बलिउड सुपरस्टार सञ्जय दत्त प्रायः आफ्नो चलचित्र भन्दा बढी व्यक्तिगत जीवनका कारण विवादमा रहने अभिनेता हुन्। उनको जीवन विवाद र उथलपुथलले भरिएको छ। सञ्जय दत्त कैयौँ पटक जेलसमेत पुगेका छन्, तर उनका प्रशंसकको संख्या कहिल्यै घटेको छैन।
उनी बिहीबार काठमाडौं आइपुगेका थिए। काठमाडौं विमानस्थलमा उनलाई भव्य स्वागत गरिएको थियो। दर्शकको घुइँचोले विमानस्थल नै भरीएको थियो। सञ्जय दत्तको नेपाली कलाकारसँग राम्रो सम्बन्ध रहेको छ। गत वर्ष मंसिरमा गायिका स्मिता दाहालको विवाहमा उनले भिडियो मार्फत दंपतिलाई शुभकामना दिएका थिए। बिहीबार काठमाडौंमा पनि उनले स्मितासँग भेट गरेका थिए।
सञ्जयको मात्र सम्बन्ध नेपालसँग सीमित छैन, उनका बुवाले पनि पुरानो सम्बन्ध राख्दै आएका छन्। उनका बुवा सुनिल दत्त ले नेपाली चलचित्रमा योगदान दिएका छन्। चलचित्र ‘माइतीघर’ मा सुनिल दत्त अतिथिको रूपमा छोटो भूमिका निर्वाह गरेका थिए।
जीवनका विवाद
सञ्जय दत्तको जीवनमा केही विवादले उनलाई नायक र खलनायक दुवैको रूपमा चिनाएको छ।
मुम्बई बम ब्लास्ट केस
सन् १९९३ अप्रिल १९ मा भएको मुम्बई बम ब्लास्ट केसमा सञ्जयको नाम अगाडि आएपछि उनको घरको तलासी लिइयो। घरमा गैरकानुनी हतियार भेटिएको र सञ्जयको बम ब्लास्टमा संलग्नता रहेको आरोप लाग्यो। यस केसमा उनी पक्राउ परे र चारदेखि पाँच वर्षसम्म जेल सजाय भोग्नुपर्यो।
सम्बन्ध र वैवाहिक जीवन
सन् २०१८ मा रिलिज भएको चलचित्र ‘संजु’ उनको जीवनकथामा आधारित थियो। एक अन्तर्वार्तामा लेखिकाले सञ्जयसँग प्रश्न गरिन, ‘श्रीमतीलाई छाडेर अरु कति महिलासँग रात बिताउनु भयो ?’ जसमा उनले जवाफ दिएका थिए ३०८। यो अभिव्यक्तिले उनको व्यक्तिगत जीवन र चरित्रबारे चर्चा व्यापक बनाएको थियो।
लागूपदार्थको लत
सिमी ग्रेवालको च्याट शोमा सञ्जयले आफ्नो लागूपदार्थ प्रयोगको समय सम्झिए। उनले बताए कि कलेजमा हुँदा, सम्भवतः १७–१८ वर्षको उमेरमा, उनी लागूपदार्थको लतमा परेका थिए। त्यतिबेला लागूपदार्थ उनका लागि सबैथोक थियो। यस लतले उनका जीवनका नौ वर्ष बर्बाद गर्यो।
सञ्जय दत्तको यी व्यक्तिगत अनुभव र अभिव्यक्तिले सामाजिक संजालमा पनि व्यापक चर्चा पाएका छन्।
प्रकाशित: २६ पुस २०८२ १७:२० शनिबार





