मैले यातना देखेको छु, जुन ताराहरूझैँ टल्किन्छ। लगभग सबैले यसका बारेमा केही न केही महसुस गर्छन्, मात्र मबाहेक। ट्रियस्टाको सामान्य तर सुखद् परिवारमा म हुर्कें। मेरा बुबा जेन्ट्स बुटिक चलाउनुहुन्थ्यो। मेरा आमाबुबा र भाइ अहिले पनि ट्रियस्टामा बस्नुहुन्छ। यो बुटिक अहिले मेरा दाजुले चलाउनुहुन्छ। उहाँ मभन्दा पाँच वर्ष जेठो हुनुहुन्छ; गम्भीर, अन्तर्मुखी, बफादार र निकै समर्पित।
जहाँसम्म मलाई सम्झना छ, पीडाप्रति मेरो विशेष दृष्टिकोण रहेको छ। म सानी छँदा म भित्री तिघ्राको मासुलाई चिमोट्ने गर्थें, किनकि यसले मलाई शान्त पाथ्र्यो। म आफ्नो छालामा निलडाम पर्ने गरी चिमोट्थेँ। एक ग्रीष्म साँझ मेरो दाजु बुटिकनिरको सानो ग्यारेजमा आफ्नो साइकल बनाउँदै हुनुहुन्थ्यो र म भुइँमा बसेर गल्लीमा उडिरहेको चराहरूलाई नियालिरहेकी थिएँ। एकैछिनपछि आफ्नो पेन्चिस मेरो हातमा राखी दाजुु कतै लाग्नुभयोे।
मैले छालाको माथिल्लो तह मेरो तिघ्राबाट नछुटुन्जेल पेन्चिसले निमोठिरहेँ। मैले रगत निकालेको यो पहिलोचोटि थियोे। पसिनाले लतपत र एउटा अनौठो वेगले ग्रसित मैले जब तिघ्रा निमोठ्न छाडेँ, एउटा थिचिएको कालो र निलो मासुको टुक्रा देखेँ। त्यस क्षण मैले आफूलाई पीडाबाट संवेदनहीन पाएँ।
त्यसपछि मैले एउटा स्टेप्लर, सुई र लुगा काट्ने कैँची बुबाको स्टोरबाट अनि घन र पिलार दाजुको वर्कसपबाट लिएँ। मैले स्टेप्लरलाई समाएँ र बिस्तारै यसलाई मेरो छालातिर घुसारेँ, जुन सहज भावले यो मेरो छालाको बीचबाट छिर्यो र यसले मलाई साह्रै चकित पार्यो। कति ताजा, उत्तेजनापूर्ण र फरक थियो त्यो विशिष्ट पीडाको अनुभूति।
कस्तो हुन्थ्यो त्यो पीडा जुन यदि म साइकलबाट खसेकी भए ? यस पीडासित थियो एउटा खासै सन्तुष्टिको आभास पनि, मानाैँ कि मैले यस्तो कुनै कुरालाई यातना दिइरहेकी थिएँ। जसको मसित कुनै सरोकार थिएन। स्टेप्लरको मुखबाट मैले एउटा पिन आफ्नो छालाबीचबाट घुसारेँ। त्यसपछि आयोडिन र ब्यान्डेज लिन म बाथरुममा गएँ। म कोठामा फर्कें र यसलाई हेरेँ। आफ्ना बुबाका कैँची, सुई र स्टेप्लरले बनाएको क्रसमुन्तिर मासुको सानो चोक्टा मैले मेरो तिघ्राबाट काटेँ। पीडाले मलाई रन्थनायो।
यो भयानक कुरा थियो, तर म उत्तेजना, सन्तुष्टि र विशेष ऊर्जाले भरिएँ। मैले घाउ आयोडिनले धोएँ र पट्टी बाँधे। मैले औजारहरू डे«सर ड्रयरमा राखिदिएँ र एक चोक्टा ताजा मासु आफ्नो मुखमा राखेँ र चपाएँ। निःसन्देह यसले दुखायो, तर उत्तेजना र ऊर्जा झन् बढ्यो। मैले यसअघि यस्तो अनुभव कहिल्यै गरेकी थिइनँ। त्यो हदसम्म मलाई कुनै कुराले उत्तेजित पारेको थिएन। सायद यो त्यही क्षण थियो, जहाँ मैले आफ्नो पहिलो चरमोत्कर्षको अनुभूति पाएकी थिएँ।
