वैदिक चिन्तन परम्परा अनुसार स्रष्टा प्रकृति हो र द्रष्टा चेतना हो, विवेक हो। प्राकृतिक दिव्यता र चैतन्य दिव्यता दुवै अद्वितीय छन् र अनवरत छन् र तिनको एकत्व र अन्तर्क्रियाले जीवन र जगत् चलेको छ, सजीव छ र बोध्य छ। पौरस्त्य चिन्तन परम्परामा कल्प, कल्पना, सङ्कल्प र सङ्कल्पनाको ठूलो महत्त्व छ।
अन्तश्चेतनाविनाको भौतिकीलाई मात्र प्रत्यक्ष जीवन मान्दैनन् पौरस्त्य चिन्तकहरू। अन्तश्चेतनले भौतिकीमाथि पारख गर्नु नै जीवनको सार हो - धर्म, अर्थ, काम र मोक्ष अर्थसिद्धिका चार अङ्गको माने त्यही हो। मानिसका भित्री तत्त्वका रूपमा रहेको त्यही विवेक चैतन्यलाई पौरस्त्य चिन्तकहरूले अन्तर्ब्रह्म,आत्मा, अहंकार वा अध्यात्मसत्ता मान्दै आए।
पौरस्त्य परम्परामा काव्यसाधनाको बडो महत्त्व छ। काव्य भनेको मानिसका तिनै अन्तर्ब्रह्मका उत्पादन हुन्; उपज हुन्जसलाई कविकल्पना भनियो। उसबेला रचनाका लागि छन्द अपरिहार्य हुन्थ्यो। कथ्य काव्यका रूपमा श्रुतिहरू जन्मे। पद्यमै अहिले सिर्जनाका विधा मानिएका कविता, आख्यान, नाटक र निबन्धका अन्तरवस्तुहरू आए। आख्यान श्रुतिकाव्य परम्पराको सबैभन्दा चखिलो र चोटिलो पाटो हुँदै पूर्वमा कथापरम्पराको नदी अझै निरन्तर बग्दो छ - गद्यमा होस् वा पद्यमा वा गद्यपद्य मिश्रित चम्पुमा।
उता पश्चिमका प्लेटोचाहिँ भौतिक जगत्लाई ईश्वरीय सत्ताको सयौँ गुना टाढाको कल्पना र कविकलाकारको कल्पना त्यो काल्पनिकताको सयौँ गुना टाढाको कुरा मानेर समाजमा कविकलाकारलाई स्थान दिन नहुने मान्थे। त्यसो हुँदा हुँदै पनि पश्चिममा समाजले पनि कविकल्पनालाई स्थान दिँदै अनेक काव्य जन्मिए। पछिल्ला शतकहरूमा विश्वमा छोटा कथा, छोटा कविता, एकाङ्की नाटक आदि रचनाविधा झाङ्गिँदै आए। आख्यान वा गैरआख्यान जुन रूपका भए पनि सिर्जनात्मक रचनाहरू आज साहित्य भनेर चिनिन्छन्। साहित्येत्तर वाङ्मयलाई पहिला शास्त्र भनिन्थ्यो अहिले भाषाका हिसाबले सामान्य सङ्कथनका रूपमा लिन थालिएको छ।
पौरस्त्य र पाश्चात्य दुवैतर्फबाट धारिँदै आएका यी सृष्टिकारितका यी वैशिष्ठ्यको मिश्रण गर्दै नेपाली भाषाको आधुनिक कालमा साहित्यले एक अलग्गै स्थान लिएको छ - जसलाई हामी आधुनिक नेपाली साहित्य भन्ने साझा नामबाट चिन्ने-चिनाउने गर्छाैं। आधुनिक नेपाली साहित्यको कुरा गर्दा आदर्शोन्मुख यथार्थवादी धाराका गुरुप्रसाद मैनाली, पुष्कर शमशेर हुँदै सामाजिक यथार्थवादी धाराका इन्द्रबहादुर राईदेखि लीलालेखन धाराका कृष्ण धरावासीसम्म तन्कँदै निरन्तर बग्दो छ - आख्यान; महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि अर्जुन पराजुली वा मोतीराम भट्टदेखि प्रदीप रोदनसम्म बग्दो छ आधुनिक कविता-गजल; र बालकृष्ण समदेखि अशेष मल्लसम्मका नाटक वा भनौँ देवकोटा, लामिछाने हुँदै आएको यात्रासंस्मरण, यात्रानिबन्ध, नियात्रा हुँदै बढ्दो पर्यासाहित्यसम्म। आधुनिक नेपाली साहित्यका यी विभिन्न प्रजातीय झाङ झाँगिएको झाँगियै छन्। अनि यिनको गतिसँगै यिनैको दौँतर छाया बनेर साथमा हिडिरहेछ - समालोचना अर्थात् समीक्षा साहित्य पनि।
