७ वैशाख २०८१ शुक्रबार
ब्लग

सय रुपैयाँ बोकेर काठमाडौं !

ठमेल कथा–१

पर्यटनकर्मी ऊर्जा तामाङ।

ऊर्जा तामाङ–नेपालको पर्वतीय पर्यटनमा स्थापित एउटा नाम। काठमाडौंको ठमेलमा (पकनाजोल)मा छ उनको कम्पनी ‘अलायन्स एडभेन्चर प्रालीे।’ यसले नेपालमा मात्र होइन, तिब्बत र भुटानमा समेत पर्यटक डुलाउँछ।  

संसारमा कोरोना भाइरसको महामारी नभइदिएको भए यतिबेला उनी विदेशमा हाम्रो देशको मार्केटिङ गरिरहेका हुन्थे। किनकि मनुसन पर्यटकीय याम होइन, मार्केटिङ गर्ने अवसर हो। तर, अहिले कोरोनाको डरले घरभित्रै खुम्चिनुपरेको छ। पिँजडामा बसेको चरीझैं भएको छ जीवन।  

माओवादी जनयुद्धका कारण संकटकाल लागु भएका बेला सय रुपैयाँ बोकेर नुवाकोटबाट काठमाडौं झरेका ऊर्जा तामाङको जीवनसंघर्ष रोचक एवं प्रेरणादायी छ। समयक्रममा उनी स्थापित पर्यटन व्यावसायी बनेका छन्।  

त्रिभुवन विमानस्थलमा विदेशीहरूका साथमा।  

डेराको बास छ उनको। बाहिर निस्कन डर छ। दुई छोरी इशा र मुइसाङ तथा श्रीमती ईश्वरीसँग बसेर बाँकी जिन्दगीका सपना कोरल्दै छन् उनी।

‘मनसुन सकिएपछि गाउँमा फर्केर तरकारी खेती र बाख्रापालन गर्छु’, तन्नेरी ऊर्जाले सुनाए, ‘एउटा व्यावसाय मात्र गरेर नपुग्ने भयो। अब गाउँमै गएर केही न केही काम गर्नुपर्ने भयो।’  

संसारमै नसोचेको विपत्ति आयो। कोरोना भाइरसका कारण पर्यटनको भविष्य अन्योलमा परेको छ। कहिले भाइरस शान्त होला र पर्यटक आउलान्? यसै भन्न सकिने अवस्था छैन। सबै पर्यटनकर्मीको आम्दानीको बाटो रोकियो। ऊर्जा पनि पहिलाको वचत रकमबाट घरखर्च चलाउँदै छन्।  

नेपाल सरकारबाट न पर्यटन मजदूरले राहत पाएका छन् न व्यावसायीले। असुरक्षित र अन्योल भविष्य कल्पना गरेर पर्यटनकर्मीहरू मनोरोगी बनिसके।  

नेपालमा चैत ११ देखि लकडाउन हुँदा ऊर्जा आत्तिएका थिएनन्। केही दिनमा कोरोना सामसुम होला भन्ने लागेको थियो तर यसले भयानक महामारीकै रूप लियो। बिस्तारै उनको मनमा डर बढ्दै गयो।  

लकडाउन नभएको भए उनी आफ्नो व्यावसायमै हु्न्थे। लकडाउन हुनु केही समयअघि मात्र उनी संलग्न ‘रसुवा–नुवाकोट पर्यटन समाज’ले उनकै जिल्ला नुवाकोटको फिकुरीडाँडा (३,८०० मिटर)को अध्ययन भ्रमण गरेको थियो।  

गृहजिल्ला नुवाकोटको फिकुरीडाँडा पर्यटन प्रवद्र्धनमा क्रियाशील उनी गाउँमा पर्यटनको फूल फुलाउने सपना देखिरहेका छन्। त्यसैले फिकुरीलाई पर्यटन गन्तव्यका रूपमा स्थापित गराउन उनले कम्मर कसेका छन्।  

नुवाकोटको फिकुरी डाँडा। 

काठमाडौंबाट फिकुरी पुगेर काठमाडौं फर्कन एक साता लाग्छ। केही वर्ष अघि देखि एकल प्रयासमा उनी फिकुरीको प्रवद्र्धन गर्दै आएका थिए। समाजको अध्ययन भ्रमण पछि धेरैको नजर फिकुरीले खिचेको छ।  

