१ श्रावण २०७७ बिहीबार
ब्लग

चराको स्वर्ग पोखरा

उदाहरणीय युवा

कुथुर्के चरा । तस्बिर: मनशान्त घिमिरे ।

प्रकृतिको वरदान प्राप्त भूगोल । कुमारी हिमाल माछापुच्छे«को आँगन । मनकारी मान्छेहरूको बस्ती । साहसिक खेलहरूको केन्द्र । प्राकृतिक, सांस्कृतिक र साहसिक गतिविधिको राजधानी–पोखरा । यही सुन्दर पोखरालाई ‘चराको स्वर्ग’का रूपमा चिनाउँदैछन् मनशान्त घिमिरे ।    

उनको पोखरा पन्छी समाजले छापेको पुस्तक ‘बर्डस अफ पोखरा भ्याली’ भन्छ, ‘पोखरामा ४६७ प्रजातिका चरा पाइन्छन् ।’ अध्ययन जारी छ, नयाँनयाँ चरा पत्ता लाग्दैछन् । अहिले त्यो संख्या बढेर ४७० पुगिसक्यो ।  

पोखरालाई चरा पर्यटन केन्द्र बनाउने अभियानमा होमिएका युवा हुन्–मनशान्त घिमिरे । उनले नेपाल भित्रै ७१३ प्रजातिका चरा अवलोकन गरिसकेका छन् भने ५५० जतिको त तस्वीरै खिचेका छन् ।  

नबिर्सौं, नेपालमा ८८६ प्रजातिका चरा पाइन्छन् । हाम्रो मुलुकमा मात्र पाइने काँडे भ्याकुर पोखरामा पनि डुल्छन् । घिमिरेको संस्था पोखरालाई ‘मांसाहारी प्रजातिका  चराको शहर’ भन्न रुचाउँछ । त्यसरी चिनाउनुमा कारण छ, दक्षिण एसियामा ९ प्रजातिका गिद्ध पाइन्छन् । ती पोखरामा पनि पाइन्छन् ।

मनशान्त घिमिरे 

अर्को कुरा, हिउँदमा (अक्टुबरदेखि डिसेम्बरसम्म) मंगोलिया र साइबेरियादेखिका आगन्तुक चरा पोखरामा आउँछन् । यिनमा मांसाहारी चराको संख्या बढी हुन्छ । पोखरामा ५४ प्रजातिका मांसाहारी चरा पाइन्छन् । सिमसारमा पाइने अधिकांश पानी चरा भने शाकाहारी स्वभावका हुन्छन् । उनीहरू पानीमा फल्ने फल र लेउ खान्छन् ।  

चरा देख्नमा राम्रा हुन्छन् । कुनै साना त कुनै ठूला । तिनका आनीबानी हेर्दा र चिरबिर सुन्दा दुःख हराउँछ । मनमा शान्ति छाउँछ । परिवार र समाजका लागि बाँचौं भन्ने भावना जाग्छ । त्यही आनन्द लुट्न घिमिरे दिनदिनै चरामा नजर डुलाउँछन् ।

सुनौलो रविन 

कोरोना भाइरसका कारण बन्दाबन्दीमा बसेका बेलामा पनि उनी चरा अध्ययनमै जुटेका छन् । पोखराको लेकसाइडमा परिवारसँगै बस्दै आएका घिमिरे यतिबेला करेसाबारीका चराको अध्ययन गर्दैछन् ।    

ताल नगरी पोखरामा ९ वटा ताल छन्–फेवा, बेगनास, रुपा, दिपाङ, मैदी, खास्टे, गुँदे, न्यूरेनी र कमल नाउँका । तालका सिमसार क्षेत्रमा पानी चरा देखिन्छन् ।  

घिमिरे सहितका युवाले गरेको अध्ययनअनुसार पोखरा क्षेत्रका ठूलाखर्क, रानीवन, विश्व शान्ति स्तुप, मेथ्लाङ, माटेपानी गुम्बा क्षेत्र, वनपालेडाँडा, कन्दनीडाँडा र पचभैया ‘फरेस्ट बर्ड’को राम्रा बासस्थान मानिन्छन् ।  

यसरी हेर्दा पोखरामा बर्ड वाचिङ टुरिजमको संभावना ठूलो देखिन्छ । व्यबहारमा  अवस्था के छ त ?  

