१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

सत्यमोहन: अपरिग्रहका मानक

व्यक्ति-व्यक्तित्व

‘जोशीको जीवन सधैं जिज्ञासाले भरिएको थियो। उनी जिज्ञासुले घेरिरहेका पनि हुन्थे। अध्ययन, चिन्तन, लेखनको अविराम यात्रा हो-सत्यमोहन जोशी। त्यो यात्रामा अब पूर्णविराम लागेको छ। उनले थालेका कामलाई निरन्तरता दिन नयाँ पुस्ता सक्रिय भयो भने त्यही नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने छ।’ (शताब्दीका साक्षी, सम्पादकीय, नागरिक दैनिक, सोमबार ३१ असोज २०७९)

‘संस्कृतिविद् सत्यमोहन जोशीले २०१३ सालमा पहिलोपटक मदन पुरस्कार पाएका थिए। उनको गद्यकृति ‘हाम्रो लोक सस्कृति’ले पुरस्कार जितेको थियो। फेरि २०१७ मा उनले मदन पुरस्कार पाए। ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थबाट उनले दोस्रोपटक पुरस्कार पाए। तेस्रो पटक २०२८ सालमा ‘कर्णालीको लोक संस्कृति’ नामक ग्रन्थका लागि उनीसहित ५ जनाले संयुक्त रूपमा मदन पुरस्कार पाएका थिए।’ (अमृत भादगाउँले, सधैं सक्रिय, ऐ. नागरिक)

‘सरकारले २०७४ वैशाख २१ गते जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’ उपाधि दियो। त्यसअघि त्रिमूर्ति निकेतनले २०७१ मंसिर १५ गते उनलाई ‘शताब्दी पुरुष’ घोषणा गरेर ५ लाख नगदसहित सम्मान गरेको थियो। उनी ९५ वर्षका हुँदै शताब्दी पुरुषको उपमा दिइयो। जसरी एसएलसी परीक्षामा ५ नम्बर ग्रेस मार्क दिएर पास गरिन्थ्यो, त्यसैगरी उनलाई ५ नम्बर ग्रेस दिएर शताब्दी पुरुष घोषणा गरिएको थियो। (अमृत भादगाउँले, ऐ. नागरिक)

शताब्दी पुरुष सत्यमोहन जोशी अनन्त यात्रामा विलीन भएको खबरले स्तब्ध थिएँ। त्यसैले सोमबार ३१ असोज २०७९ मा प्रकाशित भएका सबै छापा मेरो प्राथमिकतामा परे। छापामा प्रकाशित भएका समाचार र आलेखहरू आद्योपान्त पढें। सबै उम्दा र अब्बल तथा संग्रहणीय थिए। तिनैमध्ये नागरिक दैनिकमा प्रकाशित ‘शताब्दीका साक्षी’ सम्पादकीय र अमृत भादगाउँलेको ‘सधैं सक्रिय’ भन्ने लेखका उल्लिखित पंतिहरू साभार युक्त लाग्यो। सम्पादकीयमा परेको ‘जिज्ञासु’ भन्ने शब्दले वैदिककालीन एक विवेकशील तीक्ष्ण साहसी बालक नचिकेता र यमको संवादलाई आधार बनाएर जोशीले लेख्नुभएको ‘मृत्यु एक प्रश्न’ को सम्झना गरायो।

त्यस्तै भादगाउँलेको आलेखले जोशीबारे मैले थाहा पाएका र नपाएका दुवै सूचना अटाएको थियो। पुलकित भएँ। ‘शताब्दी पुरुष’ घोषणामा ‘त्रिमूर्ति निकेतन’ को योगदानबारे पूर्ण रूपले अज्ञात थिएँ। त्यसैले ती शब्दांश उल्लेखनीय ठानें। मजस्ता थुप्रै अरू पनि हुन सक्छन् भन्ने ठानेर ‘माधव घिमिरेलाई २०५२ सालमा पहिलो पटक नईले राष्ट्रकवि सम्बोधन गरेको सुनेको थिएँ। यसको समर्थन वा खण्डन सम्बद्ध पक्षबाट नै हुने हो। श्रेयजन्य कुराको समाजमा फैलावट गर्नैपर्छ। सूचनाको विस्तार हुनुपर्छ भन्ने लाग्यो।

जोशीको पूर्वीय दर्शनमा गहिरो ज्ञान थियो भन्ने कुराको पुष्टि ‘गुरुबिना अद्वैत ब्रह्मज्ञानको बोध गर्न कठिन पर्दछ। त्यसैले रुद्राक्षको माला मात्र जपेर ब्रह्मको रूप चिन्न सकिने कुरो होइन। देह नाशवान् छ। आत्मा नित्य छ’ भन्ने उहाँको निजी वाक्यांश ‘महर्षि यज्ञवल्क्य: दैलाको वत्ती’ नामक कृतिमा परेकोबाट हुन्छ। संस्कृति र साहित्यका अथक साधकको जीवनको त्यो पाटो पनि बाहिर आउनुपर्छ भन्ने लाग्दछ। चार वेदमध्ये यजुर्वेदको कठसाखासँग सम्बन्धित ‘काठोपनिषद्’ मा यम र जिज्ञासु बालक नचिकेताको संवादको वर्णन छ। समाजमा प्रतिष्ठित र ख्यातिप्राप्त ऋषि बाजाश्रवाले विश्वजित यज्ञ गर्छन्। त्यस यज्ञमा यजमानले आफूसँग जे जति जेथा जायजात छ, केही नराखी सबै दान गर्नुपर्ने हुन्छ। त्यसरी दान गर्दै जाँदा जीर्ण, रोगी र थारो गाई, अझ भनौं जीवनमा अन्तिम घाँस र पानी खाइसकेकालाई समेत बाबुले दान गरेको नचिकेताले देख्छन्। उनलाई चित्त बुझ्दैन। ७-८ वर्षका विवेकशील बालक नचिकेताले बाबुसँग गएर प्रश्न गर्छन्। मलाई कसलाई दान गर्नुहुन्छ?