फिकुरीडाँडामा सामुदायिक टेन्ट राख्ने उनको योजना पूरा भैसकेको छैन। कोरोनाका कारण काम रोकियो। साथै मानेगाउँ, काउले, भाल्जे, ताजी र ठूलो गाउँमा सामुदायिक होमस्टे सञ्चालन गराउने उनको प्रयास छ।  

स्वदेशी तथा विदेशीका लागि उनले ‘फिकुरी प्याकेज’ समेत बनाइसके। कोरोना भाइरसले पराजय भोगेपछि उनका बाँकी सपना पूरा हुनेछन्।  

स्पिङ सिजनको मुखमै लकडाउन भएकाले उनका सबै पर्यटक समूहले भ्रमण रद्द गरे। लकडाउनपछि पूरै समय परिवारसँग बिताउन पाएका छन्। साथै भविष्यका लागि कृषिकर्म र व्यापारका योजना बुनिरहेका छन्।  

लकडाउनकै बीचमा उनको समूहले एउटा सत्कर्म पनि ग-यो। त्यो के भने उनी संलग्न ‘रसुवा–नुवाकोट पर्यटन समाज’ले नेपाल पर्यटन बोर्डको सहयोगमा असार दोस्रो साता ‘राउचुली–गोसाइँकुण्ड पदमार्ग’ अध्ययन ग¥यो। भ्रमण दलमा उनीसहित शिव लामिछाने, दिनेश तामाङ, गगनराज न्यौपाने, सुरेन्द्र राना र अशोक सिलवाल सहभागी थिए।  

काठमाडौंको बूढानीलकण्ठबाट शिवपुरी हुँदै नुवाकोटको राउचुली भएर  गोसाइँकुण्ड दर्शन गरी धुन्चे झर्ने ८ दिने पदमार्ग। काठमाडौंबाटै हिँड्न सुरु गर्न सकिने नमूना पदमार्गमा कुण्डैकुण्डको दर्शन गर्न सकिन्छ।  

अर्को कुरा, शिवपुरीदेखि गोसाइँकुण्डसम्म ढुंगे सिँढी बनाइएको छ। यसको प्रचुर पर्यटकीय सम्भावना छ। प्रकृति, संस्कृति र साहसिक गन्तव्यका रूपमा यसको विकास गर्न सकिन्छ भन्ने ऊर्जालाई लागेको छ। साहसिक मन भएकाहरू यसमा पदयात्रा गर्न सक्छन्।  

‘विदेशीहरूबाट यो पदमार्गबारे सोधखोज भइरहेको छ’, ऊर्जा भन्छन्, ‘अबको गन्तव्य राउचुली–गोसाइँकुण्ड पदमार्ग बन्नेछ।’  

‘राउचुली–गोसाइँकुण्ड पदमार्ग’ अध्ययन टोली रसुवाको गोसाइँकुण्डमा। 

जीवनमा धेरै ठक्कर खाएर खारिएका युवा हुन् ऊर्जा। उनी नुवाकोटको किस्पाङ गाउँपालिका–५, मानेगाउँमा ३५ वर्ष अघि जन्मेका। गाउँले जीवन सजिलो थिएन, बिहान र बेलुकी घरायसी काम गरेर दिउँसो स्कुल पढ्नुपथ्र्यो।  

मुलुकमा माओवादीको जगजगी थियो। माओवादी जनयुद्ध उत्कर्षमा पुगेका बेला उनीहरूले गाउँमा राम्रोसँग पढ्न पाएनन्। परिणाम उनी एसएलसीमा सफल हुन सकेनन्।    

संकटकालमा गाउँमा बस्ने वातावरण भएन। उनी कक्षा १० पढ्दापढ्दै विसं २०५८ मा काठमाडौं झरे। खल्तीमा जम्माजम्मी सय रुपैयाँ बोकेर उनी काठमाडौं पसेका थिए। तिनताका भक्तपुरको हनुमन्ते पुलमा उनका दाइ काम गर्थे। ऊर्जा पनि त्यहीँ ज्यामी काम गर्न थाले। उनले बालुवा बोक्ने र मसला घोल्ने लगायतका काम गरे।  

बाबा र आमाको साथमा। 

केही समयपछि उनको समूहले लाजिम्पाटको -याडिसन होटलमा स्विमङ पुल, साउना आदि बनाउने काममा मजदूरी ग-यो।  

