१) तिमीले हेरेको...
तिमीले हेरेको राम्रो लाग्यो
तिमीले बोलेको राम्रो लाग्यो
धड्कनमा तिमी धड्किन थाल्यौ
मनमा माया बढे जस्तो लाग्यो
टोलाएर बस्छु अचेल, एकहोरो भएछु
तिम्रै यादको सागरमा, आफैँलाई भुलेछु
लुकी हेर्दै तिमीलाई, सपना सजाउन थालेछु
बाटो हेर्दै दोबाटोमा, तिमीलाई नै पर्खिन थालेछु।
तिमीले लजाएको राम्रो लाग्यो...
हाम्रो मायाको चर्चा चारै तिर चल्न थालेछ
मेरो नामसँग तिम्रो नाम, अब जोडिन थालेछ
कस्तो मिठो रहर यो, बसन्तले पालुवा फेरेछ
ख्याल-ख्यालैमा मनमा माया पलाउन थालेछ
तिमिले हाँसेको राम्रो लाग्यो...
२) एउटै इच्छा
एउटै इच्छा प्रिय तिम्रो खुसी हेर्न पाऊ
फुलझै फुलेको तिमी मनभरी देख्न पाऊ
तिमी भएर त जीवन उज्यालो लाग्छ
तिमी पाएर त जिवन न्यानो लाग्छ
पुर्णिमाको जून तिमी हेरिरहन पाऊ
तिम्रो शितल छहारीमा बसिरहन पाऊ।
तिमि बिना मेरो धड्कन चल्छ कसरी
फेरीरहेको श्वास पनि रोकिन्छ जसरी
स्वार्गकको परी तिमीमै रमिरहन पाऊ
धर्ती आकाश रहेसम्म तिम्रै भइरहन पाऊ।
३) कसरी एउटी
कसरी एउटी परी बसिछे आँखाको डिलमा,
परेँ म त दोधारैमा- राखूँ कि नराखूँ यो दिलमा ।
कस्तो छ आनीबानी, मुस्कानभित्र रहस्यको कहानी ,
सताउँछे ऊ कि जानीजानी - प्रेम हो कि यो छलछामी ?
फूलझैँ नरम छैन जूनझैँ शान्त होइन
शङ्का लाग्छ मनमा -किन बदलिन्छ पलमा।
छोटो छ जीवन लामो छ जिन्दगीको यात्रा
सङ्गै होला कि बिच दोबाटोमै हराउला कथा ।
मायाको सुरुवात हुन हो कि अन्त्य हुन हो
मन असाध्यै गाँजिन्छ - किन पीरैपीरको रातमा ।
(गीतकार निरुपम श्रेष्ठकाे गीतिसंग्रह कुमारी मायामा सङ्गृहीत।)
प्रकाशित: ५ असार २०८३ १३:४२ शुक्रबार





