८ मंसिर २०८१ शनिबार
image/svg+xml
ब्लग

‘माथि’को आदेश हो हजुर !

पट्यार लाग्दा दिनहरुका पाना एक पछि अर्को गर्दै पल्टिरहेका थिए । कोठाबाट निस्क बरण्डामा आऊ । एकछिन बस फेरि कोठामै पस । अनौठो र विचित्रको दैनिकी । तर आजको माहोल भने अलिक फरक खालको थियो । काका मसँग हुनुहुन्थ्यो । प्राकृतिक छटाहरुको विचरणमा हामी व्यस्त थियौं । ‘अब त चाडपर्व नि सुरु हुन थाल्यो । मान्छेको जमघटले कोरोना झन बढ्ने होला नि अहिले त यस्तो छ अझ यो चाडपर्वपछि त के हालत हुने हो ?’ चियाको चुस्किसँगै यस्तै–यस्तै गफमा व्यस्त भएको बेला एउटा दृष्यले हाम्रो ध्यान आकृष्ट गरायो ।  

घरकै अगाडि पुलिसको जमघट । चाडपर्वको बेला मान्छेहरुको बढि आउजाउ र भीडभाड होला भन्ने चिन्ताले होकि आज एकाबिहानैदेखि पुलिसहरु ओहोर दोहोर गरिराखेको देख्छु । काका र म बरण्डामा बसेर यो दृष्य नियालिरहेका छौं । गाउँको  कच्ची अनि हिलाम्मे मोटर बाटोको छेउको घर । हतार हतार दौडिरहेको सेतो नम्बर प्लेटको गाडी पानी जमेको खाल्डोमा पर्छ । गाडीको पाङ्ग्रा खाल्डोमा परी छ्यापल्याङ्ग हुँदा खाल्डोबाट हुत्तिएको हिलो पानीले छ्यापिएर कमेरोले पोतेको घरको सेतो भित्तो क्षणभरमै खैरो बन्छ । 

यो दृष्य हेर्दा लाग्थ्यो त्यो गाडीमा सवार व्यक्तिहरु पहिलेकै व्यस्त जीवनमा छन् । उनीहरुलाई दायाँबायाँ हेर्ने फुर्सद छैन । उद्घाटन गर, रिवन काट को पहिलेको जस्तो बेफुर्सदिलो जीवनशैली मै छन् जस्तो लाग्ने । आज त शनिबार अफिस पनि हुनु नपर्ने । मनमनै सोचें । उनीहरुलाई देख्नासाथ पुलिसले सलाम ठोक्यो । गाडी हुँइकियो ।  

त्यो दिन पनि खासै गाडीहरुको चहलपहल त थिएन । फाट्ट फुट्ट बाइकहरु चलेका छन् । दुई चारवटा जति राता र सेता नम्बर प्लेट झुण्डिएका गाडीहरु गुडेका छन् । उसो त अरु बेलापनि खासै गाडीहरु चल्ने ठाउँ पनि त होइन यो । यत्तिकैमा एउटा मोटरसाइकलमा महिला र पुरुषको सवार देखिन्छ । चालकले पुलिसको छेल पारेर बाइक रोक्छ । अनि झोलाबाट मास्क निकालेर एउटा पछाडि बस्नेलाई दिन्छ अनि अर्को चाहिँ मुखमा लगाउँछ । यसबाट के अनुमान लगाउन सकिन्थ्यो भने उनीहरुले पुलिसको आँखामा छारो हाल्न मात्रै मास्क लगाएका हुन् जस्तो, सानोमा हामीले बाबु आमालाई पढिदिए झैं के ! 

पुलिसले त्यो बाइकलाई रोक्छ अनि सोध्छ ‘कहाँ जाने हो भाइ ?’ 

‘म दिदीलाई माइत लैजान हिंडेको ।’ मोटरसाइकल चालकले भन्छ । 

‘पास छ ।’ 

‘छैन ।’ 

‘अनि आइडी कार्ड नि ?’ 

