उनी स्वाट्टै छोराको कोठामा पसिन्। ऊ एकनासले मोबाइलमा घोप्टिएको थियो। आमा पसेको पनि उसले चाल पाएन। उनले भनिन् ,“बाबू, बैठक कोठाको चिम जलेको रहेछ!”
ऊ चटपटाएन। उनी एकछिन त्यसै उभिइन्। छोराबाट कुनै प्रतिक्रिया नआएपछि उनी आफ्नो काममा लागिन्।
अँध्यारो बढ्दै गयो अनि छोराले पनि झल्याँस सम्झियो। ऊ आमा खोज्दै भान्सामा पुग्यो। आमा त्यहाँ खाना बनाउन लागेकी थिइन्। उसले आमालाई सोध्यो, “ममी, कुन कोठाको चिम रे?”
“बैठक कोठाको,” उनले तरकारी काट्दै बताइन्।
“अनि चिम कहाँ छ?” ऊ भान्साको ढोकामा उभिएर सोध्यो।
आमाले बताइन्,“बुवाको कोठाको दराजमाथि।”
ऊ फनक्क फर्केर बुवाको कोठामा गयो। कुर्सी तानेर चढ्यो र दराजमाथिको नयाँ चिमको डिब्बा निकाल्यो।
“ममी! यहाँ त चिम छैन, डिब्बा खाली छ।” ऊ त्यहीँबाट चिच्यायो।
“हो, छाडि दे।” आमाले पनि कराएर भनिन्।
ऊ दौडेर भान्साको ढोकामा आएर निन्याउरो भएर भन्यो, “के अब मैले किन्न बजार जानुपर्ने?”
“पर्दैन।” आमाले तरकारी चलाउँदै भनिन्।
उसले साेध्याे, “किन?”
“मैले फेरिसकेँ।” उनले भनिन्।
“अनि फेरि किन मलाई भनेको त?” ऊ छक्क पर्दै सोध्यो।
उनले हातको डाडू राखेर मुस्कुराउँदै भनिन्, “मैले तँलाई चिम फेर्न भनेको हो र?"
प्रकाशित: ८ कार्तिक २०८३ १०:१७ आइतबार





