२१ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

सम्झनाले जितेको संसार

कथा

त्यो दिन कति बजेको थियो, मलाई ठ्याक्कै सम्झना छैन। म सधैंझै आफ्नो कार्य क्षेत्रमा थिएँ तर त्यो आवाज सम्झन्छु। पहिले कतै टाढाबाट केही दगुर्दै आए जस्तो, त्यसपछि पृथ्वी नै हल्लिएर फुटेजस्तो, ठूलो मेघगर्जनसहित पानीको आवाज, फलाममा फलाम ठोक्किएर आएको भयङ्कर युद्धयन्त्र जस्तो आवाज र मानिसहरूको चिच्याहट अनि एकाएक अँध्यारो।

म सुरुङ्गभित्रै भाग्न खोजेँ तर कता भाग्ने? अगाडिबाट दगुर्दै आइरहेको हिलो। पछाडिबाट धकेल्दै आइरहेको हिलो। खुट्टासम्म हिलो, कम्मरसम्म हिलो। शरीरको पूरै आधा भाग भरिएको हिलो र आधा भागले फेरिरहेको लामोलामो सास।

त्यो क्षण मैले पहिलोपटक सोचेँ, ‘यही नै हो त अन्तिम यात्रा?’

'होइन।' अर्को मनले भन्यो।

म बाँच्नुपर्छ र आफूलाई बचाउने प्रयत्न गरें। पहिलो सेकेन्ड घर सम्झिएँ। दोस्रो तेस्रो आमा सम्झिएँ। बाको स्वर कानमै गुञ्जियो, 'साने, कहिले आउँछस् तँ छुट्टीमा?'

त्यसपछि श्रीमती, छोराछोरीको अनुहार सम्झिन खोज्दा आँखा भिजे। मन गल्यो। कति सेकेन्ड बेहोस भएछु। कति सेकेन्ड फेरि सम्झेछु। त्यसपछि समय घडीले होइन, सासले गन्न थाल्यो।

एकसास, 'आमा' भन्थ्यो। अर्को सास 'साने' सुन्थेँ।

मसँग घडी थिएन। मोबाइल थिएन तर एउटा चलिरहेको घडी थियो, मेरो मुटु। एकएक धड्कन,  एकएक सेकेन्ड म अझै जीवित छु।

हनुमान चालिसाका दर्जनौं पटक बोलिएका चालिसौं श्लोक, 'जय सिताराम' भित्रका एकएक रामहरू, मेरो मनमस्तिष्कमा घुमिरहे। घरिघरि शब्दहरू हराउथेँ तर जहाँबाट हराउँथे फेरि त्यहीँबाट शुरू हुन्थे। 'जय हनुमान ज्ञान गुण सागर, 'संकट कटै मिटै सब पीरा!'

कति पटक सम्झे? दस? बीस? सय? मसँग गन्ती थिएन। गन्ती गर्ने समय थिएन। त्योबेला मैले हनुमान चालिसा मात्रै पढिरहेको थिइनँ, राम भजन गाइरहेको थिइनँ, आफ्नो जीवनलाई बोलाइरहेको थिएँ।

‘मलाई बचाइदिनू।’

‘एकपटक घर पुर्‍याइदिनू।’ ‘बच्चाहरूलाई हेर्न दिनू।’

‘आमाको हात समाउन दिनू।’

'बाको स्वर सुन्न दिनू!'

'प्रियसीलाई माया गर्न दिनू!'

दिनहरू बिते होलान्। अँध्यारोलाई दिन वा रात केही थाहा हुँदैन। मलाई त्यतिखेर त्यस्तै थियाे। कहिलेकाहीँ लाग्थ्यो, बाहिर घाम लागेको होला। कहिलेकाहीँ लाग्थ्यो, नेपालमा रात परिसक्यो कि! कहिलेकाहीँ आवाज सुनिन्थ्यो, ‘कोही हुनुहुन्छ?’

म चिच्याउँथेँ, ‘म छु! म अझै छु।’

तर मेरो आवाज आफैँसँग ठोक्किएर फर्किन्थ्यो। म निरास हुन्थेँ। त्यसपछि घर पुग्थेँ। आँगनमा बा बसिरहनुभएको थियो। एकस्वर 'आइस्' भन्नुभयो। आमा ढोकामा उभिनुभएको थियो। गाला मुसार्नुभयो। 'दुब्लाए छस् त!' भन्नुभो। आमा सधै दुब्लाएको देख्नुहुन्थ्यो। यो पटक पनि देख्नुभो। श्रीमती केही बोलिनन्। मनको भाषा मनमै बोलिन्। छोराछोरी दौडिदै आए। मैले हात फैलाएँ। अँगालो हाल्न खोजेँ। दुवै हात कुनै कडा वस्तुमा ठोक्कियो। झसङ्ग भएँ। होसमा आएछु।

आँखा खोल्दा त्यही सुरुङ, त्यही हिलो, त्यही पानी। निष्पट्ट अँध्यारो र चलिरहेको एक थान मुटु र सोच्थेँ, ‘म बाँचेकै  छु, म बाँच्छु।’

उत्ति नै खेर अर्को आवाजले भन्थ्यो, ‘तँ अब सकिँदैछस्। तँ धेरै दिन बाँच्दैनस्।’