यो सारा प्रक्रिया लगभग डेढ घन्टासम्म चल्यो। जब म होसमा आएँ, मेरो तिघ्रेमासुको चोक्टा मेरो मुखमा थिएन। अवश्य नै यो सबै मैले बेहोसीमा गरेकी थिएँ। म अरू केही बारेमा पनि सोचिरहेकी थिइनँ। म त सिर्फ आफ्नो उत्तेजित शरीरको न्यानोपनसित मात्र थिएँ, जसलाई मैले पछि चिसो भित्तामा सेलाएँ। त्यस क्षण मैले कस्तो अनुभव गरेँ, मलाई व्याख्या गरिरहन ज्यादै गाह्रो पर्छ। अझैसम्म मेरो शरीर मेरा लागि प्रायः एउटा बाधक मात्र थियो, अब केही मात्रामा भित्रभित्रै उघ्य्रो। म पूर्णरूपमा ज्यादै हर्षित र अचम्मित भएँ।
मैले मेरी भाउजू मातिजालाई पहिलोचोटि घरमा ल्याएँ। छिमेकी केटोको जन्मोत्सव पार्टीमा त्यस केटीलाई मैले भेटेकी थिएँ। उनी अरूसँग त्यति साह्रो नमिसिने र एकलकाटे थिइन्। सुनौलो कपाल भएकी, निलो रिबनले चुल्ठो बाँधेकी उनी राम्री थिइन्। सानो साँघुरो मुख र नेप्टो नाकले उनी अनौठी, फरक र आफैमा हराएकीजस्ती देखिन्थिन्। उनको यही अनौठो सन्कीरूपले मलाई उनीप्रति आकर्षित गरायो। कुरैकुरामा हामीले पार्टीमा सँगै रात बितायौँ र साथी बन्यौँ।
धेरैजसो हामी मेरै कोठामा मात्र समय बिताउने गथ्र्यौं। मेरो दिमागमा उनले पाखुराहरू नभएको एउटा खेलौना भालु, टाउको नभएको एउटा पुतली र हातमा सनासो लिएर मेरो खाट छेउमा एउटा काठको टुक्रामाथि काम गरिरहेको तस्बिर मात्र मेरो मस्तिष्कमा छ। खेलौना भालु मैले उनको हातबाट लिएँ। त्यसको घाँटी वरिपरि डोरीले बाँधिदिएँ र त्यसलाई एउटा हलुका अंकुसेमा झुन्डाइदिएँ। यसो गर्दा उनलाई निकै चाख लाग्यो।
एकदुई दिनपछि मैले प्लास्टिकको त्यो पुतलीका खुट्टाहरू च्यातिदिएँ र एउटा कैँचीले त्यसको पेटमा घोचेको घोच्यै गरँे। मातिजा केही बोलिन। त्यसपछि मैले सबै हद नाघैँ। मैले बैठक कोठाबाट मेरो कोठामा एउटा पिंँजडा ल्याएँ। पहिले हामीहरूले सुगालाई हेर्याैँ र केही कुरा पनि गर्याैँ। त्यसपछि त्यो सुगालाई छाडिदियौँ र कोठा वरिपरि त्यसलाई पछ्याउन थाल्यौँ। जब अन्त्यमा मैले सुगा समातेँ र त्यसपछि त्यसको एउटा खुट्टा वरिपरि डोरीले बाँधिदिएँ र अर्को खुट्टामा चिम्टीहरू झुन्डाइदिएँ। चिम्टी यति धेरै गह्राैं भयो कि ऊ मुस्किलले पाँच सेन्टिमिटरमात्र माथि उड्न सक्थ्यो र पुनः तल झरिहाल्थ्यो। ऊ फेरि उड्थ्यो र फेरि झथ्र्यो। यसले हामी दुवैजनालाई हँसाएको थियो।
