१० कार्तिक २०७७ सोमबार
ब्लग

मान्छे ‘छुन नहुने’ कसरी हुन्छ?

महिनावारी मुद्दा आजको समाजमा जति बलियो ढंगले उठेको छ, उति नै यो धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा चुनौतीपूर्ण पनि बनेको छ। देश र परिवेशअनुसार महिनावारीका बेला गरिने व्यवहार र अभ्यास फरक भए तापनि नेपालको सन्दर्भमा यो एउटा गहन र जटिल मुद्दा बनेको छ। परम्परादेखि नै महिनावारीलाई अपहेलित दृष्टिले हेरिने गरिएका कारण अहिलेको आधुनिक समाजको मानसिकता पनि बदल्न निकै गाह्रो भइरहेको छ।  

जबसम्म महिनावारीलाई गरिने सम्बोधन (शब्द) बदल्न सकिँदैन, तबसम्म त्यसविरुद्ध हुने विभेदकारी व्यवहारमा पनि परिवर्तन आउन सक्दैन।

महिनावारीका सन्दर्भमा खासगरी विभिन्न धर्मशास्त्रले जनमानसमा नकारात्मक धारणा सिर्जना गरेका छन्। गरुढ पुराणदेखि स्वास्थानी व्रतकथासम्मले मानिसलाई महिलाप्रति अमानवीय व्यवहार गर्न उक्साएका छन्।  

हुन त यसबीच जनचेतनामूलक कार्यक्रम पनि व्यापक मात्रामा भइरहेका छन्। छाउगोठ भत्काउनेदेखि महिलालाई विभेद गरेमा दण्ड दिनेसम्मका नियम/कानुन पनि बनेका छन्। तर ती व्यवहारमा कतिको पालना/कार्यान्वयन भइरहेका छन् त? नियाल्न जरुरी छ।  

वास्तवमा महिनावारी हुँदा  ‘छुन नहुने’ डरको मानसिकता अझै परिवर्तन हुन सकेको छैन। जबसम्म महिनावारीलाई गरिने सम्बोधन (शब्द) बदल्न सकिँदैन, तबसम्म त्यसविरुद्ध हुने विभेदकारी व्यवहारमा पनि परिवर्तन आउन सक्दैन। यो यथार्थता अहिले हामी समाजमा देख्न सक्छौं।  

जस्तो : महिनावारी हुँदा भन्ने गरिन्छ– फलानो पर सरेकी छ, म नछुने भएकी छु। जब हामी आफैं नछुने भएकी छु, छुुन हुँदैन भन्छौं, तब थाहै नपाई विभेदलाई स्वीकार गरिरहेका हुन्छौं। महिनावारी जनाउने शब्दावली नै यस्तो छ कि जसले महिनावारीप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउनै सक्दैनन्।  

यस्ता नकारात्मक शब्दालीबाट एउटी बालिकाले पहिल्यै के स्वीकार गर्छिन् भने भोलि म पनि आमा, दिदीहरूजस्तै ‘नछुने’ हुने रै’छु। उनमा पर बस्नुपर्ने, छुन नहुने कुरा स्वाभाविक हुन् भन्ने मनोविज्ञान विकास हुन्छ। 

तसर्थ सर्वप्रथम महिनावारीका लागि समाजमा प्रचलित शब्दावली नै भेदभावपूर्ण छन्, जसले महिलालाई हतोत्साही बनाउँछन्। महिनावारीलाई गरिने सम्बोधन हाम्रो मुलुकका ठाउँ, गाउँ र समुदायअनुसार भिन्नभिन्न छन्, तर ती सबै शब्दावली महिलालाई हीनताबोध र मनोवैज्ञानिक रूपमा कमजोर बनाउने खालका छन्।  

महिनावारीका बेला छाउगोठमा बस्नुपर्ने, छुटै भाँडामा खाने अभ्यास मात्रै होइन, एउटै घरभित्र बसिए पनि यसप्रतिको सोच र व्यवहार केलाउन कठिन छ।  

महिनावारीमा गरिने विभेद अन्त्यका लागि विभिन्न अभियान सञ्चालनमा छन्। तर पनि महिनावारीसँग जोडिएका अन्धविश्वास र मनोवैज्ञानिक भय समाजबाट हट्न सकेका छैनन्। भान्छाबाट पर बस्ने, भगवानसँग डराउने, पितृसँग त्रसित हुने मानसिकता यथावत् नै देखिन्छ।  

सफासुग्घर भई घरभित्रै बस्नुपर्ने बेलालाई पर सरेको भन्दै अलग्गै राखिन्छ। खाना खाने भाँडादेखि सुत्ने ओछ्यानसम्म छुटयाइन्छ। ‘नछुने’ भएको भन्दै कुनै चिज छुन दिइँदैन। त्यति मात्र होइन, महिनावारी भएकी महिलाले कुनै पुरुषलाई छोएमा त उसलाई सुनपानी छर्केर जनै नै फेराइन्छ। प्राकृतिक र स्वाभाविक प्रक्रियाप्रति यति धेरै डर÷त्रास पैदा गराइएको छ कि मानौं, महिनावारी अभिशाप नै हो।  

महिनावारीलाई सही ढंगले बुझिदिए र भेदभावपूर्ण व्यवहार नगरिदिए मात्र पनि यो समाजमा महिलाको स्थान र मनोबल कति उच्च हुन्थ्यो होला! शारीरिक बनावटप्रति हीनता होइन, गर्व गर्ने वातावरण बन्थ्यो होला। तर यहाँ त महिनावारीलाई महिला दबाउने हतियार बनाइएको छ।  

अर्को एउटा पक्ष छ, जसले गर्दा पनि महिनावारीलाई भेदभावरहित बनाउन सकिएको छैन। त्यो हो– आफ्नो भोगाइ र सिकाइअनुसारै नयाँ पुस्ताले पनि मान्नुपर्छ भने सोच। आफूले कति जतनसाथ जोगाएको संस्कृतिलाई नयाँ पुस्ताले बिगारिदिए भन्दै आफ्नै भोगाइ थोपरिन्छ। कसैले यसो गर्नु ठीक होइन, वैज्ञानिक छैन भनेर कुरा उठाएमा उसलाई परिवारदेखि समाजसम्मै बहिष्कार गरिन्छ। धर्म–संस्कृति नास गरेको आरोप लगाइन्छ। त्यतिले मात्र नपुगेर सामाजिक सञ्जाल प्रयोग गरी गाली गरिन्छ।  

भान्छाबाट पर बस्ने, भगवानसँग डराउने, पितृसँग त्रसित हुने मानसिकता यथावत् नै देखिन्छ। 

मान्छे छुन नहुने कसरी हुन्छ? मान्छे हो, विष त होइन नि? त्यसैले सर्वप्रथम महिनावारीका लागि प्रयोग गरिने जति पनि नकारात्मक शब्द, शब्दावली छन्, तिनलाई हटाउन जरुरी छ। जसले गर्दा बालबालिकामा महिनावारीप्रति विभेदकारी मनोविज्ञानको विकास हुन नपाओस्।  

एमफिल,  समाजशास्त्र (कीर्तिपुर विश्वविद्यालय, काठमाडौं)

प्रकाशित: १३ आश्विन २०७७ १५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App