२७ असार २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

भ्रम

लघुकथा

रामबहादुर चिन्तित मुहारमा खेतको डिलमा बसेका थिए। त्यत्तिकैमा हातमा रेडियो र मुखमा चुरोट च्यापेर हरिप्रसाद आइपुग्यो, "के छ रामे दाजु? यसपालि त धानको बीउ खेतमै डढ्ने भो! त्यो रित्तो बोरा समातेर किन बसेको नि?"

रामबहादुरले लामो सुस्केरा हाल्दै भने, "के गर्नु हरि भाइ, आकाशमा बादल छैन। सहकारीमा मल लिन गएको, लाइन बस्दाबस्दै पालो आउने बेला 'मल सकियो' भन्दिए। यो रित्तो बोरा अब सरकारलाई उपहार पठाउनुपर्ला जस्तो छ।"

हरिप्रसादले रेडियोको आवाज बढाउँदै भने, "धत्! तिमी पनि के पुरानै कुरा गर्छौ। रेडियो सुन त, कृषि मन्त्रीज्यूले भर्खरै भाषण गर्नुभएको, 'यसपालि देशमा मलको कुनै अभाव छैन, कृषकहरू आत्मनिर्भर बन्दैछन्।' तिमीचाहिँ मल पाएन भन्छौ!"

रामबहादुर आक्रोशित भए, "मन्त्रीको भाषणले मेरो खेतमा धान फल्छ हरि? मल लिन जाँदा प्रहरीको लाठी खानुपर्छ। सरकारबाट मल नपाएर ढाड सेकियो। हिजो चुनावमा ‘गाउँगाउँमा सिंहदरबार, खेतखेतमा पानी र मल' भन्थे। अहिले सिंहदरबार होइन हाम्रा लागि सिंह मात्र आयो, दरबार अर्कैले भोग्दैछ!"

त्यत्तिकैमा आकाशमा कालो बादल मडारियो। रामबहादुरको अनुहारमा खुसीको चमक आयो, "अहो! बादल लाग्यो, अब पानी पर्छ कि क्या हो!"

रेडियोबाट तुरुन्तै आवाज आयो, "विशेष बुलेटिन! आज देशमा 'कृत्रिम वर्षा' को परीक्षण गरिँदैछ। प्राविधिक कारणवश यो वर्षा सिंहदरबार र मन्त्रीज्यूहरूको निवास वरिपरि मात्र सीमित रहनेछ। किसानहरूले आकाशतिर हेरेरै चित्त बुझाउनुहोला...!"

रामबहादुरले आक्रोशमा रित्तो बोरा भुइँमा पछारे। उनले हरिप्रसादको हातबाट रेडियो खोसेर चिरा परेको माटोमा बजारिदिंदै भने, "हो रहेछ हरि भाइ, देश साँच्चिकै डिजिटल भइसकेछ! अब हामीले भात खान खेत खन्नु पर्दैन, मन्त्रीको भाषण फेसबुकमा लाइक गरेकै भरमा पेट भरिने भो होइन त!"

प्रकाशित: २७ असार २०८३ १३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App