३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

ज्ञवालीको तेस्रो कथासंग्रह ‘मन्दाकिनी’ विमोचन

पहिलो कृति ‘सम्पूर्ण आकाश’ र दोस्रो ‘संघर्ष’ ले जस्तै मानवीय संवेदनाको गहिराइ स्पर्श गर्ने विश्वास

कथाकार शोभा ज्ञवालीको तेस्रो कथासंग्रह ‘मन्दाकिनी’ विमोचन गरिएको छ। काठमाडौंमा शनिबार आयोजित विशेष समारोहबिच उक्त कथासंग्रह विमोचन गरिएको हो। नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीसहित साहित्यकार डा. नवराज लम्साल, साहित्यकार एवं वरिष्ठ पत्रकार बबिता बस्नेत, कथाकार ज्ञवाली लगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।

नेपाल रिपब्लिक मिडियाकी अध्यक्षसमेत रहेकी ज्ञवालीले ‘मन्दाकिनी’ कलम र शब्दको मात्र उत्पादन नभई आँसु, पीडा र आशाबाट जन्मिएको पुस्तक भएको बताइन्। ‘आज म यहाँ लेखकका रूपमा मात्र नभएर समाजका नदेखिएका कथाहरू बोकेर आएकी छु’, उनले भनिन्, ‘यो कुनै कल्पनाको संसार होइन, हाम्रै वरिपरि बाँचिरहेका मानिसका जीवनसँग जोडिएका केही सत्यतथ्यको प्रस्तुति हो।’

ज्ञवालीले आफ्नो पहिलो कृति ‘सम्पूर्ण आकाश’ मा सपनाको भाषा बोलेको, दोस्रो कृति ‘संघर्ष’ मा यथार्थको स्वर उरालेको र तेस्रो कृति ‘मन्दाकिनी’ मा समाजको मुटुबाट निस्किएको आवाज समेटेको जिकिर गरिन्। ‘मन्दाकिनीमा मैले पीडा, संघर्ष र सफलतालाई उनेर मोतीका माला बनाएकी छु। यसमा रहेका कथामा जीवनका कुनै न कुनै प्रतिविम्ब छन्’, उनले भनिन्, ‘लेखन मेरा लागि शब्दको खेल होइन, जिम्मेवारी हो।’

कथाकार ज्ञवालीका अनुसार ‘मन्दाकिनी’ मा समकालीन नेपाली समाजका विविध आयाम, संवेदना र परिवर्तनका आकांक्षा समेटिएका छन्। यो कृति परिवर्तनतर्फको सानो यात्रा हो। ‘यो कृति समाजभित्र गुम्सिएका आवाज उजागर गर्ने र समाजका विषयवस्तुलाई शब्दमार्फत बाहिर ल्याउने एउटा प्रयास हो’, उनले भनिन्। ज्ञवालीले आगामी दिनमा पनि समाजका कथा र आवाजलाई लेखनमार्फत निरन्तरता दिने प्रतिबद्धता जनाइन्।

विमोचन समारोहमा उपस्थित साहित्यकार तथा वक्ताहरूले ज्ञवालीको लेखनशैली सरल, प्रभावकारी र समाजप्रति उत्तरदायी रहेको टिप्पणी गरे।

खाद्य सुरक्षाविज्ञ डा. यमुना घलेले महिला नेतृत्व विभिन्न क्षेत्रबाट कसरी जन्मिन्छ भन्ने उदाहरणका रूपमा ज्ञवालीका कार्यले प्रमाणित गरेको बताइन्।

उनले महिला उद्यमशीलता र सामाजिक नेतृत्वमा ज्ञवालीको योगदान महत्त्वपूर्ण रहेको धारणा राखिन्। ज्ञवालीले आफ्नो जन्म दिन पारेर कथासंग्रह विमोचन गरेकी हुन्। सो अवसरमा सहभागीले उनलाई कथाकारिताको सफलताका लागि मात्र नभएर जन्मदिनको शुभकामनासमेत दिएका थिए।

साहित्यकार एवं वरिष्ठ पत्रकार बबिता बस्नेतले ज्ञवालीले लेखेका लेख तथा कथाले समाजका विषयवस्तु उजागर गरेको बताइन्। मन्दाकिनीले सर्वसाधारणदेखि सबै तहका महिलाको भावना समेटेको उनले बताइन्।

हामी सबैले ‘मन्दाकिनी पढेर लेखक ज्ञवालीलाई थप हौसला प्रदान गर्नुपर्छ। यस कथासंग्रहमा वर्तमान समयका भोगाइका विषय समावेश छन्’, उनले भनिन्।

नेपाल रिपब्लिक मिडियाका प्रधानसम्पादक गुणराज लुइँटेलले मन्दाकिनीमा समेटिएका कथा जीवनका आँखीझ्याल भएको र त्यहाँबाट ससाना जीवन हेर्न सकिने बताए। ‘ती ससाना जीवनबाट हामी एउटा बृहत्तर दुनियाँ अवलोकन गर्न सक्छौं’, उनले भने, ‘कथाकार बन्नु सजिलो कुरा होइन। पात्रका माध्यमबाट कुनै पनि घटनाको गहिराइ कथामा व्यक्त गर्नु कथाकारको कर्म हो। स्रष्टा ज्ञवालीका सबै लेख तथा कथाका पाठक हुन पाएकोमा गर्व महसुस भएको र त्यस्ता कथा आगामी दिनमा पनि आउनुपर्ने उनले बताए।

