि.डि.नेपाल बनेपा, हामी महिला बनेपा, समाज सेवा समुह महादेवस्थान आदि गैरसरकारी क्षेत्रबाट संचालित संस्थाहरुबाट पनि स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्। यसैगरी काभ्रेपलाञ्चोक जिल्लामा कृष्ण प्रसाद अस्पताल बनेपा, एच.आर.डि.सि. बनेपा, स्पाईनल ईन्जुरी पुनस्थापन केन्द्र, बनेपा अस्पताल बनेपा, सत्य साई अस्पताल वनेपा, भैरव अस्पताल पनौती, एम.एन्. पोलिक्लिनिक पनौती, के.वि. पोलिक्लिनिक बनेपा, पाँचखाल पोलिक्लिनिक पाँचखाल आदि संस्थाहरु काम गरिरहेका छन्। उल्लेखित स्वास्थ्य संस्थाहरूमा मानव संसाधनको उपलब्धता ८१.८ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ।

काभ्रेपलाञ्चोक जिल्लामा ३७ वटा स्वास्थ्य चौकीकबो पुर्ननिर्माण भइरहेको छ। जसमा जिल्लाका ७ वटा स्वास्थ्य चौकी अति सुविधा सम्पन्न पक्की भवनका रुपमा स्थापित भएका छन्। जसमा आवश्यकता परेको खण्डमा १५ शैयाको अस्पताल समेत सञ्चालन गर्न सकिने पूर्वाधार सहित बनेको छ। जुन भवनहरु टि.डि.एच.को सहयोगमा पुननिर्माण भएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ। जसअन्तर्गत पनौती नगरपालिका वडा नं. ३, कुशादेवी, खार्पाचोक, सल्लेभुम्लु, भुम्लुटार, फलाँटे, सापिङ र माझिफेदा रहेका छन्। यि भवन निर्माणका बारेमा कहिँकतैबाट कुनै किसिमको आलोचना नआएको सम्बन्धित निकायहरुले बताएका छन्। तर नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको अनुगमनमा निर्माण भएका ३० वटा प्रिफेब भवनका बारेमा स्वयं स्वास्थ्यकर्मी र रेडक्रमप्रेमी लगायत तत्कालिन राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखको चर्काे विरोध र असन्तुष्टि रहेको छ।

आफूलाई स्वास्थ्य सहयोग समितिका उपाध्यक्ष रमेश चौलागाईंको भनाइमा रेडक्रस जस्तो मानवीय संस्थामा अनियमितता भित्रिनु दुःखद पक्ष हो। स्वास्थ्य संस्था निर्माणका नाममा भएका क्रियाकलाप अत्यन्तै गैरजिम्मेवारीपूर्ण भएको उनले बताए। प्रिफेबका जोइनहरु फाटेका छन्।  भित्रका सामानहरु कवाडीमा परिणत भएका छन्। यो स्वास्थ्यचौकीमा प्रयोग भएका कुनै पनि सामानहरु ब्राण्डेड नभएको उपाध्यक्ष चौलागाईले बताए। ८०/८५ लाखमा बनेका यि भवनहरुको दर्दनाक अवस्था हेर्दा मन थामिँदैन। बजारमा ३ सयदेखि ४ सय प्रति मिटर पर्ने कार्पेटको बिल ४ हजारको बनेर आएको देखेपछि आफूले आपत्ति प्रकट गरेको चौलागाईंको तितो टिप्पणी छ। विरोध त जनाएँ । तर कारवाही कहिँकतैबाट भएन। यो त एउटा अनियमितताको प्रतिनिधि पात्र मात्र हो।  

रयाले स्वास्थ्यचौकीका इन्चार्ज विष्णुहरि सापकोटाले यो अनियमिताको विषयमा कुरा गर्नै छाडेको बताए। “पानी परेपछि पानी बाहिर जाँदैन, शौचालयमा ढोका बन्द गरेर शौच गर्न सकिँदैन, प्रिफेबका जोइनहरु टुटिसकेका छन्। ठाउँ ठाउँमा टेको लगाएर गुजारा टार्दैछौं, सापकोटाले भने।  

अनमी. जानुका अनुसार निर्माण भएका भवनमा स्वास्थ्यको मापदण्ड रतिभर मनन् गरिएको छैन। असुरक्षित संरचना र असुरक्षित स्थानमा बनेको छ कमजोर संरचनाभित्र अनियमितता भए या भएनन्। त्यसतर्फ जाने विषय हाम्रो होइन। तत्कालिन समयका सरोकारवाला निकायले यसको जवाफ दिनुपर्ने उनले बताए।

