एक्कासि बिउँझिन्छु। अँध्यारोमा छामछुम गर्दै उहाँका हातका औँला र छाती सुम्सुम्याउँछु अनि आश्वस्त हुन्छु। घाँटी वरिपरि पसिनै पसिना हुन्छ - पुछ्छु। मेरो सुम्सुम्याइले उहाँको पनि निद्रा खुलिसकेको हुन्छ।
“के भो नानी? किन त्यसरी अत्तालिंदै उठेकी?” मेरो टाउको आफ्नो छातीमा राख्दै सोध्नुहुन्छ।
“खै! एक्कासि निद्रा टुट्यो - सपनामा केही नराम्रो देखें कि?” म अब सामान्य अवस्थामा फर्किसकेकी हुन्छु।
“के देखिस् त्यस्तो डरलाग्दो सपना?”
“बिर्सिहालेँ नि।”
“मलाई पनि भन्न नहुने?” ठट्टा र शंकाको सम्मिश्रित स्वर मेरो कानमा दौडिन्छ।
“सत्य होला - बिर्सेँ। नभए हजुरलाई नभनेर कसलाई भन्ने?” म लाडिएर पल्टिन्छु। मेरो अन्तिम जवाफ सधैं यस्तै पाराको हुने गर्छ।
हुन पनि अचम्म लागिरहेछ। कहिले सासू आमाले कराएजस्तो लाग्छ - “दुलही! कोसँग सुतेकी हँ तँ?”
कहालिंदै बिउँझिन्छु। कहिलेकाहीँ उहाँ आफैँले सोधे जस्तो लाग्छ। बिउँझेपछि भने मात्र वास्तविक अवस्थाप्रति आश्वस्त हुन सक्छु।
यस्तै हो। यसरी बिउँझिएपछि मलाई हत्तपत्त निद्राले फेरि छुँदैन। छेउमा उहाँ भने मस्तसँग निदाइसक्नुभएको हुन्छ।
बत्ती बालेर हेर्छु। कति दुब्लो छ शरीर। अझ जागिर खान थालेपछि त कहिल्यै पन्पिन सकेको छैन। हुन पनि केही खाएको जीउमा लाग्न पाउँदैन। गर्मी ठाउँ - होटलको खाना। पिरो उहाँलाई खानै हुँदैन। होटलमा पिरो नभएको केही पाइने हैन। फेरि अफिसमा पनि कामको मारामार छ भन्नुहुन्थ्यो।
सम्झन्छु। बिहे गरेको पनि पाँच वर्ष पूरा भइसकेछ। अस्ति माइतीमा दिदीबहिनीहरूले जिस्क्याएको अहिले जस्तो लाग्छ।
“क्या हो कल्पी? अझैसम्म सुरसार नहुँदा त - क्या हो, क्या हो! ज्वाइँलाई अलिक भिटामिन खुवाउने गर।”
दिदीको स्वरमा सहानुभूतिभन्दा व्यङ्ग्य नै बढी थियो।
बैनी तीन वर्षे र एक वर्षे आफ्ना छोराहरू च्यापेर बेस्सरी हाँसेकी थिई। बजिनी! त्यसलाई पनि मेरो खेदो खन्नुपर्ने!
यी दिदीबहिनीको जात पनि साह्रै नहुने। बिहे नगरुन्जेल एउटै भावना र सपनासँगै रुमलिँदै गइन्छ। दुःखसुख सबै बाँडीचुँडी हुन्छ - गोप्यता केही रहँदैन। बिहे गरेपछि आफूभन्दा राम्रो भयो भने डाहले मर्न खोज्छन्; अलिकति निमुखो भयो कि गरी खानै दिँदैनन्। उहाँको खोकीको आवाजले मेरो तन्द्रा टुक्रिन्छ।
दुई जना छोराछोरी र एउटा सानो छाप्रोको हाम्रो कलिलो कल्पना आक्कलझुक्कल सम्झिरहन्छु। आजकल त उहाँको कल्पनाले पनि कोल्टे फेरिसकेको छ।
“तैँले मलाई माया गरिरहनू - म तँलाई माया गरिरहूँला। जिन्दगी हामी आफ्नै पाराको सुखले भरेर बिताउँला, है नानी।”
“मलाई हजुर भएपछि पुग्छ - अरू केही, कसैको पनि चाहना छैन।”
तर आफ्ना डरलाग्दा सपनाहरू, गाउँघर र इष्टमित्रले हानेका छेडखानका शब्दहरू अनि दिदीबहिनीका व्यङ्ग्यात्मक ओठलेप्राइहरूबारे म उहाँलाई केही भन्न सक्दिनँ। उसै त भावुक मान्छे - त्यसमाथि कमजोर हुनुहुन्छ। यस्ता कुराले - मलाई थाहा छ - उहाँलाई शान्तिसँग बाँच्न दिँदैनन्।
“ए दुलही, घाम लागिसक्यो - चाँडो उठ।”
सासू आमाको उही स्वर फेरि गुन्जिन्छ। अरू बेला वात्सल्यपूर्वक लाग्ने त्यो स्वर पनि यस्तो बेलामा कहिलेकाहीँ कर्कश जस्तो सुनिन्छ।
म उठ्छु। आफ्नो कमजोर पतिको जीर्ण शरीरलाई एकपल्ट नियाल्छु अनि नित्यकर्म गर्न ढोका खोलेर बाहिर निस्किन्छु।
प्रकाशित: ७ भाद्र २०८३ ०७:५१ आइतबार





