१९ श्रावण २०७७ सोमबार
ब्लग

छोरी भनेपछि हुरुक्कै मेरा साहित्यकार बुबा

बुबाका साथमा लेखिका

डा. रश्मि शर्मा

पिता शब्द निकै घनीभूत छ । आमाको ममता नजिकैबाट नियाल्न पाइन्छ, सधैंभरि । बाहिरैबाट देखिने । आमालाई यस्तै गुण दिइएको होला । खाना खायौ, बिरामी त छैनौ, राती राम्रो सपना देखिनँ, घर कतिबेला फर्किन्छौ, लिन आउन पर्छ कि ? यस्ता प्रश्न आमाकै भागमा धेरै पर्छन् । बुबाको माया, प्रेम, ममता र स्नेहचाहिँ अलि फरक किसिमको हुन्छ जस्तो लाग्छ, अलि सूक्ष्म, बाहिरबाट सहजै नदेखिने तर भित्री रूपमा अन्यन्त गहन ।  

दाजीपछिकी दोस्रो सन्तान म जन्मिँदा त बुबा नाच्नुभएको रे । घरमा कन्या आइन्, छोरीले घर रमाइलो बनाउँछन् । बुबाले यस्तो भन्नुहुन्थ्यो भनेर आमा सुनाउनुहुन्छ । मसँग बुबाले आजसम्म ठूलो स्वरमा, रिसाएर वा झर्किएर बोल्नुभएको थाहा छैन ।  

बुबा मुकुन्दप्रसाद शर्मा नेपालका स्थापित साहित्यकार हुनुहुन्छ । बागलुङको विकट गाउँ जैदीको रोहोटे, हालको जैमिनी नगरपालिकामा उहाँ जन्मिनुभएको हो । पटुवाको रेसा तोस्रोमा बटार्दै बरियो, दाम्लो, नेती आदि बाट्ने, गाईवस्तु सम्हाल्ने, खेतका कुला बनाउने, पर्म लगाएर बाउसे काम गर्दै  हुर्किनुभएको थियो, बुबा । बाल्यकालमा गाई चराउन भिरकुनातिर जाँदा पनि साथीहरू डन्डीबियो खेल्थे रे, उहाँचाहिँ च्यातिएका कापी लिएर कविता लेख्न बस्नुहुन्थ्योे रे । काकाहरू सुनाउनुहुन्छ । यसै क्रममा १६ वर्षकै उमेरमा उहाँले लेखेको महाकाव्य नलदमयन्ती अभैm पाण्डुलिपिमै छ । त्यो महाकाव्य घरको छानोमा खरका बीचमा घुस्रिएर रहेको अवस्थामा आमाले विवाहपछि भेट्टाउनुभएछ । धुजाधुजा र पानापाना समेटेर आमाले जोगाइदिएकै कारण त्यो हराउन पाएनछ र आज हामीले पनि छन्द हालीहाली पढ्न पाएका छौं ।  

दाजीपछिकी दोस्रो सन्तान म जन्मिँदा त बुबा नाच्नुभएको रे । घरमा कन्या आइन्, छोरीले घर रमाइलो बनाउँछन् । बुबाले यस्तो भन्नुहुन्थ्यो भनेर आमा सुनाउनुहुन्छ । मसँग बुबाले आजसम्म ठूलो स्वरमा, रिसाएर वा झर्किएर बोल्नुभएको थाहा छैन ।  

गाउँमा हाम्रो घर नै गुरुकुल थियो रे । छिमेकी गाउँ बीउडाँडाका गुरु प्रा. डा. श्री दुर्गादत्त शर्मा उपाध्यायलाई हजुरबुबाले घरमै गुरु बनाएर राख्नुभएकाले बुबाले उहाँबाटै अक्षर सिक्नुभएको रे । गुरुले धुलौटे पाटीमा हात समातेर लेखाउँदै अक्षर चिनाएको कुरा बुबा स्मरण गरिरहनुहुन्छ । संस्कृत व्याकरण, कौमुदी अमरकोश आदि बुबाले सानैमा घरमै कण्ठ गर्नुभएको रहेछ । हामी हिँड्न सक्ने भएदेखि नै स्कुलका बेन्च र टेबुलमा अध्ययन गरेकालाई यो कुरा अनौठो लाग्न सक्छ । पछिसम्म पनि हामी गाउँ जाँदा घरको पिँढीमा वरिपरि मान्छे घेरिएर वेद र पुराणका कुरामा छलफल गर्थे । हामी कुरा नबुझे पनि सुनेर बस्थ्यौं । त्यसलै होला, पढाइलेखाइलाई सधैँ उच्च स्थानमा राख्ने, साहित्यको सेवा गर्ने, शास्त्रका उदाहरण दिँदै असल–खराब बुझाउने– बाल्यकालदेखि नै बुबाले हामीलाई यस्तै वातावरण दिनुभयो । बुबाबाटै सधैं हामी आफ्ना कर्तव्यबारे प्रेरित भइरह्यौं । हामी उहाँलाई आदर्श पात्रका रूपमा हेर्छौं ।  

