१) मुक्तक
बेलैमा टुहुराटुहुरी बनाई मुटु चुँडेर लग्यौ आमा
अन्धकार रातमा खरानी भइकन पानीमा बग्यौ आमा
हिमाल जस्तो अटल तिम्रो आत्मविश्वास हुँदाहुँदै पनि
के कुराले विचलित बनी कालसँग हारेर डग्यौ आमा?
२) मुक्तक
कस्ती भयौ होली हे आमा कस्तो होला घरबार
झुपडीको बास छ कि बनाएकी छौ दरबार
मलाई पनि अटाउने ठाउँ राख्न नभुले है
आधा मारी मलाई यहाँ आफू एक्लै नडुले है।
३) मुक्तक
रिसाएर हो कि आमा सपनीमा नि भेट्न पाइनँ
तिमीसँगै बस्ने तिर्खा कसै गरेर मेट्न पाइनँ
टुक्रला जस्तो हुन्छ मुटु तिम्रो यादले सताउँदा
किन फुट्यो भाग्य मेरो तिम्रो काखमा लेट्न पाइनँ।
४) मुक्तक
भारी वर्षा भयो आमा कतै तिमी डरायौ कि
एक्लो भई निसासिँदै चिच्याएर करायौ कि
आशा छैन अझै नि मौसममा सुधार हुने
भन्ने चिन्ता लिइकन भित्रभित्रै चरायौ कि?
५) मुक्तक
कति खुसी हुन्थेँ हे आमा! तिमीसँगै जान पाए
मीठोमसिनो जे जति छन् सँगै बाँडी खान पाए
एक निमेष नि छोड्ने थिइनँ आमा तिमीलाई
मेरो पनि सास तिम्रै पछि लागेर लान पाए।
प्रकाशित: ४ वैशाख २०८३ ०९:०७ शुक्रबार