पाकिस्तानका राजदूत अबरार एच हाश्मीले आफूले पुस्तक नपढे पनि मन्दाकिनीमा नेपाली महिलाले भोगेका विषयवस्तुलाई यथार्थ रूपमा प्रस्तुत गरिएको आफूले जानकारी पाएको बताए। कथाकार ज्ञवालीलाई आगामी दिनमा पनि नेपाली महिलाका सुखदुःख र संघर्षका कथा लेखिरहन उनले शुभकामना दिए।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कथाकार ज्ञवालीले कथामा आफूले भोगेका भोगाइ समेटेको बताए। ज्ञवालीको लेखन गहिराइ र सामाजिक यथार्थलाई पुस्तकले आत्मसात गरेको उनले बताए। ‘मन्दाकिनी’ पाठकका लागि अनुभूतिको झ्याल बन्ने उनको टिप्पणी छ।

त्यस्तै उद्योग–व्यवसाय क्षेत्रका प्रतिनिधि हेमराज ढकालले लेखिकाको बहुआयामिक व्यक्तित्व (उद्यमी, सञ्चारकर्मी र साहित्यकार) को प्रशंसा गर्दै पुस्तकले महिला सशक्तीकरणको सन्देश फैलाउने विश्वास व्यक्त गरे। सोही क्रममा उद्यमी राधा श्रेष्ठले पुस्तकमा महिला उद्यमीका सुखदुःखलाई समेटेकोमा धन्यवाद दिइन्।

मानव अधिकारकर्मी गणेशप्रसाद घिमिरेले कथाहरूले सामाजिक न्याय र मानव अधिकारका विषयलाई संवेदनशील रूपमा प्रस्तुत गरेको उल्लेख गरे। अन्य वक्ताले पनि लेखिकाको सक्रियता र महिला उद्यमशीलता प्रवर्द्धनमा उनको भूमिकाको चर्चा गर्दै शुभकामना दिएका थिए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्यमी चण्डिराज ढकालले यस्ता कृतिले पाठकलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। उनले ज्ञवालीको काम गर्ने इच्छाशक्ति झनै बढोस् भन्दै शुभकामना दिए।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा. नवराज लम्सालले ‘मन्दागिनी’ले समकालीन समाजका सम्बन्ध, संघर्ष र भावनात्मक आयामलाई सशक्त रूपमा प्रस्तुत गरेको बताउँदै लेखक ज्ञवालीलाई बधाई दिए।

ज्ञवाली ग्रामीण महिलाका बिचमा स्वरोजगार निर्माण र घरेलुधन्धाबाट आयआर्जनको मेलो खोजेर संगठनात्मक कार्यमा समेत क्रियाशील रहेकोमा उनले खुसी व्यक्त गरे। उनले ज्ञवालीका कृतिहरूले समाजका भोगाइ उजागर गरेको स्पष्ट पारे। ‘उहाँको क्रियाशीलता कतै पत्रकारिता भएर, कतै नारीको नेतृत्वदायी दिदी भएर र कतै कथाकार भएर पोखिएको छ’, मन्दाकिनीबारे उनले भने, ‘उहाँको लेखनको केन्द्र नारी शक्ति हो। उहाँले नारीकाआर्थिक पाटोलाई मूल विषय बनाउनुभएको छ। शोषणविरुद्ध जागरण र सशक्तीकरणमा आर्थिक पक्ष उहाँका खोजीका दुई पाटा हुन्।’

नेपाल रिपब्लिक मिडियाका प्रबन्धक निर्देशक समृद्धि ज्ञवालीले स्रष्टा आमाले व्यस्तताबिच समय निकालेर कथा लेखन गरेकोमा खुसी व्यक्त गरिन्। कथामा नेपाली समाजमा देखेभोगेका अनुभव समावेश गरिएको उनले बताइन्। ‘उहाँका कार्य र त्यसका लागि गरिएको धैर्य मेरा निम्ति प्रेरक छन्। अघि बढ्न बलियो आधार बनेको छ’, उनले भनिन्।

महिला उद्यमी महासंघमार्फत कथाकार ज्ञवालीले महिलालाई नेतृत्व विकास र उद्यमशीलतामा जोड्ने काम गरेको वक्ताहरूले प्रशंसा गरेका थिए। समारोहमा कथाकार ज्ञवालीले आफ्नो पुस्तकले महिलाका अनुभव, सम्बन्ध र संघर्षका कथा उजागर गर्ने विश्वास व्यक्त गर्दै पाठकबाट प्रतिक्रियाको अपेक्षा गरेको बताइन्।

कार्यक्रमको अन्त्यमा सहभागीले कथाकार ज्ञवालीलाई जन्मदिन तथा नयाँ कृतिको सफलताका लागि शुभकामना दिएका थिए। उनीहरूले ‘मन्दाकिनी’ ले पाठकलाई सोच्न, अनुभूति गर्न र सकारात्मक परिवर्तनतर्फ उन्मुख हुन प्रेरित गर्ने विश्वास व्यक्त गरे। यसअघि ज्ञवालीका ‘सम्पूर्ण आकाश’ र ‘संघर्ष’ प्रकाशित भइसकेका छन्। ती कृतिले जस्तै ‘मन्दाकिनी’ ले पनि सामाजिक यथार्थलाई केन्द्रमा राख्दै मानव संवेदनाको गहिराइ स्पर्श गर्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमी, सञ्चारकर्मी र साहित्यप्रेमीको उल्लेख्य उपस्थिति थियो।

प्रकाशित: ३ फाल्गुन २०८२ ०७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App