मैले सुगालाई झम्टेँ र यसको बन्द चुच्चोमा सुई घुसारेँ। सुईको टुप्पो यसको टाउकोलाई छेड्दै तालुबाट निस्क्यो। उसको मौनताले मलाई अचम्मसंँग हेर्यो। मातिजाले आफ्नो मुख खोलेकोखोल्यै गरिन्। उनको आफ्नै आँखाले पत्याउनै सकेन कि यो सब भइरहेको थियो। केही सेकेन्डपछि, चिच्चाउँदै उनी कोठाबाट बाहिर निस्किन्। मैले झ्याल खोलेँ र सुगा छिमेकीको छानातिर फुत्त खसालिदिएँ। केही बेरमा ढोका खुल्यो र मेरी आमा भित्र आउनुभयो।
‘मातिजाको बुबाले फोन गर्नुभयो,’ आमाले भन्नुभयो, ‘मातिजा निकै त्रसित छे। तिमीले पिकीको टाउकोमा सुई घुसारिदिएकी रे हो ?’‘उनी झुट बोलिरहेकी छिन्,’ मैले भनेँ, ‘पिकी झ्यालबाट बाहिर उड्यो। यो मातिजाको दोष हो। उसले ढोका खोलिदिएकी थिई।’
त्यो रात म धुरुधुरु रोएँ। त्यस दिनदेखि म एक्लै हुने छु। म तेह्र वर्षकी मात्र थिएँ। कसैले कहिल्यै कुनै पार्टीमा मलाई निम्त्याएको थिएन। साँच्चै भन्ने हो भने त्यस बेलासम्म मैले आफ्नो अचम्मको शारीरिक कुरूपतालाई विशेषताका रूपमा स्वीकार गरिसकेकी थिएँ। एकदुई महिनापछि दाजु र मातिजाले एकअर्कासँग विवाह गरे।
लामो समयसम्म खासै केही भएन। एक गर्मी याममा, नजिकैको गल्लीमा एउटा घर रित्तै थियो। मैले एउटा साँघुरो प्वाल भेट्टाएँ, जहाँबाट भुइँतलाभन्दा मुनि पुगिन्थ्यो। म त्यस प्वालबाट घिस्रिँदै गएँ र मैले कार्टुन, दराज र अन्य फोहोरको थुप्रोमाँझ एउटा कालो बिरालो भेटेँ। मान्छेहरू जत्तिकै जनावरहरूले मलाई धोका नदिए पनि मैले तिनीहरूलाई बारम्बार यातना दिन थालेँ।
पहिले त म बिरालाहरूलाई मायाले सुम्सुमाउथेँ, तिनका रौँ मुसार्थें र पाल्तु बनाउँथेँ। तिनीहरूको मन नजिती यो काम गर्न त्यति रमाइलो हुँदैनथ्यो। त्यसबेला मलाई थाहा भएन कि म के खोजिरहेकी थिएँ। अब मलाई थाहा भयो, जनावरलाई यातना दिँदा एक बिन्दुमा पुगेर ऊ एउटा झिल्काले थाहा पाउँछ कि के भइरहेको थियो र ऊ कसरी मृत्युनजिक पुगिरहेछ।
जब किलाहरू अचानक तिनका हत्केलाबीचबाट छिर्छन्, बिस्तारै व्याप्त असमन्जस्य र रित्तोपन तिनको आँखामा देखापर्छ, अनि बल्ल ती बुझ्छन् कि के भइरहेछ। जनावरको डर, आशा, घिस्राइ, बिन्ती, दोस्रो किला, यसबाट उम्कन हतार र त्रास। त्यसपछि तेस्रो र चौथो किला, चक्कुको चिरा, चिम्टीहरूको दबाब, चिथोरिएका पञ्जा, रित्तिएका आँखाका खोबिल्टा, बेहोसी र फेरि त्यही त्रास, फेरि उही स्थिति। र, अन्त्यमा म तिनका नङ्ग्रा झिक्छु, घाउ सफा पार्छु, किलाबाहिर तानिदिन्छु र तिनलाई छाडिदिन्छु, स्वतन्त्र।
