मेरो झोलाको सानो कुनामा रहेको एउटा डायरीजस्तो हलुका यन्त्र अब मेरो पुस्तक संसार हो। जब मैले उनलाई यो यन्त्रबारे बताएँ, त्यसपछि मैले खुरुक्क झोलाबाट झिकेर यसलाई देखाएँ। फेरि उनले आग्रह गरिहाले- 'यसबारे केही लेख्नै पर्छ।' यसपालि दसैंको मुखमा मेरो हातमा आइपुगेको किताब पढ्ने यो सानो मेसिन हो : किन्डल। संक्षेपमा यसको विकासक्रमबारे बताइहालौं। अमेरिकाको बहुराष्ट्रिय बिद्युतीय व्यापार कम्पनी अमेजन डटकमले नोभेम्बर १९, २००७ मा पहिलो पुस्ताको यो हार्डवेयर यन्त्र सार्वजनिक गरेको हो। तेस्रो पुस्ताको किन्डलले एक सयवटा देश र क्षेत्रहरूमा काम गर्न सक्ने घोषणा जुलाई २८, २०१० मा भयो।
यही पछिल्लो विकासक्रमसँगै यो यन्त्र काठमाडौं आइपुगेको छ। विदेशमा पढ्न जाने विद्यार्थी र अन्य अध्येताले यसको अनुभव लिइसकेका छन्। मैले पनि यो आविस्कार अनुपम भएको महसुस गरेको छु। अनलाइन माध्यमको विकाससँगै हाम्रो दैनिक जीवनका यावत पक्षमा प्रभाव पर्न थालेको छ। यो प्रभाव अध्ययनको हाम्रो प्रवृत्तिमा समेत परेको छ।
यसैलाई ध्यानमा राखेर अखबार र पुस्तक रूखविहीन संस्करण बन्न थालेका छन्। अनलाइनमा इ-पेपर त्यसैकारण अखबारले राख्न थालेका छन्। पुस्तक संसारमा समेत यो माध्यमले राम्रै ठाउँ लिन थालेको महसुस गरेपछि किन्डलजस्तो यन्त्र हाम्रो प्रिय सामग्रीको सूचीमा थपिएको छ।
कतै भ्रमणमा निस्कनुअघि कुनकुन किताब बोक्ने भन्ने चिन्ता मलाई सधैं हुन्थ्यो। किनेर पनि पढ्न नपाएका किताबले अनावश्यक रूपमा लगेजको तौल बढाउने नै भयो। किन्डलले कति सहज पारेको छ भने चाहिएजति किताबलाई यसमा राख्न सकिन्छ। पछिल्लो यन्त्रले ३ हजार ५ सय पुस्तकलाई भण्डारण गर्ने क्षमता राख्छ। अहिल्यै अनुमान गर्न गाह्रो छ, यो क्षमता अर्को पुस्तामा कति बढेर जाने हो।
पेपरब्याक संस्करणभन्दा इकिताब सस्ता छन्। उदाहरणका लागि ३ डलर ५० सेन्ट पर्ने गुलिभर्स ट्राभल्सको किन्डल संस्करणलाई २ अमेरिकी डलरमात्र पर्छ। कतिपय पुस्तक सित्तैमा पाउने व्यवस्था छ भने केही पुस्तकका अंश पनि राखिएका छन्, जसले पुस्तक पसलमा गएर कुनै किताब छानेको अनुभूति अनलाइनमै हुन्छ। पुस्तक पसलमा पनि राम्रो लागेको पुस्तक केही अंश पढिसकेपछि किन्ने/नकिन्ने निर्णय हामीले गर्ने गर्छौं। र, यो सुविधा अनलाइन स्टोरमा गएर गर्न सकिन्छ।
किताबजस्तै आत्मियताको अनुभव कुनै मेसिनमा पढेर होला र? अनि किताबजस्तो ओछ्यानमा पल्टेर वा समुद्रको किनारमा सनबाथ गर्दै पढ्न सकिएला? यी प्रश्नको जवाफ यस सानो यन्त्रले दिन्छ। सुतेर, सोफामा ढल्केर वा चर्का घाम जहिलेसुकै पढ्न सकिन्छ। आफ्नो साथमा राखेर पानापाना पल्टाउँदै किताब पढेको अनुभूति यसमा पनि हुन्छ।
पेन्सिल लिएर अन्डरलाइन गर्दै पढ्ने बानी छ भने त्यसका निम्ति पनि चिन्ता गर्नु पर्दैन। त्यो सुविधा पनि यसमा छ। साथै आफूले बनाएका नोटलाई समेत यसमा राख्न सकिन्छ र आफूले खोजेका बेला त्यसलाई प्रयोग गर्न सकिन्छ। पढ्दापढ्दै कुनै शब्दको अर्थ थाहा भएन भने शब्दकोश खोज्न जानुपर्ने आवश्यकता छैन। आफूले नजानेको शब्द अगाडि कर्सर लिएर जानोस् त्यसको अर्थ पृष्ठको शिर वा पुच्छरमा देखिनेछ।
हाम्रोजस्तो मुलुक जहाँ १६ घन्टासम्म लोडसेडिङ हुन्छ, त्यहाँ यस्तो इरिडरको के काम? वाइफाई अफ गर्ने हो भने एक पटक पूरा चार्ज भइसकेको किन्डलको ब्याट्री एक महिनालाई पुग्छ। तर, अँध्यारोमा भने पढ्न सकिन्न है। आखिर तपाईं अँध्यारोमा किताब पनि पढ्नुहुन्न नि। यसका अक्षर पनि उज्यालोमा पढ्न मिल्ने छन्। अहिलेसम्म श्यामश्वेत अक्षरमात्र छन्। तर, चाँडै आउने रंगीन यन्त्रले किताबमा जुन रङ छ, त्यो रङ नै देखाउनेछ।
