देशमा अहिले एकतिर सुशासन र जवाफदेही शासन कसरी स्थापित गर्ने भन्ने गम्भीर बहस भइरहेको छ। यही बेला केही मिडिया चाहिं त्यो उदात्त विषयलाई कसरी तोडमोड र अपभ्रंश गर्न सकिन्छ भनेर लागेको आभास हुन्छ। मेडिकल शिक्षामा केन्द्रित देखिए पनि देशमा दण्डहीनता अन्त गरेर समग्रतामा विधिको शासन ल्याउन उद्देश्यसाथ डा.गोविन्द केसीले अहिले आमरण अनशनको घोषणा गर्नुभएको छ। अर्कोतिर उहाँको आगामी अनशनका लागि कुन ठाउँ उपयुक्त वा स्वीकार्य हुन्छ वा हुँदैन भन्नेमा अनावश्यक बहस छेडिएपछि यो विषयमा केही कुरा प्रस्ट नपारी नहुने भएको छ।
कस्तो विडम्बना भने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को परिसर अनशनको प्रयोजनका लागि प्रयोग गर्न हुँदैन भन्ने जनाउनकै लागि एउटा दैनिक पत्रिकाले सम्पादकीय नै लेखिइसकेको छ। अरु केही सञ्चार माध्यमहरुले शिक्षण अस्पतालका चिकित्सकहरुले डा.केसीलाई सकभर अनशन नबस्न र बसिहाले अस्पताल परिसरमा नबस्न दिएको सुझावलाई तोडमोड गरेर मुख्य समाचार नै बनाएर प्रकाशित गरेका छन्।
जबकि यथार्थमा यो कुनै एजेण्डा नै हैन। उहाँका सहकर्मीहरुले यस अघिका सातै वटा अनशनमा दुरुस्त यही अनुरोध गर्दै आएका हुन्। अस्पताल निर्देशक र डिनको कार्यालयबाट उहाँलाई लिखित रुपमै त्यहाँ अनशन नबस्न अनुरोध गर्ने मात्रै हैन आदेशकै भाषा प्रयोग गरिँदै आएको थियो। यसपल्ट पनि ती औपचारिकताहरु दोहोरिए। त्यति मात्र हैन, चौथो अनशनका बेला राजनीतिक दलको टीका लगाएर आएका डिन र निर्देशकले हाकाहाकी प्रहरी र गुण्डा लगाएर उहाँलाई त्यहाँबाट उठाउने धम्की दिएकै हुन्। विद्यार्थीको तीव्र प्रतिकारपछि त्यस्तो प्रयास गर्ने एक निर्देशकले परिसरमा आएर आफूले पद वहाल गर्न समेत नपाइ बर्खास्त भएका थिए। डिनलाई पछि त्रिविले बर्खास्त गर्यो।
यो पृष्ठभुमिमा यसपल्ट अन्य चिकित्सक र पदाधिकारहिरुले गरेको सामान्य आग्रहलाई उछाल्नु आवश्यक छैन। त्यो किन पनि भने, डा केसी कसैको अनुरोध वा दबाबले अनशन बस्न लाग्नुभएको होइन। त्यसैले अनुरोध वा दबाबका कारण त्यो रोकिँदैन भन्ने सबैलाई थाहा छ। जहाँसम्म बस्नलाई कुन ठाउँ ठिक भन्ने कुरा छ, त्यो उहाँको रोजाइको कुरा हो।
जहाँसम्म उहाँ त्यहाँ बस्दा अस्पतालको सेवा अवरुद्ध हुन्छ भनेर अनशनका कारण अस्पताल डुब्नेसम्मका तर्क ल्याइएका छन्, ती सबै यस कारण प्रायोजित हुन् :
१) अस्पतालको सेवा अवरुद्ध भयो भने अस्पतालका चिकित्सकहरुले सेवा छाडेका कारण हुने हो, डा.केसीका कारण हैन। अनशन अवधिभर उहाँ बिदामा रहनुहुन्छ र आफ्नो बिदा कसरी बिताउने भन्ने उहाँको छनोटको विषय हो। यसपालि जुनसुकै हालतमा हामी काम गरिरहन्छौं भन्ने उहाँका सहकर्मीहरुको प्रण हो भने त्यो डा.केसीका लागि झनै स्वागतयोग्य छ।
अस्पताल एकाध हप्ताको अनशनका कारण थला परेको हो कि सबैजसो वरिष्ठ चिकित्सकले क्लिनिकको निजी प्राक्टिसमा बढी ध्यान दिएर थला परेको हो त्यो सबैलाई राम्रोसँग थाहा छ।
यस अघि शुरुका अनशनहरुमा चिकित्सक संघको अगुवाइमा डा.केसीको आन्दोलनमा सहभागिता र सहयोगका लागि ओपीडी सेवा छाड्ने निर्णय हुँदा आन्दोलनको सट्टा निजी क्लिनिकमा गएर मौका छोपेका चिकित्सकहरुका कारण संघको सो कदमको बदनामी र निन्दा भएको थियो। अब त्यस्तो नहुँदा आन्दोलनलाई झन् बल पुग्छ र बदनामी गराउने निहुँ खोज्नेहरुले त्यो पाउँदैनन् ।