काम गर्दै जाँदा सपना बढ्दै गयो, मनमा विदेश जाने मोह पलायो। केही पैसा जम्मा गरेपछि दुबई जाने तयारी पनि गरे। तर, म्यान पावर कम्पनीले धोका दियो। उसले भिसा लागिसकेपछि बेइमानी ग-यो, सुरुमा कबुलेको रकमभन्दा आधा मात्र दिने भन्यो। त्यो पनि खानाविनै।  

अन्ततः उनको दुबई सपना टुट्यो।  

अब उनको बाटो मोडियो। उनका आफन्ती दाइ जय लामा पर्यटन क्षेत्रमा थिए। उनले आफू संलग्न कम्पनी ‘नेपाल भिजन टे«क’मा ऊर्जालाई सामेल गराए। त्यही कम्पनीमार्फत उनले सन् २००१ देखि ४ वर्ष भरिया बनेर मुलुकभित्रका डाँडापाखा चहारे।  

अनायासै संसारलाई नै रुवाउन आइपुगेको कोरोना महामारीबाट उनले धेरै कुरा सिके। कृषि प्रधानमुलुक नेपालको बाँच्ने आधार कृषि नै भएकाले उनी मनसुनलगत्तै जन्मथलो मानेगाउँमा तरकारी खेती र बाख्रा पालन सुरु गर्दैछन्।  

उनको पहिलो पदयात्रा थियो,आफ्नै छिमेकी जिल्ला रसुवाको लाङटाङमा। पछिल्ला दिनमा उनी विदेशीका भारी बोकेर लाङटाङ, कञ्चनजंघा, सगरमाथा, अन्नपूर्ण क्षेत्र लगायत पदमार्गमा पुगे। दुईचार पैसा कमाईसँगै मुलुक चिन्ने अबसर पाए।  

उनले बडादशैंको अष्टमीका दिनबाट पहिलो पदयात्रा सुरु गरेका थिए। परिवारै बसेर रमाइलो गर्नुपर्ने पर्वका बेला पदयात्रा सुरु गरेर दुःख गरेकैले होला आज उनी स्थापित पर्यटनकर्मी बन्न सफल भएका छन्। आखिर मान्छेलाई कामले काजी बनाउँछ नै।  

घान्द्रुकबाट विरेठाँटी आउँदा पर्यटकलाई खोला तार्दै।  

उनले पर्यटनमा १९ वर्ष बिताइसके। यस अवधिमा सुरुका ७ वर्ष भरिया बने। उनले सन् २००२ मै ट्रेकिङ गाइडको लाइसेन्स लिएका थिए। ‘अंग्रेजी बोल्न नजान्दा पोर्टरमै सीमित हुनुप¥यो’, उनले कारण खुलाए, ‘पछि आफैं कम्पनी खोलेपछि मात्र गाइड बनेर काम गरेंं।

उनको कम्पनी अलायन्स एडभेन्चर प्राली चलाउन विदेशीले सहयोग गरे। उनी भरिया बनेर हिमालतिर जाँदा सँगै गएका मलेसियन नागरिक अपाउ मुजाफर समयक्रममा उनको ‘गडफादर’ बन्न पुगे।  

उनै अपाउले अंग्रेजी भाषा सिक्न प्रोत्साहन गरे। सहयोग पनि गरे। हरेक वर्ष उनी समूहसहित नेपाल आउँथे र ऊर्जालाई साथमा लिएर पदयात्रामा जान्थे। ऊर्जा ‘एस’ र ‘नो’ मात्र भन्न जान्दथे। विदेशीलाई बाटो देखाउँथे। अँग्रेजीमा दोहोरो कुराकानी गर्न सक्दैनथे तर सांकेतिक रूपमा बुझाउँथे।

म्याग्दीको पुनहिलमा पदयात्रीहरूसँगै।  

अपाउसहित उनको समूहले ऊर्जालाई कम्पनी खोल्न हौस्यायो। आज उनको कम्पनी नेपालभित्र मात्र होइन, तिब्बत र भुटानमा समेत पर्यटकलाई डुलाउँछ।

उनको जिन्दगीमा नसोचेको भयो। काठमाडौं छिर्दा सामान्य ज्यामीको काम गरेर दुईचार पैसा कमाउने मात्र सपना थियो। समयसँगै सपना चुलिँदै गयो। उनी आफैं कम्पनीका मालिक बने। तर, उनले आफ्नो धरातल बिर्सेका छैनन्।  