यता काभ्रेपलाञ्चोक जिल्लाभरिकै सबैभन्दा बढी भूकम्पबाट मानवीय तथा भौतिक क्षति व्यहोरेको मण्डनदेउपुर नगरपालिकाका स्वास्थ्य इकाई प्रमुख दिपक घिमिरेका अनुसार स्वास्थ्य चौकी भवन ३ वर्षको अवधिमा झण्डै ३ पटक मर्मत भएको छ।  

असन्तुष्टिका बाबजुद बनेका स्वास्थ्यचौकीहरुमा फलामेटार, वाल्टिङ, घर्तिछाप, रविओपी, महेन्द्रज्योति, रयाले, चण्डेनीमण्डन, खरेलथोक, ज्याम्दी, पोखरीचौंरी, गोठपानी र सानो वाङ्थली रहेको नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले जनाएको छ।  

नेपाल रेडक्रस सोसाइटीको समन्वयमा निर्माण भएका भवनहरुका बारेमा राष्ट्रिय अनुसन्धान कार्यालय काभ्रेका तत्कालिन प्रमुख अनुसन्धान अधिकृत हरिश्चन्द्र श्रेष्ठले ३ वर्ष अघि नै प्रमुख जिल्ला अधिकारी समक्ष निर्माणको सवालमा प्रयोग भएका गुणस्तरहिन सामग्रीका साथै प्रविधिका बारेमा जानकारी गराएका थिए। प्राविधिकले समेत कमी कमजोरी भएको स्वीकारेको तथ्य ओझेलमै रह्यो। यस्तो गम्भीर त्रुटि गरिरहँदा पनि हाम्रो त के कुरो, प्रमुख जिल्ला अधिकारी समेत नाजवाफ बन्ने अवस्था आउनुले यसभित्रको अनियमितता कति होला ? कस्तो होला ? सोचनीय विषय पक्कै बनेको श्रेष्ठले बताए।

रेडक्रसका बारेमा व्यापक आलोचना आएपश्चात् नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामा सम्पर्क राख्दा हालको नेतृत्व र प्रशासन फाँटबाट सो बारेमा आफूहरु अनविज्ञ रहेको बताए। त्यो योजनासम्बन्धी कुनै कागजात जिल्ला शाखामा नभएको प्रशासक त्रिरत्न राजवाहकले बताए। तत्कालिन रेडक्रस जिल्ला शाखा मन्त्री मन्त्री उद्धव पौडेलसँग सम्पर्क राख्दा हाम्रो दायित्व अनुगमन गर्ने मात्रै हो। यो सबै योजना केन्द्रबाट नै सञ्चालित भएको हो। टेण्डर प्रक्रियादेखि बजेटिङ्गसम्मको काम केन्द्रले नै गरेको हुनाले यसमा थप जानकारी नभएको बताए।  

काभ्रेमा पुर्ननिर्माण भएका ३० वटा मध्ये १२ वटा स्वास्थ्यचौकी नेपाल रेडक्रस सोसाइटीको समन्वयमा कोरियन रेडक्रसको आर्थिक सहयोगमा बनेका हुन्। बाँकीमध्ये ४ वटा टि.डि.एच.को आर्थिक सहयोग, ४ वटा आद्रा नेपालको सहयोग र १० वटा युनिसेफको सहयोगमा बनेका हुन् भने होक्सेमा रहेको स्वास्थ्यचौकी नेपाली सेनाले बनाएको हो। बाँकी रहेका १३ वटा स्वास्थ्यचौकीमध्ये ६ वटा स्वास्थ्यचौकी जग्गा भवन अभावको कारण तत्कालिन अवस्थामा बन्न सकेका थिएनन्।

सहभागी समग्रको प्रस्तुतीले जिल्लाको प्रतिनिधित्व गरेको महसुस हुन्छ। प्रायः जिल्लाका १३ वटै स्थानीय निकायसँग यस बारेमा संवाद नभएको होइन। सबैको राय उस्तै उस्तै भएकोले प्रतिनिधिमूलक ढंगबाट उहाँहरुलाई संवादमा समावेश गरिएको हो। यसबाट के पुष्टि हुन्छ भने मानवीय संस्थाका रुपमा स्थापित रेडक्रस जस्तो गरिमामय संस्थामा बसेर अनियमिततामा मुछिनु उचित होइन्।  

काभ्रेपलाञ्चोक जिल्लामा विनाशकारी भूकम्पपछि सरकारी भवन र स्वास्थ्यचौकी पुननिर्माणमा देखिएको उदासिनताले समग्र पुननिर्माणलाई गिज्याइरहेको महसुस हुन्छ। यो अवस्थालाई मनन गर्ने हो भने पक्कै पनि पुननिर्माणको क्षेत्रमा पारदर्शी ढंगबाट काम भएछ भन्ने आधार भेट्न मुश्किलै रहेको प्रस्तुत अभिव्यक्तिहरुले पुष्टि गर्दछ। 

प्रकाशित: १२ मंसिर २०७७ ०५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App