‘हामीले बर्ड वार्चिङ हटस्पट भनेर केही ठाउँको ब्राण्डिङ गरेका छौं’, चराविद् घिमिरे भन्छन्, ‘चरा हेर्न आउने विदेशीको संख्या थोरै छ । तर, त्यो संख्या बर्सेनि बढ्दो ग्राफमा छ ।’  

हिमाली गिद्ध

उनले एउटा सुखद खबर सुनाए, ‘पहिलापहिला मांसाहारी चराको अध्ययन गर्न विदेशीहरू मंगोलिया जान्थे । अचेल त्यता जान छाडेर सिंगापुर, मलेसिया, थाइल्याण्ड, भियतनाम, फिलिपिन्स र चीनबाट विदेशी पोखरामा आउन थालेका छन् ।’  

एक समय पोखरा उपत्यकाले कालिज प्रजातिका चराका लागि संसारमै ख्याति कमाएको थियो । पर्यटनविद् झलक थापाले माछापुच्छे« हिमालको वक्षस्थल पिपरमा कालिज सहितका चराको अध्ययन गरेर प्रचार गरेका थिए ।  

तिनताका कालिजको अध्ययन गर्न विदेशी यता आउँथे । अचेल त्यो जमात भुटानतिर सरेको छ । त्यसो हुनुमा हाम्रोमा चोरी शिकारीका कारण कालिजको विनाश प्रमुख कारण भएको औंल्याउँछन् घिमिरे । 

एक समय पोखरा उपत्यकाले कालिज प्रजातिका चराका लागि संसारमै ख्याति कमाएको थियो । पर्यटनविद् झलक थापाले माछापुच्छे« हिमालको वक्षस्थल पिपरमा कालिज सहितका चराको अध्ययन गरेर प्रचार गरेका थिए ।   

हामीले चोरी शिकारी रोक्नुपर्छ । त्यस्तै गाउँशहरमा बस्नेहरूलाई चराको महत्व बुझाउनुपर्छ । समाजले जनचेतना जगाउन विभिन्न कार्यक्रम गर्दै आएको छ ।  

अन्य पर्यटकबाट भन्दा चरा हेर्न आउनेबाट मुलुकलाई धेरै फाइदा हुन्छ । विशेषतः रिटायर्ड लाइफमा धनीमानीहरू आउँछन् । उनीहरूलाई हतार हुँदैन किनकि हतारिएर चरा देख्न सकिन्न । हप्तौं वा महिनौंसम्म यतै बस्छन् । ठूलो रकम खर्च गर्छन् । यस्ता पर्यटक बढाउँदा मुलुकलाई फाइदा पुग्छ ।  

अरूले त परै जाओस्, पोखराकै पर्यटनकर्मीले पनि बर्ड वाचिङ टुरिजमको महत्व बुझेका छैनन् । टुर तथा टे«किङ प्याकेज बेच्ने दर्जनौं कम्पनी छन् तर तिनले ‘बर्ड वाचिङ प्याकेज’ बनाएका छैनन् । साइट सिनमा बर्ड वाचिङ भनेर राखेका छैनन् ।  

पोखराकै कन्दनी डाँडामा रहेको ‘टाइगर माउन्टेन पोखरा लज’ले भने चरा पर्यटन प्रवद्र्धन गर्दै आएको छ । सन् १९९८ मा पोखरामा लज खुलेदेखि नै यसले चरा संरक्षण र पर्यटनमा योगदान पु¥याउँदै आएको हो । लजका मार्कस कटन पश्चिम नेपालकै पायोनियर चराविद् हुन् । उनलाई धन्यवाद !

खोया हाँस 

घिमिरे पनि पर्यटन पेशामै छन् । उनी अध्यक्ष रहेको पोखरा पन्छी समाजले पदयात्रामा जाने मजदूर र टे«किङ कम्पनीका सञ्चालकलाई चराको महत्वबारे प्रशिक्षण दिँदै आएको छ ।  

चरा संरक्षण अभियानमा समाजका घिमिरेसहित शेषकान्त शर्मा, गंगाबहादुर घले, हिराकुमारी मल्ल, सुनिता गुरुङ, हेमन्त ढकाल र रामबाबु बस्ताकोटी अग्र मोर्चामा खटिन्छन् । घिमिरे, ढकाल, शर्मा र मल्ल अनुसन्धानमा बढी सक्रिय छन् ।  

‘पहिलापहिला मांसाहारी चराको अध्ययन गर्न विदेशीहरू मंगोलिया जान्थे । अचेल त्यता जान छाडेर सिंगापुर, मलेसिया, थाइल्याण्ड, भियतनाम, फिलिपिन्स र चीनबाट विदेशीहरू पोखरामा आउन थालेका छन् ।’    