छोरा नचिकेताले पहिलो र दोस्रो प्रश्न गर्दा ऋषि मौन बस्छन्। केही जवाफ दिँदैनन्। फेरि तेस्रोपल्ट प्रश्न गरेपछि क्रोधित हुन्छन्। आवेशमा आउँछन् र भनिदिन्छन्, ‘मृत्यु वा यमलाई दान दिन्छु।’ त्यसपछि मृत्युका देवता यमकहाँ नचिकेता जान्छन्। अविभावकले रोक्न खोजेका थिए तर मान्दैनन्। यमकहाँ पुग्छन्। यम घरमा हुँदैनन्। उनका द्वारपालेले उनलाई रोक्न खोज्छन्। त्यसपछि नचिकेता तीन दिन तीन रात यमकै द्वारमा बस्छन्। यम आउँछन्। अतिथि बालक भोकै प्यासै त्यसरी राखेवापत उसलाई तीनवटा वर माग्न यमले भन्छन्।

त्यसपछि नचिकेताले आफ्नो बाबु वा परिवार, समाज र आफ्ना लागि तीनवटा वर माग्छन्। जीवन, मृत्यु, स्वर्ग, नरक, प्राणी, जीव र भोग सम्बन्धमा संवाद गर्छन्। उपनिषद्को तीन अध्याय ती दुईबीचको संवादले ओगटेको छ भनिन्छ। यही संवादको विषय आधारित छ सत्यमोहन जोशीको कृति ‘मृत्य एक प्रश्न’मा। जसमा उहाँले लेख्नुभएको छ, ‘जन्मसँग मृत्यु हुन्छ। मृत्युलाई पनि माया गर्नुपर्छ। मृत्युदेखि डराउने सधैं मृत्युको सिकार भइराख्छ। मृत्युलाई सहज रूपले लिने सधैं बाँचिरहन्छ।

पूर्वीय दर्शनले मानिसको जीवन सय वर्षको हुन्छ भन्ने अनुमान गरेर नै ब्रह्मचर्य, गृहस्थ, वनप्रस्थ र सन्यासको कुरा गरेको छ। जोशीको सतायु जीवनले चारै आश्रमको पूर्णता पायो। सन्यासका लागि घरबार त्याग्नुपर्ने र भिन्न भेषभुषा नै धारण गर्नुपर्छ भन्ने छैन। ओशो रजनिशले नवसन्यासको धारणा ल्याएका छन्।

वैदिक वाङमयप्रति अनुराग, ज्ञान र अध्ययन गर्ने जोशीको जीवनले पूर्वीय षटदर्शन (वेदमा विश्वास राख्ने आस्तिक दर्शन) मध्येको एक पतञ्जलीको योग सूत्रलाई पनि अनुशरण गरेको थियो भन्दा अन्यथा हुन्छ जस्तो लाग्दैन। पतञ्जलीको योग सूत्र अनुसार योगका आठ अङ्ग छन्। जसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि। यसमा यम बाध्य अर्थात् सामाजिक अनुशासन र नियम आन्तरिक अनुशासन वा आत्मानुशासन हो। यम अन्तर्गत सत्य, अहिंसा, ब्रह्मचर्य, असतेय र अपरिग्रह पर्दछ। त्यस्तै नियम अन्तर्गत सोच, सन्तोष, तप, स्वध्याय र ईश्वर परिधान पर्दछ।

यमअन्तर्गत मानिएको अस्तेयले अरूको वस्तुमाथि लोभ लालच नराख्नु अर्थात् नलिनु हो। यसको विस्तृत व्याख्या छ। भ्रष्टाचार पनि यसैअन्तर्गत पर्दछ। भ्रष्टाचारलाई निषेध गर्दछ। आफूलाई आवश्यकता पर्नेबाहेक अन्य चिज वस्तु सङ्ग्रह नगर्नु अपरिग्रह हो। आवश्यकता र इच्छा भिन्न कुरा हो। आवश्यकता पूर्ति हुन सक्छ। इच्छाको कुनै सीमा छैन। अन्त्यहीन छ। हुन त इच्छा भएन भने भौतिक उन्नति पनि हुँदैन होला। भौतिक विज्ञानले जुन चमत्कार र विकास गरेको छ, त्यो इच्छाकै परिणाम हो। सत्यमोहनको जीवनले पतञ्जलीको योग सूत्रले निर्देश गरेको अपरिग्रहलाई सधैं अनुसरण गरिरह्यो। ‘न वित्तेन तर्पणीको मनुष्य’ अर्थात् धनले मानिस कहिल्यै पनि सन्तुष्ट हुँदैन। त्यसैले नागरिकमा प्रकाशित सम्पादकीय र अमृत भादगाउँलेको आलेखमा थप गर्न सत्यमोहन जोशीको जीवनचर्या एक अपरिग्रहको मानक र भाष्य थियो। सम्पादकीयमा पढेको शब्द ‘जिज्ञासु’ को सार्थक रूप पनि थियो। जसले विवेकी बालक नचिकेतालाई ग्रन्थको माध्यमबाट समाजमा ल्याएको थियो। अहिले विवेक बन्धक भएको अवस्थामा नचिकेता अझ सान्दर्भिक छन्।

प्रकाशित: १९ कार्तिक २०७९ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App