किताबमा पाना पल्टाएजस्तै गरी यसमा क्रमशः पाना पल्टाउन, अघिपछि जान सुविधा छ। आँखा नखानेगरी गाढा किसिमका अक्षर छन्। घाममा पढ्दा आँखा तिर्मिराउँदैनन्।
अघिल्लो पुस्ताको किन्डलमा इन्टरनेट सुविधा थिएन। अहिले यो पनि छ। अनलाइन सामग्री पढ्न, इमेल चेक गर्न र आफूलाई आवश्यक पर्ने नयाँ पुस्तक अर्डर गर्न सजिलो छ। वाइफाई सुविधा नहुँदा डाउनलोड गरेका किताबलाई पेन ड्राइभको सहायताले राख्नुपर्ने हुन्थ्यो भने अब यो सहज भएको छ। आफूसँग भएको कुनै सामग्रीलाई किन्डलमैत्री बनाउने सुविधासमेत अमेजनले दिएको छ। आफ्नो यन्त्रलाई अमेजनमा दर्ता गरिसकेपछि एउटा नयाँ इमेल ठेगाना प्राप्त हुन्छ, त्यसैमार्फत् आफ्ना सामग्रीलाई यसमा पठाएर किन्डलमैत्रीमा रूपान्तरण गर्न सकिन्छ।
आफूलाई आवश्यक पर्ने किताब अनलाइनमा सहजै खोज्न सकिन्छ। मन परेमा त्यसलाई अनलाइनकै माध्यमबाट किनेपछि तत्कालै आफ्नो यन्त्रमा त्यो पुस्तक आइपुग्छ। यो यन्त्रले अध्ययनका क्षेत्रमा नयाँ क्रान्ति ल्याउन थालिसकेको छ। र, पठनपाठनमा रुचि राख्ने धेरै मानिसले यसको पक्षमा आफ्नो मत जाहेर गरेका छन्।
केही व्यक्तिले अनुसन्धानात्मक अध्ययनका निम्ति असजिलो हुने टिप्पणी गरेका छन्। हामीले किताब पढ्दा कुन पृष्ठको कुन कुनामा आफूले खोजेको सामग्री छ भन्ने चित्राकृति पनि दिमागमा रहन्छ। किन्डलमा पढ्दा त्यस्तो नहुन सक्छ भन्ने धारणा तिनको छ। किन्डल सानो यन्त्र हो र कुनै बेला यो बिग्रेला वा भाँचिएला कि भन्ने चिन्ता भइनै हाल्छ। यसमा ब्याट्री हुने भएकाले कुनै बेला चार्जर आफूसँग भएन भने यसले काम नगर्न सक्छ। यी कमजोरी भए पनि किन्डल हाम्रो अध्ययनका निम्ति एउटा महान मित्र हुन सक्छ।
निश्चित रूपमा भविश्य अनलाइन माध्यमको छ। पत्रपत्रिका र पुस्तक क्रमशः टि्रलेस एडिसन (रूखविहीन संस्करण)मा गइरहेका छन्। र, हाम्रो भविश्यको अध्ययनविधि यही नै हो। भलै किन्डलजस्ता अध्ययन सामग्रीमा अरू सुधार र विस्तार हुँदै जानेछ। हामीले यस्तै यन्त्रकै माध्यमबाट आफ्नो अध्ययन बढाउन सक्नेछौं। अहिलेलाई यसको मूल्य १ सय ३९ अमेरिकी डलर छ।किन्डलमाथि यति चर्चा गर्नुको अर्थ अब भविश्य इरिडरको मात्र छ भन्ने होइन। अहिलेसम्म भइरहेका सञ्चार माध्यमको विकासले हामीलाई के सिकाएको छ भने यी माध्यम एकअर्कासँगसँगै अघि बढ्छन्।
फ्लोरिडा इन्स्टिच्युट अफ टेक्नोलजीका प्राध्यापक स्कट टिल्लीका शब्द यहाँ सम्झनु उचित हुन्छ : 'टेलिभिजनले रेडियोलाई सिध्याएन र इन्टनेटले टेलिभिजनलाई। तर रेडियो र टेलिभिजन निश्चितै रूपमा परिवर्तन भएका छन्। अनि अध्ययन पनि परिवर्तन भइरहेको छ।'
सञ्चार प्रविधिसम्बन्धी एउटा कार्यक्रममा सुनेको थिएँ, टेलिफोनको आविश्कार भएपछि अब एकअर्काबीच कुराकानी गर्न नजिकै पुग्नै नपर्ने अवस्था आएपछि अखबारले सम्पादकीय लेखेका थिए रे, भविश्यमा प्रत्येक ठूला सहरमा एक-एकवटा टेलिफोन हुनेछन्। आज प्रत्येक व्यक्तिका खल्तीमा कम्तिमा एउटा फोन भइसकेको छ।
मेरो अध्ययन अनुभवलाई पनि यी आविश्कारहरूले यसरी नै प्रभाव पारिरहनेछन्। केही महिनापछि नै अक्षर पृष्ठका संयोजकले कुनै अर्को यन्त्रबारे लेख्न नलगाउलान् भन्न सक्दिनँ।
ह्यापी इ-रिडिङ!
प्रकाशित: १३ कार्तिक २०६७ ०८:३२ शनिबार