आजको युग विज्ञान र प्रविधिको युग हो। जहाँ प्रविधिले दिनानुदिन द्रुत गतिमा नयाँ फड्को मारिरहेको छ। विश्व इतिहासलाई फर्केर हेर्ने हो भने कृषि क्रान्ति, औद्योगिक क्रान्ति, विद्युत्, टेलिफोन, इन्टरनेट हुँदै आज हामी कृतिम बुद्विमत्ताको अभूतपूर्व क्रान्तिमा आइपुगेका छौं। प्रविधि जतिसुकै अगाडि बढे तापनि मानिसलाई चाहिने आत्मीयता, भावना र मानवीय अनुभूतिलाई कुनै पनि एआई वा रोबोटले प्रतिस्थापन गर्न सक्दैन। प्रविधि मार्केटिङको शक्तिशाली हतियार बन्न सक्छ तर पर्यटनको वास्तविक आत्मा भनेको मानवीय अनुभूति नै हो।
यही मानवीय स्पर्श र गहिरो अनुभूतिको खोजी नै आजको विश्वव्यापी पर्यटनको नयाँ गन्तव्य बनेको छ, जसको नेतृत्व अहिलेको नयाँ पुस्ता अर्थात् जेनजी (सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका पुस्ता) ले गरिरहेको छ।
अघिल्ला पुस्ताले भौतिक सम्पत्ति जोड्न र जीवनलाई एउटा निश्चित ढाँचामा बदल्नकै लागि आफ्नो ऊर्जा र समय खर्चिए तर अहिलेका ग्लोबल जेनजी कुनै वस्तुभन्दा अनुभवमा बढी विश्वास गर्छन्। उनीहरूको स्वभाव महँगो गाडी किन्नुभन्दा महँगो र अविस्मरणीय यात्रा गर्न मन पराउने हुन्छ।
युएन पर्यटन र विभिन्न ट्राभल तथ्याङ्कका अनुसार जेनजी पर्यटकहरू आफ्नो आम्दानीको ठुलो हिस्सा घुमफिर र नयाँ अनुभव बटुल्नमा खर्च गर्ने गरेका छन्।समस्या सम्भावनाको अभाव होइन, सम्भावनालाई अवसरमा रूपान्तरण गर्न नसक्नु हो। पर्यटनलाई केवल विदेशी पर्यटक भित्र्याउने, होटल सञ्चालन गर्ने वा परम्परागत गन्तव्यको प्रचार गर्ने विषयमा सीमित राखेर अब पुग्दैन। बदलिँदो विश्वमा पर्यटनको परिभाषा बदलिएको छ।
आजको युवा पुस्ता केवल घुम्न चाहँदैन, ऊ नयाँ संस्कृति बुझ्न, स्थानीय जीवनशैली अनुभव गर्न, प्रकृतिसँग जोडिन, साहसिक गतिविधिमा सहभागी हुन र यात्रामार्फत अर्थपूर्ण कथा सिर्जना गर्न चाहन्छ। नेपालले यही बदलिँदो चाहनालाई बुझेर आफ्नो पर्यटन रणनीति परिमार्जन गर्नुपर्छ।
नेपाललाई विश्वभर लामो समयदेखि एउटा सामान्य पर्यटकीय गन्तव्यको रूपमा चिनिँदै आएको छ तर विश्वभरका (ग्लोबल) जेनजीले नेपाललाई बहुमूल्य पर्यटनको केन्द्रका रूपमा विकास र रूपान्तर गर्न सक्ने सम्भावना पनि उत्तिकै छ। सगरमाथाको काखबाट गरिने रोमाञ्चकारी स्काई डाइभिङलाई विश्वकै सबैभन्दा महँगो र रोमाञ्चक साहसिक खेलमध्ये एक मानिन्छ।
त्यस्तै, मुस्ताङ र अन्नपूर्ण सर्किटमा गरिने हेलि–साइक्लिङ (हेलिकोप्टरबाट डाँडामा पुगेर साइकलमा तल झर्ने), विश्वको अग्लो सगरमाथामा हाइ–अल्टिच्युड म्याराथन र पर्वतको कुस्मामा खेल्न पाइने विश्वकै दोस्रो अग्लो बन्जिजम्प, कालीगण्डकी र त्रिशूली नदीको र्याफ्टिङ आजको पुस्ताले खोजेका ‘एक्सट्रिम अनुभव’ हुन्।
यस्ता गतिविधिले देशमा पर्यटकको आवागमनका साथै अर्थतन्त्रमा समेत उल्लेखनीय सुधार गराउँछ। जेनजी पुस्ता प्रविधि र सम्पदाको फ्युजन प्रविधिमैत्री पुस्ता हो। उनीहरू कुनै पुरानो मन्दिर वा दरबार हेर्दा त्यसको इतिहास एउटा गाइडको मुखबाट मात्र सुन्न मात्र चाहँदैनन्। उनीहरू त्यसलाई प्रविधिमार्फत अनुभव गर्न रुचाउँछन्।
उदाहरणका लागि पाटन दरबार क्षेत्रमा उभिएर कुनै ग्लोबल जेनजी पर्यटकले आफ्नो स्मार्टफोनबाट ‘क्यु–आर कोड’ स्क्यान गर्छ र उसको मोबाइल स्क्रिनमा ‘अग्मेन्टेड रियालिटी’ मार्फत सन् २०१५ को भूकम्पअघि त्यो मन्दिर कस्तो देखिन्थ्यो वा परापूर्वकालमा दरबार कस्तो थियो? भन्ने एनिमेसन देखाउन सकिन्छ।