२) २०७२ सालमा डा.केसी २ पल्ट गरेर झण्डै तीन हप्ता अनशन बस्नुभयो। त्यतिबेला अस्पताल पूर्ण रुपमा कहिल्यै बन्द भएन (चिकित्सक संघको अगुवाइमा देशभरका अस्पतालमा बाहिर सारेर ओपीडि चलाइएको त्यसभन्दा अघिका चरणहरुमा हो, पछिल्लो पल्ट त्यसो भएको थिएन) । दुवै पल्ट अन्तका केही दिन स्नातकोत्तरका विद्यार्थी वा रेजिडेन्ट चिकित्सकहरुले ओपीडि छाडेपछि जागिरे चिकित्सकहरुले पनि स्वतः छाडे। त्यसले गर्दा ओपीडि सेवा २ दिन प्रभावित भएको थियो। समाचारहरु पढ्दा डा.केसीका सहकर्मीहरु अहिले त्यति अवरोध पनि आउन नदिइ काममा लागिरहने निश्चयमा भएको देखिन्छ। यो आन्दोलनका लागि खु्शीकै कुरा हो, बिरामीको सेवा प्रभावित नहोस् भन्ने डा.केसीको प्रयासलाई यसले बल पुर्याउनेछ।
३) अस्पताल एकाध हप्ताको अनशनका कारण थला परेको हो कि सबैजसो वरिष्ठ चिकित्सकले क्लिनिकको निजी प्राक्टिसमा बढी ध्यान दिएर थला परेको हो त्यो सबैलाई राम्रोसँग थाहा छ। डा.केसीलाई नैतिकताको पाठ पढाउने केही चिकित्सकहरुलाई पनि यो थाहा छ र अस्पताल पदाधिकारीहरुलाई पनि। लथालिंग व्यवस्थापन र अनियमितता रोक्ने हो भने अस्पताल भोलि नै नाफामा जान्छ। त्यसैले मुखले जे बोलिए पनि यो तर्क कसैले गम्भीरतापूर्वक गरिरहेको छैन। यसलाई गम्भीरताका साथ लिनु आवश्यक छैन।
यसपल्ट विगतभन्दा प्रस्ट स्वरमा सहकर्मीहरुले डा केसीलाई ‘अनशन नबस, बसिहाले यहाँ नबस’ भन्नुले डा.केसीको स्वास्थ्य र हितप्रति उहाँहरुको चासोलाई देखाउँछ भन्ने मलाई लाग्छ। त्यो सद्भावलाई बंग्याएर सबै जना डा.केसीको अनशनको विपक्षमा छन् भनेर प्रचार गरिनु मिडियाको दोष हो, उहाँहरुको हैन ।
जुन समय डा.केसी त्यहाँ अनशन बस्न थाल्नुहुनेछ, त्यो बखत चाहिं विगतमा झैं उहाँका सहकर्मी र पदाधिकारीहरुले सक्रिय वा निस्क्रिय सहयोग नै गर्नुहुनेछ भन्ने मेरो विश्वास छ। उहाँलाई भौतिक रुपमा आइओएम परिसरबाट हटाउन पदाधिाकारीहरु लाग्लान् भनेर कल्पना पनि गर्न सकिंदैन। त्यस्तो प्रयास भइहालेमा त्यो उनीहरुकै लागि कति प्रत्युत्पादक हुनेछ, त्यो यहाँ बताइरहनु जरुरी छैन।
जहाँसम्म सेवा चुस्त राखेर अस्पताललाई माथि लैजाने कुरा छ, त्यो हामी सबैको प्राथमिकताको कुरा हो। अनेक निहित स्वार्थ भएका त्रिवि पदाधिकारीदेखि राजनीतिज्ञहरुको स्वार्थको भार बोक्दाबोक्दै नाजुक भइसकेको संस्थाको कायापलट यसै सम्भव छैन। त्यसका लागि यसको संरचनागत सुधार गरेर राजनीतिक हस्तक्षेप रोक्नेदेखि सेवा बिस्तारको लागि थप बजेटको जोहो गर्नेसम्मका रचनात्मक कामहरु आवश्यक छन्।
विगतमा डा.केसीको अभियानकै परिणाम स्वरुप वरिष्ठताका आधारमा डिन बनेर आएका डा.प्रकाश सायमीले दलीय वफादारीबाट अलि पर हटेर निर्देशक नियुक्ति गरेलगत्तै त्यसखालको सुधारको संकेत देखिएको पनि हो। शिक्षण अस्पतालको दुरावस्थाका लागि डा.केसीको अनशनलाई दोषी ठहर्याउनुभन्दा अघि यो प्रणालीभित्रका सबैले एकपल्ट आत्मसमीक्षा गर्नैपर्ने हुन्छः के हामीले सो अस्पतालका लागि आफूले दिन सक्ने योगदान दिएका छौं? गर्ने कर्तव्य पूरा गरेका छौं?
यदि छैनौं भने भोलिदेखि आफ्नो कार्य सम्पादनमा सुधार गर्यो भने मात्र त्रिवि शिक्षण अस्पतालले काँचुली फेर्न सक्नेछ। वर्षको ३५७ दिन आफू कर्तव्यबाट च्युत हुने र संस्थाको अधोगतिमा योगदान दिनेहरुले पद्धति बसाल्ने प्रयासस्वरुप हुने सत्याग्रहका कारण अस्पताल थला पर्यो भनेर रोइलो गर्नु बेइमानी र पाखण्ड हो।
(क्षेत्री साउथ एशिया एन्ड बियाेन्ड ब्लगमा नियमित लेख्छन्)
प्रकाशित: २३ असार २०७३ ११:४० बिहीबार