२३ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

आत्मक्रान्तिबाट चेतनाको विस्तारतर्फ

अध्यात्म

आजको विश्व परिवर्तनको खोजीमा छ। समाज परिवर्तनका लागि विभिन्न आन्दोलन, विद्रोह, क्रान्ति र राजनीतिक अभियानहरू सञ्चालन भइरहेका छन्। युवाहरू परिवर्तनका संवाहक मानिन्छन्। उनीहरूमा ऊर्जा, जोस, साहस र नयाँ सोच हुन्छ। तर विडम्बना, यही ऊर्जा कहिलेकाहीं आवेग, हिंसा, घृणा र अराजकतामा परिणत भइरहेको देखिन्छ। क्रान्तिको नाममा समाज विभाजित भइरहेको छ, राष्ट्र कमजोर बन्दै गएको छ र मानवता नै संकटमा परेको छ। आजको अर्को चुनौती भनेको जेनजी पुस्ता हो। यो पुस्ता प्रविधिमा अत्यन्त सक्षम छ, सूचना र ज्ञानको पहुँचमा छ, तर यही पुस्ताको ठुलो हिस्सा क्षणिक मनोरञ्जन, आक्रोश, सामाजिक सञ्जालको लत र उद्देश्यहीन प्रतिस्पर्धामा अल्झिएको पनि देखिन्छ, कहिले धार्मिक र साम्प्रदायिकताको नाममा त कहिले राजनीति र समाज रूपान्तरणको रूपमा। यही परिवर्तनका लागि पनि जीवनको गहिरो अर्थभन्दा बाहिरी प्रदर्शनमा बढी ध्यान केन्द्रित भएको अवस्था छ। यही सन्दर्भमा सन्तहरू, ऋषिहरू र आध्यात्मिक चिन्तकहरूले एउटा गहिरो सन्देश दिन्छन्– क्रान्तिभन्दा माथि उत्क्रान्ति आवश्यक छ। बाहिरी व्यवस्थालाई परिवर्तन गर्नुभन्दा पहिले आफ्नै चेतना, विचार, चरित्र र जीवनदृष्टिको रूपान्तरण आवश्यक छ। वास्तविक परिवर्तन आत्मक्रान्तिबाट सुरु हुन्छ।

क्रान्ति र उत्क्रान्तिको अन्तर

क्रान्ति सामान्यतया बाहिरी संरचना परिवर्तन गर्ने प्रक्रिया हो। यसले शासन व्यवस्था, सामाजिक संरचना वा आर्थिक प्रणाली परिवर्तन गर्न सक्छ। इतिहासमा धेरै क्रान्तिहरू भएका छन्, जसले केही सकारात्मक उपलब्धि पनि दिएका छन् तर धेरै क्रान्तिहरू हिंसा, प्रतिशोध र द्वन्द्वका कारण नयाँ समस्याको कारण पनि बनेका छन्। उत्क्रान्ति भने चेतनाको विकास हो। यो मानिसको सोच, संस्कार, नैतिकता र आत्मबोधको विस्तार हो। उत्क्रान्तिमा घृणाको स्थान प्रेमले लिन्छ, हिंसाको स्थान करुणाले लिन्छ र विभाजनको स्थान एकताले लिन्छ। क्रान्तिले शासन बदल्न सक्छ तर उत्क्रान्तिले मानव बदल्छ। जब मानव बदलिन्छ, समाज र राष्ट्र स्वतः बदलिन थाल्छ।

चेतनाको विस्तार किन आवश्यक छ?

समाजमा देखिने अधिकांश समस्या बाहिरी होइनन्, भित्री हुन्। भ्रष्टाचार, हिंसा, लोभ, स्वार्थ, असहिष्णुता र विभाजनको मूल कारण चेतनाको कमी हो। मानिसले आफूलाई मात्र केन्द्रमा राख्दा समाज विखण्डित हुन्छ।

चेतनाको विस्तार भनेको आफूलाई मात्र होइन, परिवार, समाज, राष्ट्र र सम्पूर्ण मानवताको हितलाई पनि आफ्नै हितको रूपमा अनुभूति गर्नु हो। चेतनशील व्यक्ति प्रतिक्रियाभन्दा जिम्मेवारी रोज्छ। ऊ प्रतिशोध होइन समाधान खोज्छ। ऊ युद्ध होइन संवादमा विश्वास गर्छ। वास्तविक शिक्षा पनि यही हो– मानिसलाई केवल दक्ष होइन, दीक्षित, सचेत र संवेदनशील बनाउनु।