‘कर्म नै पूजा हो’ भन्ने उनको विश्वास छ।  

उनी सम्झन्छन् एकजना अमेरिकी महिला डा. क्याथ्रिन मार्चको भनाइ, ‘नेपालीहरू आफ्नो आङको भैंसी देख्दैनन्, अर्काको आङको जुम्रा देख्छन्।

उनको जिन्दगीमा नसोचेको भयो। काठमाडौं छिर्दा सामान्य ज्यामीको काम गरेर दुईचार पैसा कमाउने मात्र सपना थियो। समयसँगै सपना चुलिँदै गयो। उनी आफैं कम्पनीका मालिक बने। तर, उनले आफ्नो धरातल बिर्सेका छैनन्।  

ऊर्जालाई लाग्छ, ठीकै भन्थिन् उनी किनकि हामी नेपाली पैसा कमाउने सपना बोकेर विदेश भौतारिन्छौं। तर, गर्न जान्यो भने हाम्रो घरआँगनमै सुन फलाउन सक्छौं।  

मार्चका कुरा ऊर्जाको मनमा गडेको छ।  

परिवारका साथमा ऊर्जा।  

समयक्रममा उनी तीनपटक अमेरिका पुगे। त्यस्तै युरोपका स्पेन, स्विजरल्याण्ड, जर्मन, अष्ट्रिया र फ्रान्स घुमे। साथै भुटान, थाइल्याण्ड, सिंगापुर, मलेसिया र तिब्बत डुलिसके। गणनै गर्ने हो भने मलेसिया त उनी ३० पटक पुगिसके। उनलाई विदेशमै बस्ने अफर नआएको होइन तर उनमा विदेशमोह कहिल्यै पलाएन।  

आफ्नै माटामा पसीना चुहाउन पाउँदा रमाउँछन् उनी। जे सकिन्छ आफ्नै मुलुकमा गर्नुपर्छ भन्ने उनको भावना छ।  

‘जन्म दिने आमाबुबा र मातृभूमिलाई हामीले छाड्नु हुँदैन’, उनी भन्छन्, ‘जे सकिन्छ स्वदेशमै गरौं।’      

जीवनमा घाम र छाया भइराख्छ। यात्रामा कहिले सजिलो बाटो आउँछ त कहिले अप्ठेरो घुम्ती। आज कोरोनाले विश्वलाई नै रुवाएको छ। एकदिन मानवले कोरोनालाई पक्कै जित्नेछ। त्यो दिन कहिले आउला अहिल्यै भन्न सकिन्न तर मान्छेले आशा मार्नु हुँदैन। 

सगरमाथा पदयात्रामा समूहसँग। 

ऊर्जालाई लाग्छ, सन् २०२२ पछि पर्यटन व्यावसाय चल्नेछ। विश्वभर कोभिड–१९ विरुद्ध खोप लगाइसकेपछि मात्र घुम्ने वातावरण बन्नेछ। नेपालमा खोप आउने वित्तिकै पर्यटक आउने छैनन्। उनीहरू ‘पर्ख र हेर’को अवस्थामा बस्नेछन्। जब समाज पुरानै लयमा फर्कनेछ तब मात्र घुमफिरले गति समाउने उनको अनुमान छ।

अन्त्यमा उनको नामै छ–ऊर्जा। जनबोलीमा सबैले ‘ऊर्जा’ भनेर सम्बोधन गर्छन्। तर नागरिकता प्रमाणपत्रमा उनको नाउँ ‘उर्के तामाङ’ छ। उनी कहिलेदेखि ‘ऊर्जा’ बने त?  

‘गाउँकै श्री कार्की मनकामना प्राविमा कक्षा ५ मा पढ्दा मैले ऊर्जा उपनाम राखेको हुँ’, उनले ऊर्जाको अर्थ नबुझिकनै उपनाम राखेका थिए। पछि यसैबाट चिनिए।

उनको संघर्षपूर्ण जीवनकथा र मातृभूमिप्रेमले हामी सबैलाई ऊर्जा मिल्छ। मित्र ऊर्जाको सुस्वास्थ्य एवं दीर्घायूको हार्दिक शुभकामना!  

कार्यालयमा ऊर्जा तामाङ।  

प्रकाशित: २ भाद्र २०७७ १४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App