२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

दसैंकाे मुख

लघुकथा

शाेक-सभा आयाेजना गरिएकाे थियाे। सभामा बाक्लाे उपस्थिति थियाे। जसै सभा आरम्भ भयाे, पालैपालो शाेक शब्दहरू व्यक्त हुँदै गए। त्यसै क्रममा दाँतले मासुकाे चाेक्टा लुछ्दै गम्भीरता प्रकट गर्‍याे , "युवाहरू मारिएका छन्! छाती साँच्चै गह्रौं भएकाे छ। मृत आत्माकाे चीर शाान्तिकाे कामना!"

जिब्रोले रक्ति रसस्वादन गर्दै सन्ताप व्यक्त गर्‍याे, "यतिबेला म ती आमाहरूलाई सम्झिरहेकाे छु, जसकाे काख सधैंका लागि रित्तिएकाे छ! हार्दिक श्रद्धा सुमन!"

ओठले मदिराकाे प्याला सुरुप्प पार्दै तिक्तता पाेख्याे, "हे ईश्वर, दशैंकाे मुखमा कत्राे बज्रपात पर्न गयाे? शाेकाकुल परिवारजनमा हार्दिक समवेदना!"

शाेक-सभा सकियाे तर सभा सकिनुअघि शाेक पुस्तिकाकाे पुछारमा एउटा महत्त्वपूर्ण निर्णय लेखिएकाे थियाे- याे दुखद् घडीमा यस्तै शाेक-सभाहरूमा सामेल हुनेबाहेक यसपालिको दसैं  नमान्ने निर्णय गरिएकाे छ!

प्रकाशित: १८ आश्विन २०८२ ११:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App