आजको जेनजी पुस्ताको चुनौती

जेनजी सबैभन्दा सूचनासम्पन्न पुस्ता हो। उनीहरू डिजिटल प्रविधिमा दक्ष छन्। संसारको कुनै पनि जानकारी केही सेकेन्डमै प्राप्त गर्न सक्छन् तर सूचना र ज्ञान एउटै कुरा होइन। सामाजिक सञ्जालले तुलना, देखावटी जीवन, तात्कालिक लोकप्रियता र क्षणिक प्रसिद्धिलाई प्राथमिकता दिएको छ। परिणामस्वरूप धेरै युवाहरू आफ्नो वास्तविक क्षमता पहिचान गर्न नसकी बाहिरी मान्यताको पछि दौडिरहेका छन्।

युवाहरूमा रहेको ऊर्जा सही दिशामा प्रयोग भएन भने त्यो ऊर्जा विनाशकारी बन्न सक्छ तर यही ऊर्जा अनुसन्धान, नवप्रवर्तन, सेवा, नेतृत्व र आध्यात्मिक विकासतर्फ उन्मुख भयो भने समाज परिवर्तनको महान् शक्ति बन्न सक्छ। त्यसैले जेनजीको पहिचान केवल आधुनिक प्रविधि होइन, झेनजस्तो सजगता, मौनता, आत्मअनुशासन र चेतनाको गहिराइ पनि हुनुपर्छ।

झेन–परम्पराको मर्म: वर्तमानमा जागृत जीवन

जेनजी पुस्ता विद्रोही, क्रान्तिकारी मात्र होइनन्, बरू झेन–परम्पराको सजगता, मौनता, आत्मअनुशासन र जागृत चेतनाका संवाहक बन्न आवश्यक छ। झेनले सिकाउँछ– प्रतिक्रियाभन्दा सजगता, आवेगभन्दा विवेक, प्रतिस्पर्धाभन्दा आत्मबोध र बाहिरी कोलाहलभन्दा भित्री शान्ति महत्त्वपूर्ण हुन्छ।

जेनजीले प्रविधिको शक्तिलाई झेनको चेतनासँग जोड्न सके भने उनीहरू केवल आधुनिक पुस्ता मात्र होइन, मानवताको नयाँ युगका मार्गदर्शक बन्न सक्छन् किनभने झेन कुनै धर्मको सीमित अभ्यास मात्र होइन, जीवन जिउने कला हो। झेनले वर्तमान क्षणमा पूर्ण रूपमा जागृत भएर बाँच्न सिकाउँछ। मनलाई अनावश्यक तनाव, चिन्ता, क्रोध र अहंकारबाट मुक्त गर्दै आत्मबोधतर्फ लैजान्छ।

आजको युवा पुस्तालाई बाहिरी सूचनाभन्दा बढी भित्री मौनताको आवश्यकता छ। ध्यान, आत्मचिन्तन, स्वअनुशासन र विवेकले मात्र मानिसलाई स्थायी रूपमा सफल बनाउँछ। झेनको सन्देश स्पष्ट छ– पहिले आफूलाई जित, त्यसपछि संसारलाई परिवर्तन गर्ने कुरा गर।

आत्मक्रान्ति: सबै परिवर्तनको आधार

आत्मक्रान्ति भनेको आफ्ना कमजोरीसँग इमानदारीपूर्वक सामना गर्नु हो। अरूलाई दोष दिनुभन्दा पहिले आफूभित्रको क्रोध, लोभ, ईष्र्या, घमण्ड र हिंसात्मक प्रवृत्तिलाई परिवर्तन गर्नु नै आत्मक्रान्ति हो। भगवान् बुद्धले पनि बाहिरी विजयभन्दा आत्मविजयलाई महान् मानेका छन्। श्रीकृष्णले भगवद्गीतामा आत्मसंयमलाई योगको आधार बताएका छन्। स्वामी विवेकानन्दले भनेका छन्–‘आफ्नो भित्री शक्ति जगाऊ, संसार आफैं बदलिन्छ।’

आत्मक्रान्ति भएको व्यक्तिले समाजमा विभाजन होइन, समन्वय ल्याउँछ। उसले अधिकारसँगै कर्तव्य पनि सम्झन्छ। आत्मक्रान्तिले मानिसलाई प्रतिक्रियात्मक होइन, उत्तरदायी बनाउँछ। यस्तो व्यक्ति परिस्थितिको दास होइन, आफ्नो विवेकको स्वामी हुन्छ। उसले आवेगलाई धैर्यमा, घृणालाई करुणामा र स्वार्थलाई सेवाभावमा रूपान्तरण गर्न सिक्छ। यही रूपान्तरणबाट व्यक्तित्व परिष्कृत हुन्छ र समाजमा सकारात्मक ऊर्जा प्रवाहित हुन्छ। साँचो क्रान्ति सडकमा नारा घन्काएर मात्र हुँदैन, त्यो त मन, मस्तिष्क र हृदयमा चेतनाको दीप प्रज्वलित भएपछि सुरु हुन्छ। जब प्रत्येक व्यक्तिले आफ्नो जीवनमा सत्य, प्रेम, अनुशासन र आत्मजागरणलाई स्थान दिन्छ, तब परिवारमा सद्भाव, समाजमा विश्वास र राष्ट्रमा सुशासनको आधार निर्माण हुन्छ। त्यसैले आत्मक्रान्ति कुनै व्यक्तिगत साधना मात्र होइन, समुन्नत समाज र सभ्य राष्ट्र निर्माणको पहिलो सर्त हो।