आज मैले थाहा पाएँ कि मेरो उत्तेजनाको कारण मेरो प्रभुत्व होइन, बिरालोसितको सहानुभूति थियो। अङ्गभङ्ग भएको बिरालाले आफूलाई टेबुलमा पाउँथ्यो र म अत्याचारीतिर हेरिरहन्थ्यो।
म कहिलेकाहीँ मात्र हत्या गर्ने गर्थें। मृत्युसित, मेरो सन्तुष्टि सहानुभूतिमा साटिन्थ्यो। उत्तेजनाको सट्टा काटकुट। एक रात मैले एउटा बिरालोको पेट चिरेर खोलिदिएँ। त्यसका आन्द्राभुँडीलार्ई पानीमा भिजाइदिएँ। फेरि ती आन्द्राभुँडीलाई त्यहीँ राखी बिरालालाई टाँका लगाइदिएँ। मैले यसो किन गरेँ, म आफै भन्न सक्दिनँ। सायद यो मेरो अनुसन्धान प्रक्रियाको एक हिस्सा थियो। जे भए पनि मृत्यु निकै सुन्दर कुरा थियो, जसको नजिक पुग्न म खोजिरहेकी थिएँ। यातना दिँदा मैले मृत्युसित खेल्ने मौका पाएँ।
मैले बिरालाहरूलाई यातना दिएँ। तिनीहरूको घाउमा पट्टी बाँधिदिएँ र जिउ छिन्नभिन्न गरिदिएँ। लँगडो बनाइदिएँ। एकआँखे वा अन्धो पारिदिएँ। बिनापन्जा वा भाँचिएको पन्जा, बिना कान वा पुच्छरको बनाइदिएँ र फेरि फर्काइदिएँ तिनीहरूलाई गल्लीहरूतिर। ट्रियस्टा सहरका गल्लीहरूमा हिँड्ने यी मेरा ससाना प्रेतात्मा थिए।
जब लँगडाएर हस्याङफस्याङ गर्दै ती बिराला हिँड्थे, मानिसहरू एकछिनका लागि करुणाले भावविभोर भएर रोकिन्थे र डरले आफ्ना टाउकाहरू हल्लाउँथे। ती तिनलाई गल्लीमै टुक्रुक्क बसेर सुम्सुमाउने कोसिस गर्थे। तर जनावरहरू त्रसित भएर सकेसम्म कुलेलम ठोक्थे। छिटै ट्रियस्टा सहर घाइते बिराला, कुकुर, परेवा र भँगेराहरूले भरिन सुरु भयो। म अशक्त छायामा लुकेँ र मैले ममा निहित करुणाभाव निलेँ।
सोह्र वर्षकी भएपछि मलाई थाहा भयो कि मलाई एउटा जिउँदो व्यक्ति चाहिएको थियो। मैले मेरो संसार पढ्न र अनुसन्धान गर्न सुरु गरेँ। मैले चाहेको व्यक्तिको लिङ्गबारे मैले त्यति ध्यान दिइनँ (यस अर्थमा म उभयलिङ्गी हुँ)। मात्र मलाई एउटा कञ्चन भावनाले भरिएको एउटा ढाँचा चाहिएको थियो। मानवहरूमा मात्र यी भावना सफा रूपले छुट्टयाउन सकिन्छ।
अठार वर्षकी भएपछि म अध्ययनका लागि लुवलाना गएँ। मेरो जीवनको पहिलो र एकमात्र परीक्षा जसमा म फेल भएँ, त्यो दोस्रो वर्षमा थियो, सामाजिक मानवशास्त्रको प्राध्यापकसित। मैले सहज र आनन्द मानेर अध्ययन गरेको थिएँ। दोस्रोचोटि, मैले पुनः मौखिक परीक्षा दिने नामहरूको सूचीमा मेरो नाम अन्तिममा पाएँ। निकै रिसाएको मुद्रामा मैले कोठामा प्रवेश गरेँ, तर प्राध्यापकले मेरो नाम सबैभन्दा उच्च श्रेणीमा लेखिदिई र कुनै प्रश्नै नसोधी मलाई बाहिर कफीका लागि निमन्त्रणा दिई।