यो मन पनि कस्तो रहेछ! 'एकै सेकेन्डभित्र हजारौँ संसार बनाउन सक्ने।'

कहिले घरमा छोराको हात समाइरहेको, छोरीलाई स्कुल पुर्‍याइरहेको, आमाको काखमा टाउको राखेर सुतिरहेको र श्रीमतीको कपाल सुमसुम्याइरहेको। कहिले मृत्युशय्यामा आफ्नै अन्त्यको कल्पना गरेर डराइरहेको, ठूलाठूला यमदुतहरूको बीचमा लडाइँ लडिरहेको तर प्रत्येकपटक मनमा एउटा कुरा आउन छोड्दैनथ्यो, ‘मलाई अझै घर जानु छ।’

समय बित्दै गयो। सास फेर्ने मात्र काम थियो। फेरिरहेको थिएँ। खानु थिएन। पानीको बूँदबूँद अड्कलेर पिउँथे। आशा थियो। विश्वास थियो। बाँच्नु नै प्रार्थना थियो। भगवान् थिए। म थिएँ।

कुनै क्षण शरीरले हार मान्थ्यो। आँखा बन्द हुन्थे। चेतना हराउँदै जान्थ्यो। फेरि उत्ति नै खेर भित्र कतैबाट आवाज आउँथ्यो, ‘नसुत्। जागै बस्। साने!'

सायद त्यो आवाज मेरी आमाको थियो। मेरा बाको थियो। सायद श्रीमतीको। सायद छोराछोरीको। सायद त्यो मेरो आफ्नै बाँकी, नसकिएको जिजीविषाको आवाज थियो।

नवौँ दिन। कति सेकेन्ड बिते। मेरो गणना गर्ने शक्ति थिएन तर हरेक क्षण एकएक सेकेन्ड बितेका थिए। त्यो थाहा छ। कसैले बाहिर बसेर गणना गरेको भए सायद, त्यो नौ दिन, पौने आठ लाख सेकेन्ड हुन्थ्यो होला। सात लाख सतहत्तर हजार छ सय सेकेन्ड।

हरेक सेकेन्डको एउटै प्रश्न थियो, ‘अर्को सेकेन्ड के हुन्छ?’

हरेक सासमा एउटै उत्तर थियो, ‘अझै धेरै सेकेन्ड बाँच्नु छ।’

र त्यो दिन अँध्यारोभित्र साँच्चिकै एउटा आवाज आयो। यो पटक त्यो आवाज मेरो थिएन। मानिसहरूको आवाज थियो। उद्धारकहरूको आवाज थियो। 'कोही हुनुहुन्छ?' मैले सुनेँ। मेरा कानले दुरुस्त सुने।

मैले बोलेँ, 'म छु sss!'  आवाज भित्ताभरि, हिलोभरि गुन्जिरह्यो। मलाई विश्वास लागेन। फेरि आवाज आयो।

‘डराउनु पर्दैन, हामी आएका छौँ।’ मन ढक्क भयो।

त्यो आवाजले नौ दिनको अँध्यारो चिरेर मेरो छातीभित्र उज्यालो छर्यो। त्यो क्षण मैले भगवानलाई सम्झिएँ। मैले भगवानलाई साक्षात् देखेँ। हातमा डोरी र बेल्चा बोकेका सैनिक पोसाकमा उभिएका भगवान्। मेरा आफ्नै भगवान्। हिलोमा लतपतिएका मूर्तिहरू। जीवन खोज्दै सुरुङभित्र पसेका इश्वरहरू। मलाई भेट्न आफ्नै जीवन मोलिरहेका सैनिकहरू।

मैले उनीहरूलाई के धन्यवाद दिएँ होला? सायद शब्दै पाइन होला। सायद आँसु मात्रै दिएँ होला। सायद मैले उनीहरूलाई  ढोगे होला। सायद मनमनै भनेँ होला, 'मलाई विश्वास थियो तपाईंहरू आउनुहुन्छ।'

बाहिर निस्कँदा संसार उस्तै थिएन। आकाश उस्तै थियो तर धर्ती उस्तै थिएन। हावा उस्तै थियो तर हावामा दगुर्ने सासहरू दुरुस्त थिएनन्। माटोमा टेकिएको खुट्टा माटोमा थिएनन्। हिलै हिलो थियो। सुरुङ्ग बाहिर र सुरुङ्गभित्रको संसार एउटै थियो। अँध्यारो। निष्पट्ट अँध्यारो। मृत्युको कोलाहल।

आँखामा घाम पर्‍यो। आँखा बन्द गरेँ। अहिले पनि घर सम्झिएँ। बा। आमा। श्रीमती। छोराछोरी। छरछिमेक र मनभित्र एउटा मात्र वाक्य उठ्यो,  ‘म फर्किएँ। एउटा सम्झनाले मात्र पनि लाखौं सेकेन्ड पार गर्न सकिने रहेछ।'

'तर खोइ त, मेरा सुरुङ्गभित्रका ती सहकर्मीहरू। के ती पनि फर्किए? के तिनको सम्झनाले पनि जित निकाल्न सक्यो?'

प्रकाशित: २१ भाद्र २०८३ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App