१) मुक्तक
आफूले आफैंलाई छलीछली कसरी लेख्नु र?
पराईको होस् भनेर ढलिमली कसरी लेख्नु र?
हु न त जिउने रहर सक्किसकेको मान्छे हुँ म
मैले मेरै नाममा श्रद्धाञ्जली कसरी लेख्नु र?
२) मुक्तक
म छु भन्दै साथ नदिने कति छन् कति छन्
सम्झिँदा सम्झिँदै बिर्सिने कति छन् कति छन्
फर्किन्छु भन्यौ तिमीले पनि छुटिने बेलामा
फर्किन्छु भनेर नफर्किने कति छन् कति छन्।
३) मुक्तक
थाहा छैन कति माफ हुन्छन् कति माफ हुन्नन्
दुश्मन पनि कतिपय दुश्मनकै खिलाफ हुन्नन्
प्रश्न-उत्तरको अपेक्षा के राख्नु धोका दिनेसँग
भगवानसँग पनि त सबै प्रश्नका जवाफ हुन्नन्।
४) मुक्तक
प्रयोग हुन्न उसै जान्छ खेर, कसरी लिनु र मैले
पठाउँछौ रुमालमा पोको पारेर, कसरी लिनु र मैले
प्रेमीले आत्माघात गरेको प्रेम दिवसकै दिन हो
तिमीले दिन्छौं गुलाफ किनेर, कसरी लिनु र मैले।
५) मुक्तक
छेउमै बसे पनि बरु नछोई हेरेर मर्न मन छ
थामेर मन आँसुले नधोई हेरेर मर्न मन छ
गुलाफको फूलसम्म राम्रो लागेन भन्थ्यो ऊ
कस्ती पर्ली कुन्नि उसकी जोई हेरेर मर्न मन छ।
प्रकाशित: २८ कार्तिक २०८२ ०९:०० शुक्रबार