यसरी मैले मेरो जीवनको सबैभन्दा महत्वपूर्ण आइमाईलाई चिन्ने मौका पाएँ, जो एक उत्कृष्ट युनिभर्सिटी करिएर भएकी एक अघोरी ‘नेक्रोफिलिक’ थिइन्। मेरो बौद्धिकता र शारीरिक कमजोरी यस्तो व्यक्तिका लागि लोभलाग्दो कुरा थियो। उनलाई सघाउनका लागि म निकै उत्साहित थिएँ। मैले लुगा फुकालेँ, मैले मेरो दाँतबीचबाट एउटा सुइरो घुसारेँ र कुनै लासजस्तै भुइँमा लडिरहेँ।
प्रायःजसो उनी मलाई चिसो पानीको टबमा हालिदिन्थिन् र मेरो अनुहारमाथि एउटा मुर्दाको मुकुन्डो कोरिदिन्थिन्, कहिले निलो रङ र कहिले लत्पताउँथिन्। फेरि उनी मलाई भुइँतिर तान्थिन् र मेरो चिसो योनीको भित्री मृत पत्रहरूमा चिसो बरफको ढिक्को घुसारेर त्यसमाथि क्रीडा गर्थिन्। म पटकपटक मेरो जिब्रो र तालुमा सुई घुसार्थें। जब हामी चरमोत्कर्षनिर पुग्थ्यौँ, उनी मेरो अनुहार नजिकै आउँथिन् र म मेरो मुखबाट रगत बग्न दिन्थेँ, जसरी कि मृत शरीरबाट निस्कन्छ। उनी आफ्ना स्तनमाथि मेरो रगत दल्थिन्।
अर्कीचाहिँ औषधी पसलमा काम गर्ने दुव्र्यसनी थिई— निकै भद्दा लेस्बियन आइमार्ई तर म जत्तिकी थिइन। कहिलेकाहीँ हामी भेट्थ्यौँ र उनी सधैँ मलाई मर्फिनको कडा मात्रा दिन्थी असहनीय पीडाविरुद्घ।
त्यसपछि आयो मेरो जीवनको एकमात्र मायालु — मेटिक। अब ऊ बितिसकेको छ र मेरो डामिएको र चिथोरिएको जिउ पत्रिका, टेलिभिजन जताततै छ। चडियाखानामा बाँदरहरूको पिँजडा अगाडि हाम्रो भेट भयो। पाउरोटीमा एउटा सुइ घुसारेर मैले पिँजडामा फालेँ। मैले गरेको कर्तुत उसले देख्यो र हाँस्न थाल्यो। ऊ मलाई माया गर्छ भन्ने कुरा एक घन्टापछि मलाई थाहा भयो।
ऊ पशु चिकित्सक बन्ने तरखरमा थियो। उसको गजबको फोटोग्राफिक स्मृति थियो। ऊ एउटा गम्भीर र भावनात्मक जन्तु थियो, अति शालीन। उसको भकभके स्वभावको एकमात्र औषधी रक्सी थियो। रक्सीको हरेक गिलाससित ऊ मनपर्दाे भएर आउँथ्यो। त्यसपछि एउटा विशेष अवस्थामा पुगेर ऊ अति हाँस्यास्पद देखिन्थ्यो। तर विश्लेषणात्मक र विचारको अर्थमा रक्सीले उसलाई झन् खराब बनाउँथ्यो। पूर्णरूपले हेर्दा, यो मेरा लागि ठीक किसिमको सम्मिश्रण थियो– मानिसको सीमितता, अद्भुत भावनात्मक संवेदनशीलता, नपुङ्सकता र मानव शरीरको उत्कृष्ट ज्ञान।
ऊ मेरो शरीरलाई यातना दिने यन्त्रजस्तो ठान्थ्यो। हामीले भेटेको छ महिनापछि उसले विवाह प्रस्ताव राख्यो। म दोधारमा परेँ। ‘गर्छु होला,’ केही समयपछि मैले भनेँ। केही महिनापछि म उसको घरमा भित्रिएँ। हामी दुवैजनाले स्नातक गर्यौँ। मेटिक कृषि मन्त्रालयमा हाकिम बन्यो र म आफ्नो प्रिय प्राध्यापिकासित स्नातकोत्तर गर्न विश्वविद्यालय गएँ। उसले यो मन पराएन। म नितान्त ईष्र्यालु व्यक्तिसित व्यवहार गरिरहेकी थिएँ। मैले घरको छेउछाउतिर काम पाएँ।
