"मैया ए मैया! अझै उठेकी छैनस् कि के हो? झट्ट चिया बनाएर ले!"
विहान नित्यकर्म सकेर छोरीलाई अह्राउँदै सुन्तली कोठामा पसिन्।
बुहारी भित्र्याएदेखि सुन्तली बुहारीलाई भन्दा छोरीलाई धेरै कामधाम लाउन थालेकी थिइन्। बलरामलाई पत्नीको यो व्यवहार कुन्नि किन हो ठीक लागेको थिएन। यो विषयलाई लिएर बाबुआमा र छोरीबिच बेलाबेला विवाद समेत हुने गर्दथ्यो।
"हैन, त्यो छोरीलाई मात्रै कति दाब्छौ हँ? बुहारीले गर्दै होलिन् त!" बलरामले पत्नीलाई शान्त पार्ने प्रयास गरे।
यत्तिकैमा शीतलले चिया ल्याइन्।
"हैन त्यो अझै उठिन् र? तिमीले पो ल्यायौ त बुहारी!" सुन्तलीले बाहिर नियाल्दै भनिन्।
बलरामले चिया लिंदै भने, "भै गो त! बुहारीले ल्याइहालिन् खाऊ न!"
"त्यसले चै गर्न हुन्न घरको कामधन्दा? सधैँ भाउजूको बाटो हेरेर हुन्छ?" उनी छोरीतर्फ फेरि खनिइन्।
"नरिसाउनुस् न आमा! नानी उठेर भर्खर बाथरुम पस्नुभा'छ भन्दै शितल भान्छातिर लागिन्।
"हैन! तिमीलाई छोरीको माया लाग्दैन सुन्तली? बुहारी भित्र्याएदेखि त छोरीलाई देखी सहन छाड्यौ त किन हो?" बलरामले छोरीको पक्षपोषण गर्दै सोधे।
"आमालाई छोरीको माया हुन्न र भन्या?" सुन्तलीले भृकुटी उचाल्दै प्रतिप्रश्न सोझ्याइन्।
"किन त छोरीलाई नै सधैँ पेल्छौ?" बलराम उनको जवाफले छक्क परे।
पतिको नाकैमा चोर औंला पुर्याउँदै सुन्तलीले प्रस्ट्याइन्, "यसैलाई भन्छन् छोरी कुटेर बुहारी कज्याउनु!"
प्रकाशित: २ जेष्ठ २०८३ १२:५० शनिबार