बढ्दो शहरीकरण र आधुनिक विकाससँगै चराको विनाश सुरु हुन्छ । पोखरा क्षेत्रको मुख्य समस्या भनेकै बासस्थानको विनाश हो ।  सिमसार क्षेत्र मासिँदैछन् । वनविनाश पनि बढेको छ । सडक निर्माण, विद्युतीकरण र बालीनालीमा विषादीको प्रयोगले चरालाई समस्या परेको  छ । बिजुलीको हाई भोल्टेज ट्रान्समिसन लाइन बिस्तार गर्दा चरालाई बाधा पुग्छ ।  

चोरी शिकारी अर्को ठूलो समस्या हो । अहिलेको लकडाउनमा त झन् धेरै चराको विनाश भैरहेको छ । ‘ल कालिजको मासु खान आऊ’ भनेर सामाजिक सञ्जालमा पोस्ट समेत गरेको देखियो ।  

काँडे भ्याकुर

यो धर्तीमा बाँच्ने हक जति हाम्रो छ उति चराको पनि छ । इको सिस्टम सन्तुलनमा राख्न सबै जीवको संरक्षण हुनुपर्छ । यस्तै संरक्षणको भावनाले घिमिरे चरामा समर्पित छन् ।  

उनको नेतृत्वमा संस्थागत हिसाबले चरा संरक्षणका काम भैरहेका छन् । त्यसअघि पनि केही अगुवाले चरा संरक्षणका काम गरेका थिए । पर्यटनविद् झलक थापा, चराविद् हरि केसी र मार्कस कटन लगायतले । गिद्धका विषयमा तस्वीर खिचेर र लेखेर प्रदर्शनी गर्दै आएका पत्रकार कृष्णमणि बरालले त साथीसंगीमाझ ‘गिद्धमणि’को उपमा पाएका छन् ।    

‘हामीलाई हरि दाईले सन् २००६ मा चराबारे सिकाउनुभएको थियो’,  घिमिरे सम्झन्छन्, ‘हामीले सामूहिक रुपमा सन् २०११ देखि काम गर्दै आएका हौं । पछि सन् २०१७ मा मात्र संस्था दर्ता ग¥यौं ।’  

समाजले सन् २०१८ मा पोखरा बर्ड फेयर र सन् २०१९ मा नेपाल बर्ड फेयर आयोजना गरेर स्याबासी कमाएको थियो । उसले सन् २०२० मा गण्डकी प्रदेशको नवलपुरमा ‘नेपाल बर्ड फेयर’ गर्ने योजना बनाएको थियो । तर, कोरोनाको महामारीले त्यसलाई स्थगित गरियो ।  

‘चरालाई देखाएर खाने कि मारेर ? देखाएर खाने हो भने हाम्रा सन्ततीले पनि लाभ पाउने छन् । मारेर खायौं भने यी चरा हाम्रै पुस्तामा सकिनेछन्’, उनी भन्छन्, ‘अब किताबहरू लेख्छु । चराको संरक्षणमा सबैलाई घच्घच्याउँछु ।’    

त्यसबाहेक समाजले तालहरू, मिलेनियम पदमार्ग, अन्नपूर्ण पदमार्गका चराको अध्ययन गरिरहेको छ । ‘बिजुलीको हाइटेन्सन लाइन राख्दा चरालाई कस्तो असर गर्छ भनेर पनि अध्ययन गरिरहेका छौं’, घिमिरेले भने, ‘अब हामी विद्यालय तहमै चरा संरक्षण दिने अभियान चलाउँदैछौं ।’  

ठेउवा  

समाजले ‘नेपाली गिद्धहरू’ पुस्तक प्रकाशन गरिसकेको छ । उसले पानी चराको चेक लिस्ट बनाइसकेको छ । साथै नवलपुरका चराविद् डिबी चौधरीसँग मिलेर ‘बडर््स अफ नबलपुर’ अध्ययन गर्दैछ ।  

मान्छेले कुनै पनि काममा सकारात्मक परिणाम ल्याउन सुझबुझपूर्ण मेहेनत गर्नुपर्छ । पोखराले घिमिरे जस्तो कुशल अगुवा भेट्टाएकाले संतोषजनक उपलब्धि भइरहेको छ ।  

खासमा घिमिरे इशानेश्वर, लमजुङका हुन् । स्कुले जीवन सकेर कलेज पढ्न उनी  २०५६ सालमा पोखरा आएका । उनले जनप्रिय क्याम्पस र पृथ्वीनारायण क्याम्पसमा पढे । तीन वर्षदेखि उनले वन विज्ञान अध्ययन संस्थान पोखरामा चराहरूको विषयमा पढाउँदै आएका छन् ।  

उनको दालभातको माध्यम पर्यटन नै हो । उनी सन् २००५ देखि पर्यटनमा जोडिएका । विदेशीलाई टे«किङ र टुर गराउँछन् । यही सिलसिलामा उनमा चरामोह जागेको रहेछ !    