सप्तहान्तहरूमा हामी दुईजनामात्रै हुन्थ्याैँ। हामीमध्ये कसैको पनि आफ्नो परिवारसित सम्पर्क थिएन। शनिबारका दिन हामी ससाना ट्रिपहरूमा जान्थ्याैँ। आइतबार हाम्रो खेलको दिन थियो। बिहानपख ऊ बियर पिउन थाल्थ्यो र मलाई चाँडै रिस उठ्थ्यो। दिउँसोको खानाको समयमा म टेबुल उल्टाई भाँडाहरू फालिदिन्थेँ र चिच्याउँथेँ। बेलुका जब उसको आँखा सिसाजस्तै टल्किन्थ्यो, सानातिना कुरामा पनि म झर्कन्थेँ र उसलाई हिर्काउँथेँ।
उसको सीमा, उसको अव्यावहारिकता, बालापन, नपुङ्कसता र लाजलाग्दो सानो लिङ्ग जो वास्तवमा बाँकी सबै कुराका लागि जिम्मेवार थियो। म आफ्नो प्राध्यापकलाई भेट्न जाँदा ऊ ईष्र्याले बौलाइहाल्थ्यो। म आफ्नो प्राध्यापकसित दुईचार गिलास रक्सी खान्थेँ। खाएर घर फर्केपछि उसले सानातिना निहुँमा पनि मेरो कपाल समाएर भित्तामा टाउको ठोकिदिन्थ्यो, ढाडमा मुक्का हान्थ्यो, भुइँमा लडाएर लात हान्थ्यो, जगल्टाउँदै अपार्टमेन्टभरि रिँगाउँथ्यो। मेरो टाउको चर्पीभित्र घुसारिदिन्थ्यो, बाथटबको पानीमा डुबाइदिन्थ्यो, सुईहरूले मेरो तिघ्रामा घोचिदिन्थ्यो, चुरोटको ठुटाले पेटमा झोसिदिन्थ्यो, मुख र अनुहारभरि पिसाबको धार लगाइदिन्थ्यो र मेरो नाक, कान र घाँटीमध्ये कुनै एउटा प्वालमा पाइप घुसारिदिन्थ्यो।
यी सबै कुरा उसको इष्र्याले सुरु भयो जुन पछि गएर मानसिक विकारमा परिणत भयो। मेरो जीवनमा आएका दुई स्त्रीसित मैले सबै सम्बन्धबिच्छेद गरोस् भन्ने उसको चाहना थियो। सजिलै यो गर्नसकिने थिएन किनकि म आफ्नो शोधपत्र सिध्याउने कोसिसमा थिएँ र कुनै हालतमा तिनीहरूसित आफ्नो शारीरिक वा अन्य खालका कुनै सम्बन्धबिच्छेद गर्ने चाहना ममा थिएन। यो परिवर्तन एकै समयमा भयो— उसले बढीभन्दा बढी रक्सी पिउन थाल्यो तर हिंसा चरम बिन्दुमा पुग्नु अगावै ऊ आफैँ ढल्थ्यो। ऊ काम्न र रुन थाल्थ्यो र पटक पटक मलाई सोध्न थाल्थ्यो कि म उसलाई माया गर्छु वा गर्दिन।
“साँच्चै हो र ? के साँच्चै तिमी मलाई माया गर्छौ र ?” –ऊ भन्थ्यो। जब ऊ चौथो र पाँचौचोटि सोध्थ्यो, मलाई थाहा भयो कि मेरो पुरुष मेरो सामु बौलाउन लागिसकेको थियो। कामबाट ऊ घरमा रक्सीले मातिएर आउन थाल्यो र दिनहुँ पिउन थाल्यो। बेलुका परेपछि ऊ प्रायःजसो रुन्थ्यो र सोध्ने गथ्र्यो कि म उसलाई माया गर्छु कि गर्दिन। हाम्रो सम्बन्ध एउटा साँच्चिकै दुःस्वप्नमा बदलियो।
