चलचित्र विकास बोर्डको बक्स अफिस विवरण सार्वजनिक भएको छ। बोर्डले चलचित्र ‘गौंथली’ को तीन सप्ताहमा १९ करोड बढीको व्यापार विवरण सार्वजनिक गरेको छ।
कपिल रिजाल निर्देशित चलचित्र ‘गौंथली’ साउन १ गतेदेखि पदर्शनमा आएको थियो। यो चलचित्रले उल्लेखनीय व्यापार हासिल गरेको छ।
साल २०८३ को सर्वाधिक कमाउने गौंथली बनेको छ। प्रायः असार-साउन महिनालाई चलचित्रको मन्दीको महिना भनिने गरिन्छ। जहाँ नयाँ चलचित्रहरु प्रदर्शनमा कमै आउने गर्छन्। यसले पछिल्लो केही वर्षदेखि निरन्तर चल्दै आएको परम्परालाई तोडेर नयाँ कीर्तिमान रचेको छ ।
चलचित्र विकास बोर्डको सिनेमा बक्स अफिसले साउन २४ गते मध्यरातसम्मको विवरण सार्वजनिक गरेको हो। जसमा चलचित्र विकास बोर्डको अनुसार गौंथलीले १९ करोड ७१ लाख छ हजारको व्यापार गर्न सफल भएको छ। भने सात लाख १५ हजार एक सय ९८ ले हेरेका छन्।
सिम्रन खड्का र अरुण क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको गौंथलीले व्यापारिक आँकडासँगै चलचित्र हेर्ने दर्शकको संख्या पनि निकै उत्साहजनक देखिएको छ।
प्रकाशित: २५ श्रावण २०८३ १३:३१ सोमबार