बुबाले बूढानीलकण्ठ स्कुलमा लगभग ३० वर्ष नेपाली विषय पढाउनुभयो । सुरूमा स्कुलमा बेलायती व्यवस्थापन थियो । नेपाली शिक्षक–शिक्षिका निकै कम थिए । संस्कृत परम्परामा हुर्किनु/पढ्नुभएका बुबालाई बेलायती चलनचल्तीमा काम गर्नुपर्दा निकै गाह्रो भयो रे ! पहिलो दिन स्कुल जाँदा टाईको गाँठो बनाउन नआएर अरू साथीसँग सुटुक्क माग्नुपरेको थियो रे । हरेक समस्यामा इन्टरनेट र युट्युब हेर्ने बानी परेका हामी त्यस्तो अवस्था कल्पनै गर्न सक्दैनौं ।

तर गाह्रो भयो भनेर बुबा कहिल्यै पछि हट्नुभएन । बेलायती सहकर्मीसँग कुराकानी गर्न सहज होस् भनेर उहाँले अंग्रेजी भाषा राम्रो बनाउन विभिन्न पुस्तक अध्ययन गर्न थाल्नुभयो । त्यतिबेला पढेका लिओ टलस्टयको वार एन्ड पिस, महात्मा गान्धीका आत्मसंस्मरणका अंग्रेजी अनुवाद, थमस हार्डीका पुस्तक उहाँले पछि हामीलाई पनि पढाउनुभयो । चिन्मयको काव्य अंग्रेजीबाट नेपालीमा उल्था गर्दा पनि बुबाले यी पुस्तकका चर्चा गरिरहनुहुन्थ्यो । सो काव्य अभैm प्रकाशित भएको छैन । चुनौती देखेर आत्तिने होइन, बरु कडा मिहिनेत गरे, ती आफैं समाधान हुन्छन् भन्ने कुरा  बुबाबाटै सिकें ।  

‘स्वान्तः सुखाय साहित्यमा समर्पित’- बुबाका साहित्यिक कृतिमा यस्तै लेखिएको हुन्छ । मैले एक दिन सोधेकी थिएँ- ‘यो भनेको के हो बुबा ?’ जवाफमा आत्मसन्तुष्टिका लागि लेखेको भन्नुहुन्थ्यो । नीति र सदाचारमा आधारित कृति लेख्नु स्वान्तः सुखाय नै हो । हुन पनि हो, घरमा भिडभाड सधंै हुन्थ्यो । काका, दाइ, दिदी, फुपू, अन्य इष्टमित्रको आवतजावत भइरहन्थ्यो ।  तैपनि कुनै भिड, कुनै हल्लाले बुबाको ध्यान भंग गर्न सकेन । स्कुलको कार्यव्यस्तताबाट उम्केर पनि बुबालाई लेखपढमै तल्लीन देख्थें । उहाँको खुसी पढाइलेखाइमै थियो । फुटकर कविता, खण्डकाव्य, महाकाव्य, आत्मपरक दैनिकी, जीवन–जगतका कुरा, उपन्यास, महाभारत रामायण वा वेदको भावानुवादमध्ये कैयौं कृति अहिले पनि प्रकाशनको पर्खाइमा बाकसभित्रै छन् । आमाले जतनसाथ ती कृति सँगालेर राख्नुभएको छ । दशकौंदेखि निरन्तर साहित्य सेवाका लागि बुबाले विभिन्न पुरस्कार तथा सम्मान पाउनुभएको छ ।  हालै मात्र नेपाली साहित्यको संवद्र्धनका लागि आदिकवि भानुभक्त पुरस्कारबाट बुबा सम्मानित हुनुभएको छ । विभिन्न वरिष्ठ साहित्यकार तथा विद्वानले उहाँप्रति स्नेह र सद्भाव देखाउँदै साहित्य साधना गर्ने प्रेरणा दिइरहनुभएको छ । हामी सन्तान गौरवान्वित छौं ।