युवा जोस: आन्दोलन होइन, रूपान्तरणको शक्ति

युवाको जोस राष्ट्रको सम्पत्ति हो तर यो जोस केवल नाराबाजी, तोडफोड, घृणा र हिंसामा सीमित हुनुहुँदैन। परिवर्तनको नाममा समाजलाई जलाउने होइन, उज्यालो बनाउने नेतृत्व आवश्यक छ। युवाहरूले विज्ञान, अनुसन्धान, उद्यमशीलता, कृषि, वातावरण संरक्षण, सामाजिक सेवा, शिक्षा र नैतिक नेतृत्वमा आफ्नो ऊर्जा लगाउन सके राष्ट्र समृद्ध बन्छ। साँचो नेतृत्व अरूलाई हराउनु होइन, सबैलाई साथ लिएर अघि बढ्नु हो।

समाज र राष्ट्र निर्माणमा चेतनशील नागरिकको भूमिका

कुनै पनि राष्ट्र केवल संविधान वा सरकारबाट महान् बन्दैन। राष्ट्र महान् बन्नका लागि महान् नागरिक आवश्यक हुन्छन्। चेतनशील नागरिकले नियम पालन गर्छ, सत्य बोल्छ, भ्रष्टाचार अस्वीकार गर्छ, विविधतालाई सम्मान गर्छ र आफ्नो कर्तव्य पूरा गर्छ। उसले सामाजिक सद्भावलाई प्राथमिकता दिन्छ। प्रत्येक नागरिकले आत्मक्रान्तिको यात्रा सुरु ग¥यो भने सामाजिक क्रान्तिको आवश्यकता नै धेरै कम हुन्छ। परिवर्तन स्वतः घरदेखि समाज र राष्ट्रसम्म फैलिन्छ।

आध्यात्मिकता र आधुनिकताको समन्वय

आधुनिकता आवश्यक छ, साथै आध्यात्मिकता पनि त्यत्तिकै आवश्यक छ। प्रविधिले सुविधा दिन्छ, दिशा दिँदैन। कृत्रिम बुद्धिमत्ताले सूचना दिन्छ, विवेक दिन सक्दैन। आर्थिक विकासले सम्पन्नता दिन सक्छ, शान्ति दिन सक्दैन। त्यसैले आधुनिक विज्ञानसँगै ध्यान, योग, नैतिक शिक्षा, करुणा र आत्मबोधको अभ्यासलाई पनि समान महत्त्व दिनुपर्छ। जब विज्ञान र अध्यात्म एकसाथ अघि बढ्छन्, तब समग्र विकास सम्भव हुन्छ।

क्रान्ति होइन, चेतनाको उत्क्रान्ति आवश्यक

आज मानव सभ्यता एउटा निर्णायक मोडमा उभिएको छ। बाहिरी उपलब्धिहरू अभूतपूर्व छन् तर भित्री शान्ति घट्दै गएको छ। त्यसैले आजको आवश्यकता केवल राजनीतिक, आर्थिक वा सामाजिक क्रान्ति होइन, चेतनाको उत्क्रान्ति हो। युवाले आफ्नो जोसलाई विनाश होइन, निर्माणमा लगाउनुपर्छ।

जेनजीले क्षणिक प्रसिद्धिभन्दा स्थायी मूल्यलाई अपनाउनुपर्छ। झेन परम्पराको सजगता, आत्मानुशासन र मौन चेतनालाई जीवनमा उतार्नुपर्छ। प्रत्येक व्यक्तिले आत्मक्रान्तिको यात्रा सुरु गर्नुपर्छ। जब मानिस आफैं बदलिन्छ, परिवार बदलिन्छ। परिवार बदलिँदा समाज बदलिन्छ। समाज बदलिँदा राष्ट्र बदलिन्छ। राष्ट्र बदलिँदा विश्वमा शान्ति, सद्भाव र समृद्धिको नयाँ युग प्रारम्भ हुन्छ। त्यसैले यो समयको मूल मन्त्र बन्नुपर्छ– क्रान्तिभन्दा माथि उत्क्रान्ति, संघर्षभन्दा माथि चेतना र परिवर्तनभन्दा माथि आत्मरूपान्तरण। बाहिरी विजय अस्थायी हुन्छ, आत्मविजय शाश्वत हुन्छ। चेतनाको विस्तार नै मानवताको वास्तविक भविष्य हो।

प्रकाशित: २३ श्रावण २०८३ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App