शर्मिला खड्का (दाहाल)
हरिनारायण श्रेष्ठ भक्तपुरको बोडे भन्ने ठाउँमा बस्थे। उनी सामान्य परिवारका मानिस थिए। उनी खेती-किसानी गर्थे। उनी मेहनती र बुद्धिमान् पनि थिए। उनी सामाजिक सेवामा पनि निकै चाख दिन्थे। दसैं, चाडपर्व, जात्रा र मेलाहरू दिल खोलेर मनाउँथे। उनलाई खेतीको कमाइले मनग्यै खानलाउन पुगिरहेको थियो।
उनका तीन छोरा थिए। छोराहरूले खासै पढ्न सकेका थिएनन्। उनीहरू बुबाको खेतीपातीमा सहयोग गर्दथे। अन्य काम केही गदैनथे। उनका तीनै छोराले कुनै काम,सीप, इलम सिकेका थिएनन्। हरिनारायणलाई यो कुराले मनमा असन्तुष्टि भइरहेको थियो।
छोराहरूले मेसिन मर्मत गर्ने, कृषिसम्बन्धी तालिमहरू, घर बनाउने डकर्मी, काठको काम गर्ने सिकर्मी, ढुंगा वा काठमा खोप्ने कलाकारिता आदि काम सिकेको भए कति राम्रो हुन्थ्यो भन्ने कुरा मनमा लिइरहन्थे उनी। हरिनारायणको सम्पत्ति भनेको उही जग्गाजमिन मात्र थियो। आम्दानी भनेको जग्गाजमिनबाट कमाइ हुने बालीनाली मात्र थियो। उनको अन्य आम्दानीको स्रोत केही थिएन।
उनको घरखर्च दिनदिनै बढदै गएको थियो। छोराहरूको बिहे गर्न उनलाई निकै खर्च लागेको थियो। बिहे गरेपछि छोराहरूका सन्तान बढ्न थाले। त्यसका लागि पनि निकै खर्च हुन थाल्यो। उनले तीनै जना छोरालाई अंशबन्डा गरी छुट्याइदिने विचार गरे।
उनले पत्नी लक्ष्मीकुमारीलाई भने, ‘हेर लक्ष्मी! हाम्रा तीन छोरा कुनैले इलम लिन सकेनन्। अहिले हामीलाई घरखर्च धान्न धौधौ परेको छ। उनीहरूलाई अंश लगाइदिऔं। आफूआफू गरी खान्छन्। भएको जग्गाजमिन पनि निकै मासिइसकियो।’
लोग्नेका कुरा लक्ष्मीकुमारीलाई पनि ठीकठीकै लाग्यो। उनले पनि सहमति दिइन्। हरिनारायणले तीनैजना छोरालाई अंशभागको रूपमा जमिन बाँडिदिए।
बिस्तारै जग्गाजमिनको भाउ बढ्दै गयो। उनीहरूले खेतीपाती गरिरहेका जग्गाजमिन घरघडेरी हुन थाल्यो। हेर्दाहेर्दै जग्ग्गाको भाउ अकासियो। अलिकति जग्गा बेच्ता पनि लाखौं रुपैयाँ आउन थाल्यो। यसरी जग्गा बेच्ता लाखौं रुपैयाँ हात लाग्ने भएपछि ती छोराहरूले जग्गामा रोपाइँ गर्न छाडे। जग्गा बेचेर खानपिन गर्ने, बच्चाहरूलाई राम्रो स्कुलमा पढाउने, गाडी किन्ने, मोबाइल, ल्यापटप किन्ने जस्ता काम गर्न थाले।
उनीहरू अल्छे र विलासी हुँदै जान थाले। बाबुले दिएको जग्गा बेच्दै खाँदै गर्न थाले। हेर्दाहेर्दै बाबुले दिएको जग्गा सक्न छोराहरूलाई कति समय पनि लागेन।
छोराहरूको अवस्था देखेर हरिनारायण र उनकी पत्नीलाई सारै दुःख लाग्यो। आफूहरूले दुःखले कमाएको सबै सम्पत्ति छोराहरूले सकेको देखेर कस्ता छोरा पाएछौं भनेर उनीहरूले आफैंलाई धिक्कार्न थाले।
अब छोराहरूलाई कसरी जाँगरिला बनाउने भनेर हरिनारायण सोच्न थाले। उनले एउटा जुक्ति निकाले।
एक दिन आफ्ना तीनै छोरालाई बोलाएर उनले भने,‘हेर छोराहरू हो! मैले तिमीहरूलाई भएजति सबै सम्पत्ति दिएँ। तिमीहरूले बेचेर खाइसक्यौ। मैले तिमीहरूको इच्छा पुर्याइदिएँ। अब तिमीहरूले पनि मेरो अन्तिम इच्छा पुर्याइदिनुपर्छ।’
तीनै जनाले एकैमुख लगाएर सोधे,‘के इच्छा बुबा?’