यस किसिमको ‘टेक–इन्टिग्रेटेड’ सांस्कृतिक पर्यटनले नेपालका ऐतिहासिक सम्पदाहरूलाई विश्वसामु बिल्कुलै नयाँ र अन्तरक्रियात्मक शैलीमा प्रस्तुत गर्न सक्छ। ‘भिजुअल इकोनोमी’, ‘ड्रोन’ पर्यटन र ‘डिजिटल स्टोरीटेलिङ’ ‘ग्लोबल जेनजी’ पुस्ताको सबैभन्दा ठुलो हतियार भनेको उनीहरूको स्मार्टफोन र सामाजिक सञ्जाल हो।
ग्लोबल जेनजीका लागि नेपाल अथाह पर्यटन सम्भावना बोकेको देश हो। हिमाल, पहाड र तराईको अनुपम भौगोलिक विविधता, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक जीवनशैली, साहसिक पर्यटन र आध्यात्मिक गन्तव्यहरू नेपालका यस्ता सम्पत्ति हुन्, जसले विश्वभरका युवा पर्यटकलाई आकर्षित गर्न सक्छन्।
डिजिटल प्रविधिसँग हुर्किएको, नयाँ अनुभवको खोजीमा रहने र सामाजिक सञ्जालमार्फत आफ्नो यात्रा संसारभर चिनाउन सक्ने ग्लोबल जेनजीका लागि नेपाल एउटा आकर्षक गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना छ तर प्रश्न उठ्छ– यति धेरै सम्भावना हुँदाहुँदै पनि हामीले किन त्यसको अपेक्षित सदुपयोग गर्न सकिरहेका छैनौं?
हामीसँग पर्यटकलाई आकर्षित गर्ने प्राकृतिक र सांस्कृतिक सम्पदा छन् तर ती सम्पदालाई विश्वबजारमा स्थापित गर्ने प्रभावकारी रणनीति कति छ ? हामीसँग साहसिक पर्यटनका अनगिन्ती अवसर छन् तर युवा पुस्ताले खोजेजस्तो सहज पहुँच, सुरक्षित यात्रा, गुणस्तरीय सेवा र आधुनिक पर्यटकीय अनुभव दिन सकेका छौं? हाम्रा गन्तव्यहरू सुन्दर छन् तर ती गन्तव्यको डिजिटल प्रचार, अन्तर्राष्ट्रिय बजारसँगको पहुँच र पर्यटकमैत्री पूर्वाधार निर्माणमा हामी कति गम्भीर छौं ? यी प्रश्नको जवाफ खोज्ने समय आएको छ।
पर्यटन उद्योगहरूको अध्ययनका अनुसार विश्वका करिब ५० प्रतिशतभन्दा बढी जेनजी युवाहरू आगामी घुम्ने गन्तव्य ‘इन्स्टाग्राम’ वा टिकटक हेरेर तय गर्छन्। उनीहरूका लागि ‘ट्राभल एजेन्सी’ को ब्रोसरभन्दा एउटा भाइरल ‘रिल वा ड्रोन’ भिडियो सय गुणा बढी प्रभावकारी हुन्छ।
मर्दी हिमालको चुचुरो होस्, रारा तालको पानी होस् वा डोल्पाको उजाड पहाडले मनमोहक सौन्दर्य, भिजुअल कन्टेन्ट क्रिएटरहरूका लागि स्वर्ग हो। जेनजी पर्यटकहरू ड्रोन सट, भ्लगिङ र ‘डिजिटल स्टोरीटेलिङ’ मार्फत आफैंमा नेपालका ‘ब्राण्ड एम्बेसडर’ बन्न सक्छन्।
भारतको ऋषिकेश वा इन्डोनेसियाको बालीमा ध्यान र योगा गर्न जाने लाखौं जेनजी पर्यटकलाई नेपालले सजिलै आकर्षित गर्न सक्छ। हामीकहाँ आधुनिक भजनमा युवा रमाउँछन्। साउन्ड बाथ थेरापी र विपश्यना ध्यान केन्द्रजस्ता आध्यात्मिक पर्यटनले समेत जेनजी पुस्तालाई तान्न सक्ने अथाह सम्भावना छन्।
नेपालका होमस्टेहरू सिरुबारी, घलेगाउँ र चितवनका थारु गाउँहरू रहेका छन्। जहाँ पर्यटकहरू गाउँका स्थानीयको घरमा बस्छन्, उनीहरूसँगै खेतमा काम गर्छन् र अर्गानिक खानाको स्वादमा रमाउँछन्। यस्ता कुरा जेनजीका लागि निकै मूल्यवान् छन्।
नेपालको सन्दर्भमा नेवारी परिकार, थकाली खाना र सहरका कुनाकाप्चामा लुकेका परम्परागत खाजा घरहरूले जेनजीलाई ‘फुड टुरिजम’को उत्कृष्ट अनुभव दिन सक्ने सम्भावना छ।
प्रकाशित: १४ कार्तिक २०८३ १२:२६ शनिबार