बाल्यकालमा बुबासँग बिताएका रमाइला क्षण स्मृतिमा आइरहन्छन् । बुबाले भन्नुभएका राजकुमार दिक्पाल र वायुपंखी घोडाका कथा कहिले बिर्सिन्नँ होला । डन्डीबियो बनाउन र खेल्न उहाँले नै सिकाउनुभएको हो । शनिबार र बिदाका दिन बुबाआमासँग टाक्के भुइँटाक्के खुब खेलिन्थ्यो । दसैं नजिकिँदै गर्दा चंगा किनेर ल्याएर त्यसमा कका हाल्न उहाँ उत्साहित हुँदै सहभागी बन्नुहुन्थ्यो । चित्रकलामा पनि उहाँको विशेष रुचि थियो । चित्रकलाका विभिन्न पुस्तक ल्याएर बुबाले चित्र कोर्दा हामी वरिपरि झुम्मिएर बस्थ्यौं । बुबाले पढाइका साथै हामीलाई खेलकुदमा पनि प्रोत्साहन गर्नुहुन्थ्यो । बहिनी स्कुलको पौडी प्रतियोगितामा सहभागी हुन जाँदा उहाँले आफ्ना पालामा लौवाखोला र कालीगण्डकीका किनारमा पौडेको कहानी सुनाउँदै हौसला दिनुहुन्थ्यो । बिदामा गाउँ जाँदा बुबाले खरबारी र पखेरामा लगेर कहिले बाँसका सुप्लाको चिप्लेटी बनाइदिनुहुन्थ्यो त कहिले फिर्फिरे । हामी त्यही फिर्पिmरे लिएर गाउँभरि घुम्थ्यौं ।  

बहिनीले भन्थी– ‘मेरो विवाह सम्पन्न भएपछि बुबाको घाँटी सुक्यो रे । रातभरि मेरो घाँटीमा के अड्क्यो, घाँटी भिजेन भन्दै पानी पिउँदै बुबा भित्र–बाहिर गर्नुभयो रे । बहिनीको विवाहपछि बहिनी ज्वाइँसँग बेलायत फर्किंदा बुबाले झ्यालबाट हेर्दै आपैmसँग ‘छोरी कता हो कता टाढा गई, खुसी होली केरे’ भनेको सुन्दा मेरा आँखा पनि रसाएका थिए ।  

मातापिताको सुरक्षा सन्तानलाई सधैं आवश्यक पर्दोरहेछ, चाहे त्यो अबोध बालबालिका हुँदा होस् वा विवाह गरेर अर्काको घर गइसकेको किन नहोस् । कैयौं व्यक्तिले शिष्टाचारसमेत बिर्सिंदै मलाई मुर्ख र घमण्डीजस्ता दुर्वाच्य बोल्दा पनि सधैं मैले बुबाकै छत्रछायाको आड र भरोसा पाइरहें । बुबाले प्रेरणा दिनुभयो र सधैं आत्मविश्वास उच्च बनाएर हिँड्ने हौसला दिइरहनुभयो । स्वाभिमान र घमण्डमा फरक हुन्छ, तिम्रो स्वाभिमानलाई घमण्ड देख्नेसँग नडराउनू भन्ने मार्गदर्शन दिनुभयो । मप्रति बुबाले गर्नुभएको त्यो असीम विश्वासले नै मलाई आफ्ना समस्यासँग जुध्ने साहस दिन्छ र बाटो बिराउनबाट रोक्छ ।  

‘स्वान्तः सुखाय साहित्यमा समर्पित’- बुबाका साहित्यिक कृतिमा यस्तै लेखिएको हुन्छ । मैले एक दिन सोधेकी थिएँ- ‘यो भनेको के हो बुबा ?’ जवाफमा आत्मसन्तुष्टिका लागि लेखेको भन्नुहुन्थ्यो ।

आज बुबाको जन्मदिन हो । दाजी र बहिनी त सपरिवार देशबाहिरै छन् । म देशमै छु, तापनि बुबाआमाको नजिक छैन । सधैं मातापितासँगै बस्ने इच्छा त कसको हुँदैन र ! तर आफ्नो कर्तव्यबाट भाग्न हुँदैन भन्ने बुबाकै शिक्षाले आज हामी सन्तान आआफ्ना जिम्मेवारी निर्वाहका क्रममा टाढाटाढा छौं । आज बुबालाई सम्झिँदा मैले त्यही जैदीको विकट गाउँ अनि खरले छाएको घर याद आइरहेको छ । तिनै गाईगोठ, उकाली–ओराली, खेतबारी, कुलो सम्झिरहेकी छु । बुबाका विविध अनुभव सुन्दा मलाई यी कुराले झन् झक्झक्याउँछ– म त्यही गाउँकी चेली हुँ । मेरो पृष्ठभूमि त्यही हो, धरातल त्यही हो । ती सबै चुनौतीका बीचबाट उठेर आमाबुबाले हाम्रा लागि गरेका त्याग र तपस्या झन् धेरै सम्झिरहेको छु । बुबासँग फेरि पनि आशीर्वाद माग्दै जन्मदिनको शुभकामना दिन चाहन्छु ।  

हाल : भरतपुर अस्पताल, चितवन

प्रकाशित: ६ श्रावण २०७७ १५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App