अपेक्षित परिणाम
निर्वाचन परिणाम अप्रत्याशित थिएन, अपेक्षित नै थियो । कसरी र किन ? अब छलफल गरौँ । विभिन्न ठूला–साना वामपन्थी दलहरूमा फरक सोच विकसित भएको मान्नु नै पर्छ । विभाजित र टुक्रिएर आआफ्नो व्यक्तिगत स्वार्थमा अल्झिएर दीर्घकालीन सत्तासुख पाउन सकिँदैन, तसर्थ स्थानीय निर्वाचनपूर्व नै वाम घटक अधिकांश दलहरूले आपसी समझदारी र सहयोगका लागि प्रतिबद्धता र वचनबद्धता स्वीकार गरे । स्थानीय निर्वाचनमा पूर्णरूपले सफल नभएकाले योजनाबद्घ र कुशल रणनीतिक तह त सम्पूर्ण राष्ट्र र प्रदेश समेतका लागि उम्मेदवारका सूची तयार पारे साथै समानुपातिकतर्फ पनि कुनै खास विवादविना सूची तयार गरी कार्यान्वयन गरे । यसले वाम दलका तल्लो तहसम्म एकताबद्घ पार्न र ठूलो मनोबलले संगठित सक्रियतासाथ सशक्त रूपमा निर्वाचन परिणामसम्म एकढिक्का भई प्रस्तुत भएको देखियो । प्रमाणका लागि म सर्लाहीवासी भएकाले क्षेत्र नं. ३ मा आजीवन मधेसवादी दलसँग आबद्घ रामेश्वरराय यादवलाई माओवादी टिकट प्रदान गर्दा मतदानको तीन–चार दिन पहिलेसम्म एमाले र माओवादी कार्यकर्ताले स्वीकार गर्न तयार थिएनन् तर अन्तिम घडीमा माथिल्लो नेतृत्वको दबाबमा मतदान गरेर विजयीसमेत बनाए ।