म घरमा कम र आफ्नो प्राध्यापकको घरमा बढी बस्न थालेँ। मैले आफ्ना लागि एउटा फ्ल्याट भाडामा लिएँ। धेरै पिउने कारणले ऊ जागिरबाट निकालियो। त्यसपछि ऊ दिनभरि घरमा बस्थ्यो र रक्सीमात्र पिउँथ्यो। हिउँद अगावै मैले मेरो डिग्री पाएँ र सहायक प्राध्यापकको जागिरका लागि दरखास्त दिएँ। मैले ऊसित कुरा गर्न कोसिस गरेँ। केही लागेन। बर्बाद भइसकेको मानिससितको छ महिनाको बाँझो सङ्घर्षपछि मैले आफ्नो झिटिगुन्टा उठाएँ र घर छाडेँ। यो अप्रिलको महिना थियो।
एक महिनापछि प्रहरीले उसको लास बैठक कोठामा सडिरहेको अवस्थामा पायो। फ्ल्याटबाट आइरहेको सडिरहेको लासको गन्धका कारण छिमेकीहरूले प्रहरीलाई डाके। रक्सी नै उसको जीवनको विष बन्यो। जनवरीको पहिलो दिनमा उसलाई चिहानमा गाडियो।
दुई हप्तापछि दुई जासुस मेरो ढोकामा आए। ‘केही सूचनाको स्पष्टीकरण र केही प्रश्नको उत्तर चाहियो,’ तिनले भने। म र मेटिकबीच केके भएको थियो भन्ने कुरा छिमेकीले तिनीहरूलाई बताए। विशेषगरी हप्ते बिदाहरूमा, वादविवाद र चिच्याहटदेखि भाँडाकुँडा फाल्ने र हिंस्रक कलहसम्मका कुराबारे प्रहरीले मलाई सोध्यो। मेरो चित्कार सुने पनि, छिमेकीको विचारमा, मेटिकजस्तो सभ्य र सज्जन मानिसले त्यस्तो पिट्न सक्ने सम्भावना छिमेकीले देखेका थिएनन्। तिनीहरूको मतमा मेटिकमा एउटा साङ्लोसमेत मार्न सक्ने क्षमता थिएन।
उसले मलाई वा मैले उसलाई पिट्ने गरेका थियौं कि थिएनौं र यस कुरालाई साबित गर्नसक्ने के प्रमाण थियो ? भनेर प्रहरीले सोध्यो। आजसम्म मलाई थाहा छैन कि मैले त्यो किन गरेँ। मैले तिनीहरूलाई यसको विपक्षमा विश्वास दिलाउन सक्थेँ। मलाई पूरा विश्वास थियो। मैले आफ्नो ब्लाउज खोलेँ र खुकुलो प्यान्ट भुइँमा खसालेँ। तिनीहरूलाई सास फेर्न पनि गाह्रो भयो। खाटाहरू, निलडामहरू र चिराहरू।
तिनीहरूले भुइँतिर हेरे र मलाई लुगा लगाउन अनुरोध गरे। तिनीहरूले अरू केही सोधेनन्। केही छिनपछि नारी मुक्ति मोर्चाका कार्यकर्ताले मेरो ढोका ढक्ढकाए। त्यसपछि पत्रकारहरू। एउटा पीडित महिलाका रूपमा मेरो कथा मिडियामा एउटा बमजस्तै पड्क्यो। जीवित र मृत दुवैलाई हल्लायो। अरू पत्रकार आए, त्यसपछि रेडियो र टेलिभिजन। म शारीरिक यातनाको नमुना सिकार बनेँ। एक पिल्सिएकी महिलाको प्रतीक बनेँ। शोषित, भोका र रोगीहरूका लागि एउटा मसिहा। म बनेँ टेलिभिजनमा आउने विज्ञापन र सहरमा जहीँतहीँ टाँगिने एउटा तस्बिर।
म बनेँ कोकाकोला। (स्लोभेनियन कथाकार एलिस कारको चर्चित कथाको नेपाली अनुवाद युयुत्सु आरडी शर्माले गरेका हुन्।)
प्रकाशित: ४ भाद्र २०७९ ०३:१७ शनिबार