हरिनारायणले भने,‘पहिला भन, पुर्याउँछौ कि पुर्याउँदैनौ? मेरो इच्छा पुर्याउछौ भने मात्र भन्छु।’
‘पुर्याउँछौं बुबा!’ तीनै जनाले एकसाथ भने।
त्यसो भए ल सुन, त्यो पारि डाँडामा एउटा सानो ढिस्को छ। त्यस ढिस्काको नाम गोरखपुर डाँडा हो। त्यहाँ मेरो अलिकति जमिन छ। त्यो मेरो पुर्खाको सम्पत्ति हो। अब मेरो मर्ने बेला भएजस्तो छ। म मर्ने बेलामा त्यहाँ गएर बस्न मन छ। त्यहाँ दुई वटा घर बनाउनुपर्छ। वरिपरि फलफूलको बगैंचा हुनुपर्छ। मलाई बाँचुञ्जेल मीठामीठा खानेकुरा खाने इच्छा छ तर मलाई खुवाउँदा मेरा साथीहरूलाई पनि खुवाउनुपर्छ नि। ल भन! यति काम गर्न सक्छौ हैन? यदि सक्तैनौ भने छाड, भैगो।’
बुबाको यो इच्छा सुनेर तीनै दाजुभाइले मुखामुख गरे अनि तीनै जनाले टाउको हल्लाएर भने,‘यति जाबो काम त गरिहाल्छौं नि!’
अब हरिनारायणलाई आफ्नो जुक्ति सफल हुने भयो भनेर मनमा हर्षको फूल फुल्न थाल्यो।
छोराहरूले फेरि भने, ‘बुबा हामी भालिदेखि नै यो काम थाल्छौं।’
उनले भने,‘काम त गर्छौ तर कसकसले के काम गर्ने मलाई पहिला नै जानकारी देओ।’
ठूलो छोराले भन्यो, ‘म फूलबारी बनाउँछु अनि बोटविरुवा रोप्छु।’
माइला छोराले भन्यो, ‘बुबा, म चिटिक्क परेको घर बनाउँछु।’
कान्छा छोराले भन्यो, ‘म मीठामीठा खानेकुरा पकाएर खुवाउँछु।’
हरिनारायणले भन्यो, ‘घर बनाउनेले म मरेपछि सालिक पनि बनाउनुपर्छ अनि सालिक बनाउन कलाकारिता पनि सिक्नुपर्छ। यो काम तिमीहरूले नै गर्नुपर्छ। पैसा दिएर अरूलाई गराउन पाइन्न।’
तीनै भाइले भने,‘हस् बुबा।’
उनीहरू अन्यत्र काम नगर्ने हुनाले यो काम गर्न कुनै गाह्रो भएन। तीनै जना छोरा आआफ्नो काममा जुट्न थाले।
जेठा छोरा फूलबारी बनाउन र बोटविरुवा रोप्न सिक्न थाल्यो। उसले धेरै ठाउँको नर्सरीमा गएर फूल सम्बन्धी अनेकौं जानकारी लिन थाल्यो। उसले आँप, नास्पाती, कागती, भोगटे, अनार, सुन्तला आदिको बोट कसरी रोप्ने अनि कसरी हुर्काउने भनेर ज्ञान लिन थाल्यो।
त्यस्तै गोदावरी, सयपत्री, चाँप, बेली, चमेली, लालुपाते, लाहुरे आदि फूल कुन बेला कसरी रोप्ने भनेर तालिम लियो। राम्राराम्रा फलफूलका बोटले त्यो सानो थुम्को रमणीय देखिन थाल्यो। त्यही बेला भाइले पनि घर बनाउन जानिसकेको थियो। उसले घर बनाउने डकर्मीको काम गर्न थालिहाल्यो। उता कान्छा भाइ बुबालाई मीठामीठा खानेकुरा पकाएर खुवाउन खाना पकाउन सिक्न थाल्यो। माइला दाजुले घर बनाइसक्ता उसले पनि मीठामीठा परिकार पकाउने सीप सिकिसकेको थियो। तीनै भाइ आफ्ना काममा दक्ष भए।
सबै काम पूरा भएपछि तीनै भाइ छोरा बुबालाई भन्न आए।
छोराहरूले सबै काम पूरा गरेको समाचार सुनेर हरिनारायण निकै खुसी भए।
