१) मुक्तक
सम्बन्ध जोड्न सिकाउँछन् फूलहरू हार बनेर
प्रेम र सद्भाव पढाउँछ परम्परा दशैं-तिहार बनेर
हामी सतहमा रमाउँछाैं गम्भीरता बुझ्नै चाहदैनौं
मौलाउँदै आउँछ विकृति र विसंगति प्रहार बने।
२) मुक्तक
एक्लैएक्लै हिंडेर कहाँ पुग्ने विचार छ?
उल्टो बाटो दगुरेर कहाँ पुग्ने विचार छ?
खालि शून्य हो जिन्दगी शून्यमा नै बिलाउँछ
व्यर्थै तँछाडमछाड गरेर कहाँ पुग्ने विचार छ?
३) मुक्तक
गुन बिर्सनु हुँदैन, बैगुन बिर्सनु हुँदैन
सुकर्मलाई दिएको, सगुन बिर्सनु हुँदैन
खुसी बिर्सिए हुन्छ, दु:ख बिर्सिए हुन्छ,
पहराको सहारा बिस्कुन बिर्सनु हुँदैन।
४) मुक्तक
सजिलो हुँदै हुँदैन धारमा हिंड्न
बिछ्याएर पैताला तरबारमा हिंड्न
पन्छीझैं स्वतन्त्र भई उड्नेहरूलाई
निकै कठिन हुन्छ विचारमा हिंड्न।
५) मुक्तक
कसैले नसक्ने जिम्मेवारी मलाई दिनु होला
देशद्रोही जलाइदिन्छु सलाई दिनु होला
बोलेको गरिनँ गरेको बोलिनँ भने महोदय
गुनासो रहन्न चिता बनाई जलाइदिनु होला।
- कोहलपुर
प्रकाशित: ७ कार्तिक २०८२ ०९:५० शुक्रबार