सिविया 

सन् २००९ देखि लगातार तीन वर्ष उनले बेलायती समूहसँग काम गरे । पदयात्री  विदेशीको हूलमा कोही चरा, कोही जडीबुटी त कोही पुतलीको अध्ययन गर्थे । त्यसको डाटा संकलन गर्थे ।  

‘उनीहरूसँग हिँड्दा त्यो काम हामी नेपालीले नै किन नगर्ने भन्ने लाग्यो’, उनले सम्झिए, ‘त्यही बेलादेखि चराको अध्ययनमा लागेको हुँ ।’  

चराको जति अध्ययन ग¥यो उति गहिराइमा पुग्न मन लाग्छ । गर्धनमा क्यामेरा र दूरबीन झुण्ड्याएर कहिले समूहमा त कहिले एक्लै डुलिरहन्छन् उनी । उनी मुलुकभित्रका सबै निकुञ्ज र संरक्षित क्षेत्र घुमिसके । उनले नेपालमा ७१३ प्रजातिका चरा अवलोकन गरिसकेका छन् भने ५५० प्रजातिको त तस्वीरै खिचेका छन् । सन् २०१४ देखि चरा खिच्न थालेका । उनको फोटोग्राफी राम्रो छ ।  

यतिबेला उनी दक्ष जनशक्ति उत्पादन गर्दैछन् । असल गुरु त्यो हो जसका जेहेन्दार चेला हुन्छन् । यो सत्य बुझेका घिमिरेले वन क्याम्पस पढ्ने र पर्यटनमा लागेका १५ जनालाई बर्ड वाचिङ सिकाउँदैछन् । उनीहरू हरेक साता चरा अध्ययन गर्छन् ।  

चरा अध्ययनमै लाग्दा उनले धेरै स्वदेशी तथा विदेशी साथीसँगी कमाएका छन् । संरक्षणविद् राजु आचार्यहरूको संस्था ‘प्रकृतिका साथीहरू’ले उनलाई संरक्षण पुरस्कार समेत दिइसकेको छ । यसले उनमा ऊर्जा बढाएको  छ ।  

सुनजुरे हाँस 

उनी ३७ वर्षका भए । श्रीमती सरु, छोरा मानस र छोरी माभिसासँगै लेकसाइडमा बस्छन् । उनले भविष्यको खाका कोरिसकेका छन् । बाँकी जीवन पनि चराको अध्ययन र पर्यटनमै बिताउने उनको चाहना छ ।  

‘चरालाई देखाएर खाने कि मारेर ? देखाएर खाने हो भने हाम्रा सन्ततिले पनि लाभ पाउने छन् । मारेर खायौं भने यी चरा हाम्रै पुस्तामा सकिनेछन्’, उनी भन्छन्, ‘अब किताबहरू लेख्छु । चराको संरक्षणमा सबैलाई घच्घच्याउँछु ।’    

अन्त्यमा, आज हामी कोरोना भाइरसका कारण समस्यामा परेका छौं । अर्थतन्त्र धराशयी बनेको छ । कम्तीमा अबको दुई वर्ष बाह्य पर्यटक आउने संभावना देखिँदैन । त्यसैले पर्यटनकर्मीलाई टिकाउन सरकारले विशेष प्याकेज ल्याउनुपर्छ । अन्यथा एउटा पेशामा पोख्त जनशक्तिले जीविकाका लागि अर्को पेशा रोज्यो भने भोलि समस्या आउनेछ ।  

चराविद् मनशान्त सकारात्मक सोच्छन् । उनी आशावादी छन् । उनको आशा र सक्रियताले पोखरामा चरा पर्यटन फस्टाउने वातावरण बनोस् । उनलाई धेरैधेरै शुभकामना !  

बर्डस् अफ पोखरा भ्याली विमोचन कार्यक्रम । 

 

प्रकाशित: २४ जेष्ठ २०७७ १७:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App