छोराहरूले त्यो झारपातले भरिएको जंगलजस्तो डाँडा यति सुन्दर बनाउलान् भन्ने लागेको नै थिएन तर सोच्दै नसोचेको कुरा पूरा भएको देखेर उनी औधी खुसी भए।
उनले भने, ‘छोरा हो, यो एउटा घरमा मेरो ओछ्यान लगाओ। अन्य कोठामा पनि ओछ्यान लगाओ किनकि मेरा साथीहरू मलाई भेट्न आउँछन्। उनीहरूलाई खान-बस्न दिनुपर्छ।’
छोराहरूले पनि बाबुले भनेजस्तै गरे।
हरिनारायण समाजसेवा गर्ने र धार्मिक प्रवृत्तिका मानिस भएका हुनाले समाजमा उनको इज्जत थियो। उनले त्यहाँ एउटा मन्दिर पनि बनाउन लगाए। उनलाई भेट्न टाढाटाढाबाट साथीहरू आउँथे। त्यो रमणीय थुम्को देखेर जो कोही पनि वास बसेर जान्थे अनि मन्दिरको दर्शन पनि गर्दथे। कान्छा छोराले पाहुनालाई मीठामीठा खानेकुरा खुवाउने हुनाले बाबुका साथीहरू झन् मक्ख पर्थे। त्यस थुम्काको सौन्दर्यलाई स्वर्गको सुन्दरतासँग दाँज्थे।
यति सुन्दर ठाउँमा मीठामीठा खानेकुरा खुवाएर स्वागत गरेको देखेर उनीहरू अति प्रसन्न हुन्थे। प्रसन्न भएर पैसा छोडेर जान्थे। साथीहरू गएपछि उनीहरू फेरि अरू साथीहरू लिएर आउँथे। यसरी त्यो ठाउँ बिस्तारै पर्यटकीयस्थलको रूपमा विकास हुँदै गयो। मानिसहरू धेरै आउन थालेपछि घरहरू अरू थपेर अझ व्यवस्थित बनाउन थाले। बिस्तारै त्यो ठाउँ एउटा लोकप्रिय रिसोर्टको रूपमा परिणत भयो। त्यो रिसोर्टबाट राम्रो आम्दानी हुन थाल्यो। आम्दानी राम्रो हुन थालेपछि हरिनारायणका छोराहरू पनि मन लगाएर काम गर्न थाले।
एक दिन उनले छोराहरूलाई बोलाएर भने, ‘अब तिमीहरूले यो रिसोर्ट राम्रोसँग चलाउनू। यसका लागि तिमीहरूमा एकता हुनुपर्छ। एकतामा ठूलो बल हुन्छ। आज तिमीहरूले एक जनाले यो काम गरेको भए तिमीहरू यति सफल हुने थिएनौ। यति तिमीहरू झैझगडा गर्यौ भने बाहिरको मान्छेले फाइदा लिन्छ। तिमीहरूलाई थाहा छ, भाइ फुटे गँवार लुटे। हो, त्यसैले तिमीहरू कहिल्यै झगडा नगर्नू। मिलेर बस्नू। म तिमीहरूको कामबाट प्रसन्न छु। तिमीहरूले मैले सोचे जस्तो गर्यौ। अब तिमीहरूले जिन्दगीभर दुःख पाउने छैनौ र तिमीहरूका छोराछोरीले पनि दुःख पाउने छैनन्। अब मलाई एउटै वचन देओ अनि मात्र म मरे पनि केही फरक पर्दैन।’
तीनै भाइले वचन नदिने कुरा नै भएन। किनभने बुबाले गर्दा नै तीनै भाइ आआफ्नो काममा सिपालु र दक्ष भएका थिए। उनीहरू गण्यमान्य मानिसमा गनिन्थे। उनीहरू सुखसयलको जिन्दगी बिताउन थालेका थिए।
उनीहरू तीनै जनाले एकै स्वरमा भने, ‘बुबा हामी वचन दिन्छौं। हामी कहिल्यै अलग हुने छैनौं। किनकि तीनै जनाको सीपले यो रिसोर्ट लोकप्रिय भएको छ अनि हामीले आफ्नो काम इमानदारीपूवर्क पूरा गरिरहेका छौं। हामी अलग भयौं भने हामीलाई बाँच्न गाह्रो हुन्छ। त्यसैले हामी कहिल्यै अलग हुने छैनौं।
हरिनायराण आफ्नो जुक्ति सफल भएकामा मनमनै औधी खुसी थिए।
प्रकाशित: २२ श्रावण २०७९ ०८:०६ आइतबार