‘त्यो नि छैन ।’ 

‘त्यसो भए तपाईँ जान पाउनुहुन्न ।’

‘यहिँबाटै फर्किनुस् ।’ 

मोटसाइकल चालक अक्क न बक्क हुन्छ । ऊ विकल्प शुन्य छ । तैपनि उसको दिमागमा झट्ट एउटा आइडिया फुर्छ । बीच बाटोभन्दा धेरै पर आइसकियो । अब यहाँबाट फर्केर के जानु भन्ने ठानेर हुनुपर्छ । उसले एक दुई जना मान्छेलाई फोन गरेजस्तो देखिन्छ । पक्कै पनि ‘सोर्स फोर्स’ को लागि होला ।  तर उसको त्यो प्रयास निरर्थक रहन्छ किनकी कसैले फोन उठाउँदैनन् ।  

त्यत्ति नै खेर अर्को रातो नम्बर प्लेट झुण्डिएको गाडी आउँछ । पुलिसले हात हल्लाउँदै इशाराले ‘जानुस’ भन्छ । पुलिसले चिनेको कोहि हुनुपर्छ । हामीले टाढैबाट अड्कलबाजी गर्र्छौं । त्यसको लगत्तै अर्को बाइक आउँछ । त्यसमा पनि दुईजना सवार, एउटा महिला र अर्को पुरुष । चालकले आफ्नो परिचय पत्र देखाउँछ । परिचय पत्रमा निशाना छापको लोगो टाढैबाट पनि प्रष्टै देखिन्थ्यो । ऊ सायद सरकारी कर्मचारी हुनुपर्छ । ती दुईजना मान्छेलाई प्रहरीले निर्वाध रुपमा जान दिन्छ । त्यो परिचय पत्र कुनै अफिस जानको लागि बोकिएको थिएन । मात्र आफ्नी श्रीमतीलाई माइत पुर्याउने कामको लागि प्रयोगमा आएको थियो । आज शनिबार त्यहिँमाथि ‘कडाइ’ को साडी र ‘छड्के’ तिलहरी लगाएर को पो अफिस जान्थ्यो र ! 

अनि ती पहिले नैं रोकिएर बसेका बाइकका दुईजना व्यक्तिहरु पुलिससँग बहसमा उत्रन्छन् । ‘उहाँलाई त जान दिनुभयो तर हामीलाई किन रोक्नु भो त नि ?’ त्यो प्रत्युत्तरमा प्रहरीले भन्यो । ‘ए भाइ के गर्ने माथिको आदेश यस्तै छ । परिचय पत्र, पास हेरेर मात्र सवारी छोड्ने आदेश आको छ । सरकारी नुन खाए पछि त मान्नै प¥यो नि ।’ ‘के त्यो पास, आइडी कार्ड साथमा भयो भने कोरोना नसर्ने, नफैलिने हो र ? अनि तपाईँहरुले चिने जानेको मान्छे छ भने उसलाई कोरोना सर्दैन कि कसो ?’

चालक भाइले हिम्मत जुटाएरै भएपनि तर्क गर्छ ‘भाइ तिमी बढि नहोऊ है लगेर कोच्दिउँला फेरि । माथिको आदेश भनेपछि सिद्धिगो नि । बढि लम्बेतान कुरा किन गर्छौ ?’ पुलिसको थुराइ पाएपछि त्यो मोटरसाइकल चालक भाई लुरुक्क परेर त्यहाँबाट पहिले जुन बाटो आएको थियो त्यहि बाटो फर्कन्छ । ‘त्यो भाइले भनेको कुरा नि सहि हो ।’ मेरो आडैमा बस्नुभएको काकाले उसको कुरामा समर्थन जनाउदै भन्नुभयो । उहाँले फेरि थप्नुभयो ‘पास, आइडी कार्ड र पहँुचकै कारण आज कोरोना दिन दुई गुना रात चौगुना बढिरहेको छ । यसतर्फ कसैको ध्यान जाँदैन ।’ ‘हो त नि काका यस्तै अवस्था रह्यो भने त कोरोनाले डेरा जमाएरै बसिराख्ने भो ।’ मैले काकाको तर्कलाई अझ बलियो बनाउँछु ।  

मैले के आदेश मानिरहेको छु र जनतालाई के आदेश लादिरहेको छु भन्ने सामान्य जानकारी पनि छैन तल्लो तहका सरोकारवाला निकायहरूलाई । माथिल्लो तहका कर्मचारीको त के कुरा गर्ने आदेश दिए पुग्यो । मेरो त्यो आदेशले जनताको सामान्य जनजीवनमा कत्तिको नकरात्मक प्रभाव पारेको छ । ‘नाइटोको औषधी टाउकोमा’ परेको त छैन । मैले दिएको आदेश न्यायोचित छ कि छैन, यसबाट ठूलालाई चैन सानालाई ऐन पो भा छ कि ? यसले कतै कानुनी राज्यको उपहास गरेको त छैन ? त्यसको बारेमा सोच्ने फुर्सदै नैं कहाँ छ र ?  

