७ कार्तिक २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

ब्यारेकको घन्टी

लघुकथा

"ऊ बाबा आउनुभयो..." भन्दै धुले बाटोमा खेलिरहेका दुई बालक दौडिँदै पर बाटोमा पुगे र जितमानको अँगालोमा बेरिए। उसले पालैपालो दुवैको गालामा म्वाइँ खायो र छातीमा टाँस्यो।

एकछिन त ऊ अवाक् जस्तो भयो। उसले मनमनै सोच्यो, "एक वर्षमै कति ठूला भइसकेछन् मेरा मुटुका टुक्राहरू।"

राजधानीको एक ब्यारेकका प्रहरी हवलदार जितमान चौधरी करिब एक वर्षपछि दुई दिन लगाएर घर पुगेको थियो। पछाडि गह्राैं झोला र दुई हातमा छोराछोरीलाई डोर्‍याउँदै पूर्णिमाको जून सिधै आँगनमा ओर्लिएझैँ गरी टुप्लुक्क आइपुग्यो। यस्तो लाग्थ्यो, त्यस परिवारको लागि ऊ यसपालिको सिङ्गो दसैं हो।

उसका वृद्ध बाआमाको अनुहार खुसीले चौडा भएको थियो। उसकी श्रीमती फुलमती त झन् खुसीले बेहोसजस्तै भएकी थिई। यस्तो लाग्थ्यो, मानौँ परमेश्वरले अरूको भागको खुसी पनि त्यही घरमा बर्साइदिएका हुन्।

उसले झोलाबाट सबैलाई कोसेली झिकेर दियो। फुलमतीले आमखोरामा पानी टकारेसँगै ऊ हातखुट्टा धोएर खाना खान बस्यो। फुलमतीको जादुमयी हातले बनाएको खाना खान पाउँदा ऊ दङ्गदास थियो।

खाना खाएर उठ्दै गर्दा उसले भन्यो, "छिटो गर है! यात्राको थकान छ बरु छिटै सुत्नुपर्छ।"

"पहिलाभन्दा अझै राम्री देखिएकी छौ त!" उसले फुलमतीलाई जिस्क्याउँदै आफूतिर तान्यो। ऊ लाजले केही बोल्न सकिन। ओछ्यानमा पल्टेर दुवैले अबेरसम्म प्रेमिल कुरा गरिरहे साथै टिकाको अर्को दिन ससुराली जाने र बच्चाहरूसँगै घुम्न जाने योजना पनि बनाए। त्यसैबीच फुलमतीले सोधी, यसपालिचाहिं छुट्टी कति दिनको छ नि?"

एकाएक ब्यारेकको घन्टीको चर्को स्वरले जितमानको निन्द्रा खुल्यो। हतारमा युनिफर्म लगाएर ऊ सेन्ट्रीतर्फ लाग्यो।

प्रकाशित: ६ कार्तिक २०८३ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App