समालोचना वा समीक्षा आफैँमा अनेक धार लिएर बग्दो छ र त्यही बग्दो धारको एउटा फेरो समाउँदै आधुनिक साहित्य भूमिमा उम्रिएका ३० स्रष्टाका अन्तर्ब्रह्मले उब्जाएका सिर्जनारूपी रचनामाथिको आर्षदृष्टिपात हो विमल अधिकारीको समीक्षाकृति - 'पारख'।
विमल अधिकारीको पारख (समीक्षासङग्रह) मा ३० स्रष्टाका ३० रचनाकृतिको समीक्षालोकन छ। समीक्षाको भार कथामा छ तर कथाको मात्र प्रसङ्ग उठाउन खोजिएको छैन। उपन्यास, कथा, निबन्ध, नियात्रा, आत्मकहानी, गजल जस्ता वैविध्य रचनामाथि आर्षदृष्टिपात भएको छ विमल अधिकारीबाट पारखमा। अधिकारीले दुइटा उपन्यास, एउटा लघुकथा, १२ कथा, सात कविता, एउटा गजल, दुइटा आत्मकहानी, एउटा निबन्ध, चार नियात्रा र एउटा समालोचनामाथि समीक्षात्मक आकलन प्रस्तुत गरेका छन्।
उनको त्यही समालोचकीय ग्रन्थबारे म केही शब्द भन्दै छु– जसमाथि अहिले पाठकका आँखा दगुर्दै छन्। आधुनिक नेपाली शीर्षस्थ कविका रूपमा महाकविको सम्मानविभूषित साहित्यकार लक्ष्मीप्रसाद देवकोटाको ’मर्स्याङ्दी’ कथादेखि लिएर कृष्ण धरावासी र महेश थापासम्मका पछिल्ला अद्यतन जल्दाबल्दा साहित्यकारका रचनामाथि अधिकारीको द्रष्टा पारख लोभलाग्दो छ र छ चाखलाग्दो पनि।
अधिकारी अत्यन्त सरल पाराले कृतिसमीक्षा गर्छन्। उनको समालोचकीमा शास्त्रीयताका केही वास्ना छन् भने पाठावलोकन शैलीको प्रयोगद्वारा उनको समीक्षा सुबोध्य छ। खासमा भन्ने हो भने सम्पूर्ण स्रष्टाका अन्तर्य बुझ्न रचनामा पुग्नै नपर्ने गरी रचनाको शल्यक्रिया गरिदिएका छन् अधिकारीले।
उनका समीक्षालेखहरूले भन्छन् उनी पूरै रचना वा कृतिमा पहिले चुर्लुम्म डुब्छन्, पौडिन्छन, नुहाउँछन् त्यही स्नानस्निग्धतालाई अक्षराङ्कन गर्छन् आफ्ना समीक्षारचनाका रूपमा।
यसैले उनका समीक्षा निर्मल छन्। समय नहुनेलाई समीक्षा पढ्दा पुग्ने र समय हुनेलाई रचना पढ्न कुतूहल सिर्जना गर्ने चमत्कारी बान्कीको छ - समीक्षाकृति ‘पारख’। देवकोटा, विश्वेश्वर, पारिजात, इन्द्रबहादुर, ब्राजाकी, प्रेमा शाह, महेशविक्रम शाह, धरावासी, महेश थापा, खेमराज पोखरेल जस्ताका रचनाकाे छुराकैँची चलाएर तिनलाई चिटिक्क देखाइदिने विमलको कलम साँच्चै आरिसलाग्दो छ।
डायस्पोराका नवोदित स्रष्टासर्जकबारे पनि विमलले मजाले समीक्षा लेखेका छन्। नारी स्रष्टाका कृतिबारे ओजपूर्ण समीक्षा गरेर अधिकारीले आफ्नो साहित्यप्रतिको निरपेक्ष लैङ्गिक न्यायचेतको उजागर गरेका छन्।
जनकपुरका स्रष्टा सुरेन्द्र लाभको एक फुटकर कथालाई पनि समीक्षामा समेटेर अधिकारीले आफूलाई समावेशी समीक्षक बनाउने चेष्टा गरेका छन्। उनैलाई पढाउने गुरुआमा प्रेमा शाह, एमए पढ्दाका उनका शोधनिर्देशक रमेशकुमार भट्टराई र शोधनायक मनु ब्राजाकीका कृतिमाथि उनले गरेको समीक्षाचाहिँ उनले गुरुदक्षिणास्वरूपको श्रद्धासुमन हो कि भनेजस्तो भान हुन्छ।
अधिकारी सात समुद्रपारि छन्तथापी नेपाली साहित्यको श्रीवृद्धिमा तल्लीन छन् जसले उनको मनचाहिँ नेपालमै छ भन्ने छ्याङ्ङ बनाउँछ। उनी स्रष्टाहरूका साहित्यिक योगदानलाई उद्याउने, उजिल्याउने र चम्काउने धुनमा छन्। उनको यो धुन अझ बढेर जाओस् अरूअरू यस्तै स्रष्टासृष्टिमाथि दृष्टिपात हुँदै जाओस् र नयाँ स्वाद चाख्दै जान पाऊँ। शुभकामना!
प्रकाशित: २५ चैत्र २०८२ ०८:२८ बुधबार