कति सजिलो माथिको आदेश भनेपछि पुग्यो । सोच्दा पनि अचम्म लाग्ने । कस्तो कर्मचारीतन्त्र ? कस्तो लोकतन्त्र ? उत्तरदायित्व र जवाफदेहिताको कुनै गुञ्जायस नैं देखिदैन । जनताले किन यस्तो भयो भनि सोध्दा सधैको सबैको एउटै साझा जवाफ आउँछ ‘हामीलाई त केहि थाहा छैन माथिको आदेश हो हजुर !’ यहाँनेर माथिल्लो निकायको आदेश शिरोधार्य गरेकोमा आपत्ति पटक्कै होइन । 

माथिको आदेश पालना गर्नुपर्छ । यो सर्वाधिक राम्रो हो । यसले कर्मचारी संयन्त्रभित्र अनुशासन कायम गर्छ  तर आदेश पालना सँगै समय र परिस्थिति अनुसार स्वविवेकको पनि प्रयोग गर्न सकेको खण्डमा कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु पर्ने स्थिति आउने थिएन भन्ने आशय मात्रै हो ।  

अहिले पास को आशमा जिल्ला प्रशासन कार्यालयमा भीड जम्मा भएको छ । त्यो भीडबाट पास पाउने एक दुईवटा मात्रै अपवाद हुन सक्छ । जसलाई अति नैं आवश्यक छ उसले पास पाउन सकेको छैन । तर गोप्य रुपमै धेरै जसो पास पहुँचवालाकै पकेटमा जान्छ । पासको दुरुपयोग गर्ने र मनोमानी ढङ्गबाट आफ्ना आसेपासे र पहुँचवालालाई वितरण गर्ने निकायले यो संक्रमणको जिम्मा लिनु पर्छ कि पर्दैन ? अहिले बाहानाबाजी गरी पास बोकी हिड्ने व्यक्तिहरुको कारण वास्तविक रुपमा समस्यामा पर्नेहरुले समेत सास्ती भोगिरहनुपरेको छ । वास्तविक पीडितहरुको समस्या सम्बोधन हुन नसक्दा बाहानाबाजी गर्नेहरुलाई मोजमस्ती भइराखेको छ ।

यो माथिको घटना त एउटा प्रतिनिधिमूलक घटना मात्रै हो । धेरै ठाउँमा यस्ता धेरै थरीका क्रियाकलापहरु भइराखेका छन् जसले कोरोना संक्रमण फैलिनमा मलजलको काम गरेको छ । संक्रमणका प्रारम्भिक चरणमा व्यापक सावधानी अपनाइयो तर बिडम्वना नैं मान्नुपर्छ जब संक्रमण बढ्दै जान थाल्यो सावधानीमा क्रमशः कमी आयो । यसमा बढि मात्रामा त हामी आम नागरिक नैं जिम्मेवार छौं । जबसम्म नागरिकहरुमा ‘मेरो स्वास्थ्य सुरक्षा मेरो हातमा छ’ भन्ने चेतना पलाउँदैन तबसम्म कोरोना नियन्त्रणको आश नगरेपनि हुन्छ । अझ भन्नुपर्दा यस्तो अवस्थामा सरकारको अभिभावकत्वको कमी हामी जो कोहिले पनि महसुस गरेकै कुरा हो । सहि अर्थमा सरकार अहिले सामान्य अभिभावक पनि बन्न नसकेको स्थिति छ ।  

मान्छे पहुँचको धाक र धक्कुमा स्वर्गीय आनन्द पाउँछ । मान्छेमा हर कुरालाई पर्गेल्न सक्ने हैसियत छ । रातो नम्बर प्लेट, सेतो नम्बर प्लेट, कालो नम्बर प्लेट आदि । तर यसको ठीक विपरीत भाइरससँग न रङ्ग छुट्याउन सक्ने क्षमता छ न त यसले जात, धर्म, वर्ग, समुदाय कसैलाई चिन्दछ । मात्र चिन्छ त कुन व्यक्ति लापर्वाह छ र कुन चाहिँ सतर्क भन्ने कुरा ।

एकजनाले करोडाैंलाई बदल्न गाह्रो छ तर एक एक जनाबाट सुरु गरेर करोडौं बदलिन सम्भव छ । मुख्य कुरा त सुरु आफूबाटै गर्नुपर्छ । अहिलेको यो विपत्तिको व्यवस्थापन भनेको भविष्यमा आउने सक्ने यस्तै खालको अर्को विपत्तिको पूर्व तयारी पनि हो । त्यसैले चुनौतीलाई अवसरको आँखाले हेर्ने गरौं ।

प्रकाशित: ८ भाद्र २०७७ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App