१) मुक्तक
आँधी, हुरी, घाम, पानी सहनुपर्छ
भूकम्प नै आए पनि स्थिर रहनुपर्छ
फूल हुँ सुन्दर देखिनु नै पर्छ
लुकाएर पीडा आफैंसँग कहनुपर्छ।
२) मुक्तक
कति कुरा गाह्राे हुन्छ आवाजबाट कहन
पल क्षण बितेपछि नसकिएला सहन
बुझ्नेले बुझ्नुपर्छ मनको ईशारा नै
अनजान बन्दा पर्ला फेरि आँखाबाट बहन।
३) मुक्तक
भन्छु त्यही गर्न मानिदिन्छौ आमा
नकहे नि मनको पीर जानिदिन्छौ आमा
छोराछोरी हुर्किसके जिम्मेवारी बढिसके
अझै पनि साना बच्चा ठानिदिन्छौ आमा।
४) मुक्तक
तिम्रै लागि भनी एउटा गीत लेखुँ म
फूलमा मात्र होइन काँडामा पनि प्रित देखुँ म
वसन्तको बहारमा सबै फुल्छन् फल्छन्
शिशिरमा पनि फुल्ने फूलको रित लेखुँ म।
५) मुक्तक
कोही तनमा अनि मनमा विवशताको घाउ बोकेर हिँड्छन्
कोही त्यही घाउ कोट्याउँदै नुन छर्ने दाउ बोकेर हिँड्छन्
खुट्टा तान्दै अरूलाई लडाएर आफ्नाे जित ठान्नेहरू
किन्ने र बेच्ने होडमा बगलीमा आफ्नै भाउ बोकेर हिँड्छन्।
प्रकाशित: १८ वैशाख २०८३ ०८:३५ शुक्रबार





